दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

२५ बैशाख २०७६, बुधबार मा प्रकाशित

भद्रपुर।

भद्रपुर जेसीजले नेपाल सरकारको दिगो विकास लक्ष्य प्राप्तिको योजना अनुरुप सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

भद्रपुर जेसीजले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह र ओमसाई पाथीभरा हस्पिटलको सहकार्यमा भद्रपुर– ९ स्थित जीवनज्योति आधारभूत विद्यालयमा अध्ययनरत् दुई जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेको छ । त्यस्तै सोही विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई निःशुल्क खेलकुद सामग्री र लुगा धुने साबुन वितरण गर्नुका साथै विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण गरिएको छ ।

त्यस्तै भद्रपुर– ९ स्थित पुहाँतु जनज्योति माविमा अध्ययनरत् छात्राहरुलाई दुई सय ५० थान सेनेटरी प्याड वितरण गर्नुका साथै विद्यार्थीहरुको दन्त परीक्षण गरेको छ । माध्यमिक तहमा अध्ययनरत् छात्रा विद्यार्थीहरु महिनावारी भएको बेला विद्यालय नआउने गरेको पाइएको कारण विद्यार्थीहरु नियमित विद्यालय आउने वातावरण बनाउने उद्देश्यले सेनेटरी प्याड वितरण गरेको बताइएको छ ।

भद्रपुर जेसीजले विभिन्न दाता, संघ–संस्था र व्यापारीहरुवाट संकलित पाँच लाख ८० हजार रुपैयाँबाट भद्रपुरका पाँच वटा सामुदायिक विद्यायलहरुमा स्कुल ब्याग, पोशाक, खेलकुदका सामग्री वितरण गर्दै लैजाने भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहकी सचिव सकुन्तला पोखरेल, राष्ट्रसेवक सहकारीका वाशिष्ठ अधिकारी, जीवनज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि मैनाली, समाजसेवी विष्णु शिवाकोटी, विशाल थापा, पुहातु जनज्योती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीमन नारायण पौडेल, सहायक प्रअ शिवप्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए । भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोखरेलले सञ्चालन तथा उपाध्यक्ष मनोज तिम्सिनाले स्वागत गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here