जब न्यूट्न्स विद्यालयमा तीन गाडी प्रहरी पसे…

0
721

झापा ।

प्रहरीको काम समाजमा शान्ति सुरक्षा दिने हो । सुरक्षामा तल्लीन तिनै प्रहरी बिद्यालय आए भने तपाई के सोच्नुहुन्छ ? एक जना होइन, दुई जना होइन, गाडीका गाडी सुरक्षाकर्मी एकाएक विद्यालयमा प्रवेश गरे पक्कै विद्यालयमा कुनै अप्रिय घटना घटेको तपाई सहजै अनुमान गर्नुहुन्छ ।

हीवार बिर्तामोडको न्यूट्न्स स्कूलमा यस्तो दृष्य देखियो जहाँ तीन गाडी सुरक्षाकर्मी एकैसाथ विद्यालय प्रवेश गरे । इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको गाडी न्यूट्न्स स्कूल प्रवेश गर्नासाथ स्थानीय आश्चर्यचकित हुँदै प्रहरीलाई हेरिरहे ।

केहीले विद्यालयमा झगडा भएकाले प्रहरी आएको हुनसक्ने अड्कल काटे । तर, न्यूट्न्समा कुनै अप्रिय घटना घटेको थिएन, न त झगडा नै भएको थियो । प्रहरी न्यूट्न्समा बिद्यार्थीलाई सचेतनामूलक शिक्षा प्रदान गर्न आएका थिए र अभिभावकले यसका लागि विद्यालय प्रशासनलाई धन्यवाद दिए ।

प्रहरीले कक्षा ९ र १०का विद्यार्थीलाई सवारी दुर्घटना र सामाजिक अपराधका विषयमा जानकारी दिँदै दुर्घटनाबाट बच्न सकिने उपाय अनि सामाजिक अपराध न्यूनीकरणका विषयमा जानकारी दिँदा अभिभावक समेत दंग देखिन्थे । प्रहरीले साइवर अपराधका विषयमा समेत जानकारी गराएको थियो ।

साइवर अपराधका विषयमा जानकारी दिँदै १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक किशोर दाहालले सामान्य गल्तीले मानिसको ज्यान समेत जानसक्ने भएकाले समयमै सचेत रहन बिद्यार्थीलाई सुझाएका थिए । उनले पछिल्लो समय सामाजिक सञ्जालका कारण बिभिन्न खाले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु सक्रिय रहेकाले सजग रहन विद्यार्थीलाई आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झापाका सबै स्थानीय तहका माध्यमिक विद्यालयमा मुलुकी संहिता ऐन २०७४, आधारभूत सुरक्षा, समुदाय प्रहरी साझेदारीको महत्व, घरेलु हिंसा नियन्त्रण, साइवर सुरक्षा तथा लागूऔषध नियन्त्रण विषयमा कक्षा दिन शुरु गरिएको जानकारी दिए । अभियान स्वरुप जिल्लाका सवै विद्यालयमा विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन गर्ने प्रहरी उपरीक्षक मैनालीले बताए । उनले भने– ‘नेपालमा २०४० सालबाट सामुदायिक प्रहरी कार्यक्रम शुरु भएको र त्यसलाई निरन्तरता दिँदै विद्यार्थीलाई कुलत र अपराधजन्य घटनामा सम्लग्न हुन नदिन प्रदेश प्रहरी संगको सहकार्यमा अभियान थालिएको हो ।’

कार्यक्रममा बिर्तामोड वडा नम्वर–५ वडाध्यक्ष राजेन्द्र लिङ्देनले बिद्यार्थीलाई सुसूचित गर्ने काम अत्यन्त राम्रो भएको भन्दै प्रहरीलाई धन्यवाद दिए । उनले अभियानलाई आफ्नो वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । विद्यालयका संस्थापक हरि प्रसाईले प्रहरीले अपराध न्यूनीकरणका क्षेत्रमा विद्यालयस्तरबाट सचेतना कक्षा शुरु गरेर राम्रो काम गरेको भन्दै खुलेर प्रशंसा गरे ।

झापामा गत वर्षदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन भइरहेको छ । जसका कारण समुदायमा प्रहरी पुग्दा स–साना बालबालिकादेखि बूढाबूढीले समेत साथीजस्तो व्यवहार गर्ने गरेका छन् ।

विद्यालयमा प्रहरी पुगेर अपराध न्यूनीकरणका विषयमा जानकारी दिन थालेपछि वालवालिकाले आफूलाई अप्ठ्यारो पर्नासाथ प्रहरीलाई सम्झने गरेका छन् । कुनै बेला प्रहरी देख्ने बित्तिकै तर्सिने बालबालिकाहरूमा समेत अहिले प्रहरीलाई हेर्ने नजर फेरिएको छ । पछिल्लो समय प्रहरीले विद्यालय तथा समुदायमा पुगेर बिद्यार्थीलाई साथी बनाउन शुरु गरेको छ । जसबाट अपराध न्यूनीकरणमा सहयोग मिल्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मैनालीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here