दुर्गापुर,माघ २४ । भृकुटी माध्यमिक विद्यालय कनकाई नगरपालिका ७ मा स्थापित टीकानारायणी अक्षय कोषद्धारा यसवर्षको उत्कृष्ट शिक्षक पुरस्कार सोहि विद्यालयका शिक्षक पूर्णवहादुर कटुवाललाई प्रदान गरिएको छ ।
प्रतेक वर्षको एसएलसी परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषयमध्ये सवैभन्दा वढि विद्यार्थी उत्तीर्ण गराउन सफल विषय शिक्षकलाई दिइने सो पुरस्कार २०७२ सालको एसएलसी परीक्षाको नतिजाको आधारमा अंग्रेजी विषय शिक्षक कटुवाललाई सो पुरस्कार प्रदान गरिएको हो ।
इश्वरी प्रसाद सिवाकोटीको प्रमुख आतिथ्य तथा कोषका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको उत्कृष्ट शिक्षक पुरस्कार कनकाई माविका प्रधानाध्यापक आशा शर्मा सिवाकोटीलाई प्रदान गरिएको छ । यस्तै सो कोषद्धारा झापा जिल्लामा ०७२ को प्रवेशिका परीक्षामा प्रथम हुने छात्र छात्रा भरत भट्टराई र भावना पोखरेल, भृकुटी माविवाट प्रथम हुने छात्रछात्रा अर्जुन मगर र रुपा अधिकारीलाई नगद पुरस्कार तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । यस्तै सो कोषको सहप्रायोजक शान्त स्मृति सम्मान स्रोतव्यक्ति मेदनीप्रसाद पाठकलाई प्रदान गरियो । सो अवसरमा धनन्जय स्मृति पुरस्कार,चेतराज स्मृति छात्रवृत्ति समेत सोही विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई वितरण गरिएको थियो ।
कार्यक्रममा रामभक्त–संजीव स्मृति अक्षयकोषद्धारा समेत छात्रवृत्ति वितरण गरियो । सो छात्रवृत्तीवाट कक्षा नर्सरीमा अध्ययनरत४८ जना विद्यार्थीहरुलाई स्कुल व्याग प्रदान गरिएको छ । शिक्षक योगराज खनालले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक अन्जना सिटौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकि थिइन् । पूर्व शिक्षक धनपति चुडालले स्वागत गरेको कार्यक्रममा विव्यस अध्यक्ष वालकृष्ण सिटौला, अनिरुद्र ओली, नवीन वस्नेत,दुर्गादेवी ओली,हरिप्रसाद पोखरेल,सुशीलकुमार उप्रेती,गंगा प्रसाई, तारा उप्रेती लगायतको आतिथ्य रहेको थियो ।