चियाको समस्या अन्त्य गर

२१ चैत्र २०७५, बिहीबार मा प्रकाशित

नगदेवालीका रुपमा हेरिएको झापाका चिया बगानहरुमा अहिले कामकाज रोकिएको छ । चिया बगानमा कार्यरत मजदुरहरुले वृद्धि भएको न्यूनतम् पारिश्रमिक र सामाजिक सुरक्षा लगायतका श्रम ऐनमा उल्लिखित सेवासुविधा नपाएको भन्दै चार दिनदेखि आन्दोलन गरिरहेका छन् । यही आन्दोलन बगानबाट सडक हुँदै मंगलबार नेपाल चिया विकास निगमको कार्यालय घेराउ गरे । ¥यालीसहितका मजदुरहरुले बिर्तामोडस्थित मुक्तिचोकमा पुगेर सम्बद्ध निकाय र सरकारको ध्यानाकर्षण गराए । चियासम्बद्ध संघ–संगठनको समेत सहभागिता रहेको सभामा मजदुर नेताहरुले चिया मालिकहरुले मजदुरमाथि चरम शोषण गरेको भन्दै उच्चस्तरीय कार्यदलको प्रतिवेदन कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गरेका थिए ।
इलामबाट रोपण शुरु भएको चिया पछिल्लो समय झापाको लोकप्रिय कृषि व्यवसाय बनेको थियो । सरकारकै स्वामित्वमा नेपाल चिया विकास निगमको स्थापना भएपछि चियाखेती विदेशी मुद्रा आर्जन गर्ने गतिलो माध्यम बनेको थियो । युरोप, अमेरिका लगायत छिमेकी देश भारतमा निर्यात हुँदै आएको नेपाली चिया पछिल्लो समय विषादि र रासायनिक वस्नुको उपयोगका कारण नेपाली बजारमै सीमित हुन पुग्यो । त्यसमाथि सरकारको अश्रमताका कारण इलाम र झापामा विस्तारित सरकारी बगान निजी क्षेत्रलाई जिम्मा लगाएपछि पनि मजदुर र व्यवस्थापनका बीचको असमझदारीले चिया क्षेत्र विवादमा पर्दै आएको छ । चिया मजदुरका संगठनहरु नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल चिया मजदुर संघ सरकारद्वारा निर्धारित पारिश्रमिकको कार्यान्वयनको माग राख्दै आन्दोलित रहँदा चिया उत्पादकहरु भने मजदुर आन्दोलनका कारण व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको बताउँदैछन् ।
साठी हजार जनालाई प्रत्यक्ष र परोक्षरुपमा लाखौंको जीवन निर्वाहको माध्यम बनेको चियाखेतीलाई व्यवसायमुखी बनाउन सरकारको जिम्मेवार भूमिका हुनुपर्दछ । केवल पारिश्रमिक निर्धारण गरिदिएर अथवा ऐन कानून निर्माण गरेर मात्र मजदुर तथा उत्पादकहरुका समस्या समाधान हुँदैनन् । उत्पादकले लागतका आधारमा मूल्य पाउने र बिक्री–वितरणका लागि बजारको भरपर्दो व्यवस्थाको अनुभूति गर्ने वातावरण तयार भएन भने चिया क्षेत्रको विवादकहिल्यै टुंगिने छैन । चियाखेतीलाई उद्योगको रुमपा विकास गर्न सकिए यसले रोजगारीको अवस्था सिर्जना गर्ने निश्चित छ । वार्षिक चार अर्बभन्दा बढी विदेशी मुद्रा भित्र्याउने माध्यमका रुपमा रहेको चिया क्षेत्र सरकारको उपेक्षामा पर्नु हुँदैन ।
देशका युवाशक्तिहरुको पलायनलाई रोकेर स्वदेशमै रोजगारीको अवसर दिन सक्ने चिया क्षेत्रलाई राज्यले अनुदानसहित संरक्षण गर्नुपर्दछ । घरआँगनमै रोजगारमा संगठित गराउन सक्ने चिया क्षेत्रलाई संकटबाट जोगाउन सरकारले नै भूमिका निर्वाह गर्नुपर्दछ । वर्षौंदेखि कचल्टिएर रहेको चिया सम्बद्ध समस्याको शान्तिपूर्ण अवतरण खोजेको छ परिस्थितिले । अन्यथा हजारौंको रोजगारी र लाखौं आश्रित सदस्यको जीवनको आधार बनिएको चिया क्षेत्र उजाडिन सक्छ । त्यसकारण पनि सरकारले संरक्षणको जिम्मेवारी पूरा गर्दै संवादका माध्यमबाट समाधानको खोजी गर्नुपर्छ । त्यसतर्फ मजदुर संघ–संगठन, उत्पादक संघ पनि गम्भीर होउन् र सरकारले स्वदेशी लगानी र श्रममा सञ्चालित देशको गौरवको रुपमा रहेको चिया क्षेत्रको संरक्षण गरोस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here