‘उप’ मा महिला ‘चुप’

२६ बैशाख २०७४, मंगलवार मा प्रकाशित

[कमला लुईटेल]
पहिलो चरणमा सम्पन्न हुने सबै ठाउँमा सबै पदका उम्मेदवारहरु चयन भइसकेका छन् । यी सबै ठाउँमा आएका नाम देखेपछि लाग्यो महिलाले यतिका वर्षदेखि राजनीति गरेको औचित्य के त ? एकाध ठाउँ र पार्टीबाहेक सबैमा महिला उप–प्रमुखको पदमा मात्र चयन भएका छन् । हामी आफैं कुर्लन्छौं, महिलाले राजनीतिमा धेरै फड्को मारिसके, धेरै नेतृत्वदायी भूमिकामा पुगिसके ।
अनि यो स्थानीय तहको चुनावमा अधिकांश महिलालाई दिएको भूमिकाले साबित गर्छ त हाम्रा ती भनाइलाई ? अधिकांश दिदीबहिनीले ‘उप’को पदलाई नै चुपचाप सकारिरहँदा सोध्न मन लाग्यो, के तपाईंहरु प्रमुखको पदको लागि लायक नभएर नै हो त, ‘उप’ मै चित्त बुझाउनु भएको ? नियमले पुरुष प्रमुख अनि महिला ‘उप’ त पक्कै भनेको थिएन, जो भए पनि विपरीत हुनुप¥यो मात्र भनेको थियो जस्तो लाग्छ । २० वर्षपछि चुनाब हुँदा पनि महिला शक्ति प्रमुख पदको लागि तयार हुन नसक्नु वा नगरिनु भनेको महिलाले राजनीतिमा छ्लाङ मार्न नसक्नु नै हो जस्तो लाग्छ मलाई त ।
शुरु नै देखि उम्मेदवारको नाम सिफारिस गर्ने दिनदेखि नै महिलालाई प्रमुख पद दिनुपर्छ भन्ने तिर कसैको ध्यान गएन त महिला नेतृकै मुखबाट समेत यसपाली त पुरुष प्रमुख भए महिला ‘उप’ पक्का भनेका छन्, जे होस् ढुक्क छ हाम्रा साथीहरुले पाउनेमा वा मैले पाउने भन्ने सुनियो, तर अधिकांशबाट म प्रमुखमा उठ्ने हो, म सक्छु भन्ने सुनिएन । के हाम्रो महिला शक्तिसँग नेतृत्व गर्ने क्षमता नभएको नै हो त ? हो भने यतीका समय राजनीति गर्नुको के औचित्य ? देशको एकाध ठाउँमा मात्र महिलाले पद लिँदैमा हामी सफल भयौं भन्ने सोच जबसम्म रहन्छ नि तबसम्म हामीले केही गर्न सक्दैनौं । एउटा स्थानीय तह त चलाउन सक्ने हैसियत बनाउन नसक्ने हामीले अब ठूला कुरा गर्नुको कुनै तुक छैन । हुन त कुरा आउलान, नदिएपछि के गर्नु त ? तर कति प्रयास गर्नुभयो तपाईंहरुले ? सबैलाई एउटै डर थियो, यो नि हुन्न भने फेरि अर्कोलाई दिन्छन् कि भन्ने ।
हामीले आफूलाई हेरेउ, सिंगो महिला शक्तिलाई होइन, यदि सिंगो महिला शक्ति एक भएर गएको भए आज केही त हुन्थ्यो कि ! कतै कुनै ठाउँमा त महिलाले पनि प्रमुख पदहरुमा उम्मेदवारी दिएको सुन्नमा आउथ्यो कि ! अब जे नहुनु त भइसक्यो, अझै पनि अरु ठाउँ आउलान, यदि त्यतिबेला नि फेरि उप कै पदमा वा वैकल्पिकमा नै रमाउने हो, यसलाई नै आफ्नो प्रगति वा आफूले आर्जेको उत्कृष्टता ठान्ने हो भने सम्पूर्ण महिला शक्तिले आजकै दिनबाट राजनीति गर्न छोडिदिए हुन्छ, छोडिदिए हुन्छ महिला स्वतन्त्रता र अधिकारका ठूला–ठूला कुरा ।
कुनै तुक छैन अब हामीले राजनीति गर्नुको । होइन अब आफूलाई देशका सम्पूर्ण निकायमा पुरुष मित्र सरह उभ्याउन सक्ने हैसियत राख्ने हो, भोलिका दिनमा आफ्नो मात्र भलाई नसोचेर समग्र महिलाको बारेमा सोच्ने हो भने मात्र गरौं हामी अबका दिनमा राजनीति ।
यसपालिको स्थानीय तहको चुनावमा दलहरुले महिलालाई जिम्मेवारी दिएको भन्दा पनि उनीहरुलाई बाध्यात्मक कारणले पुरुषहरुले ‘खडेबाबा’को रुपमा मात्र उभ्याइएको भान हुन्छ यहाँ । अब सम्पूर्ण महिला राजनीतिकर्मीले बेलैमा सोचौं । अरु बेला केही नभनी देश र पार्टीको लागि पुरुष मित्रसरह लडिरहने अनि तब जिम्मेवारीको कुरा आउँछ अनि उनीरुले आफ्नो दुनु सोझ्याएर बाँकी रहेको पदमा मात्र चित्त बुझाउने । यो स्थानीय तहको चुनावमा त जे हुनु नहुनु भइगयो तर अब नि तपाईं हामीले बेलैमा नसोच्ने हो, हामी जस्तोसुकै जिम्मेवारी नि बहन गर्न सक्छौं भनेर बहस नचलाउने हो, परिस्थितिको सामना नगर्ने हो भने जति पटकको स्थानीय निकायको चुनावमा नि उप कै पदमा चित्त बुझाउनु नपर्ला भन्न सकिन्न ।
यदि साँच्चै हामी महिलाका नाममा राजनीति गर्दैछौं भने नामको मात्र राजनीति नगरौं, नेतृत्वको लागि गरौं । अन्त्यमा यो भन्न बाध्य छु जति पद पाएका छौं त्यसमा जितेर देखाऔं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here