अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभाको तयारी

२५ बैशाख २०७६, बुधबार मा प्रकाशित

धुलाबारी।

मेचीनगरको धुलावारीमा ‘प्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा’ को तयारी गरिएको छ ।

मेचे समुदायको भाषा, साहित्य र संस्कृति संरक्षण गर्ने उद्देश्यले मेचीनगर–१० धुलाबारीस्थित पुरानो कोलोनी रहेको प्लटिङ क्षेत्रमा आगामी बैशाख २८ र २९ गते साहित्य सभाको तयारी गरिएको हो । सभाको तयारीका लागि मेचे बोडो साहित्य सभा नेपालका अध्यक्ष कमल मेचेको अध्यक्षतामा २२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको बताइएको छ ।

मेचे समुदायले बैशाखमा मनाउने सबैभन्दा ठूलो चाड बैशागु बथरको अवसर पारेर यसपटक भारतको आसामका बोडो समुदायसँग मिलेर अन्तर्राष्ट्रिय साहित्य सभा गर्न लागेको आयोजक समितिले जनाएको छ ।

सभामा भारतका राजयमन्त्री र सरकारी उच्च पदाधिकारीहरुको सहभागिता रहने र नेपालका तर्पmबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की लगायतको सहभागिता रहने बताइएको छ । सभामा नेपालका तर्फबाट २२ जातजातिका झाँकीहरु प्रदर्शन गरिनुका साथै पहिलोपटक मेचे समुदायको भाषा र साहित्यका विषयमा प्यानल डिस्कशन समेत गरिने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सभाका लागि २७ लाख ७५ हजार रुपैयाँ खर्च हुने र त्यसको व्यवस्थापनका लागि हरेक मेचे परिवारबाट पाँच सय रुपैयाँका दरले सहयोग संकलन गरिएको महिला संयोजक रोशनी मेचेले बताइन् ।

मेचे समाज सिवियारी आफात नेपाल मेचे बोडो साहित्यिक सभा नेपाल र बोडो साहित्य सभा आसाम भारतको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here