शैक्षिक गुणस्तरमा फड्को निजीलाई उछिन्दै सामुदायिक

0
835

झिलझिले।

पछिल्लो समय आफ्ना छोराछोरीलाई अध्ययन गराउन अभिभावकको पहिलो रोजाइ बोर्डिङ स्कूल हुने गरेको छ । निजी विद्यालयको जस्तो सामुदायिक विद्यालयले अभिभावकको मन जित्न अझै पनि सकेका छैनन् । कतिपय विद्यालयले त अभिभावकलाई आकर्षित गर्न बिद्यार्थी भर्ना कार्यक्रम नै तामझामका साथ गर्ने गरेका छन् । तर, त्यसको प्रभाव नगरका केही विद्यालयमा शून्य देखियो ।

निजी विद्यालयवाट सामुदायिक विद्यालयमा विद्यार्थी ल्याएर भर्ना गर्न सक्नुले विद्यार्थीे भर्ना कार्यक्रमको मुख्य औचित्य सिद्ध गर्छ । तर, सामुदायिक विद्यालयको भर्ना कार्यक्रम नगरमा तुलनात्मक रुपमा यो वर्ष निष्प्रभावी वन्यो । बिद्यार्थी भर्ना कार्यक्रमका लागि औपचारिक कार्यक्रम लिएर जुन विद्यालयले अभिभावकको घरमा पुग्नु परेन त्यस विद्यालयले बिद्यार्थीको चाप थेग्न नसकेर बिद्यार्थी भर्ना नै बन्द गर्नु पर्यो । झापाको शिवसताक्षी नगरपालिका–६स्थित सरस्वती प्राथमिक विद्यालय यसको उदाहरण बनेको छ । यतिबेला सो विद्यालयले विद्यार्थीको चाप थेग्न सकेको छैन ।

सो विद्यालयमा वर्षेनि बिद्यार्थीकोे भर्ना दर बढ्दै गएको छ । कतिपय अभिभावकले वोर्डिङ स्कूलबाट आफ्ना छोराछोरी निकालेर सो विद्यालयमा भर्ना गर्न थालेका छन् । २०४५ सालमा स्थापना भएको सामुदायिक बिद्यालयमध्ये सरस्वती कान्छो विद्यालय हो ।

नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको भर्ना हुने क्रम बढ्दै गएपछि विद्यालयमा भर्ना कार्यक्रम बन्द गरिएको छ । कक्षा नर्सरी, एलकेजी र युकेजीमा अंग्रेजी माध्यमबाट अध्यापन हुने गरेकोे छ । कक्षा १ देखि ५ सम्म केही विषय बाहेक नेपाली माध्यमबाट पढाइ हुन्छ । सो बिद्यालयमा १९४ जना विद्यार्थी अध्ययनरत् छन् । कक्षा ५ सम्मको सामुदायिक विद्यालयमा यतिका विद्यार्थी भएको शिवसताक्षी नगरमा सम्भवतः यो पहिलो हो ।

तीन वर्ष अघि सो विद्यालयमा ५६ जना बिद्यार्थी थिए । विद्यालय प्रशासनले अंग्रेजी माध्यमको पढाइ शुरु गरेपछि यो संख्या ह्वात्तै वढेको प्रधानाध्यापक गणेश घिमिरेले बताए । शिवसताक्षी नगरका ४, ५, ६ र ७ नम्वर वडाका बिद्यार्थी सो विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् । गतवर्षदेखि विद्यार्थी ल्याउन र घरैसम्म पुर्याउन विद्यालय प्रशासनले स्कूल बसको व्यवस्था मिलाएको छ । आमा समूह र अभिभावकले विद्यार्थी बोक्न स्कूल बसको व्यवस्था गर्न अनुरोध गरेपछि विद्यालयले वसको व्यवस्था गरेको हो ।

‘विद्यार्थीको संख्या बढी भएपछि बिद्यार्थीलाई खेल्ने ठाउँ भएन– विद्यालयका प्रधानाध्यापक घिमिरेले भने– ‘विद्यार्थी बढ्दै गएपछि समस्या हुन थाल्यो । पूर्वाधार अभावमा विद्यार्थी र अभिभावकको इच्छा पूरा गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर बुढाथोकीले बताए ।’ उनले भने– अहिले पनि दैनिक चार–पाँच जना अभिभावक विद्यार्थी भर्नाका लागि आउने गरेका छन् । विद्यालयमा प्रशस्त कक्षाकोठा, नयाँ भवन बनाउनका लागि खाली ठाउँ र पर्याप्त शिक्षक भएको भए नयाँ भर्नाका लागि आएका विद्यार्थीलाई फर्काउन पर्ने थिएन ।

शिक्षक रोहितकुमार पाण्डेका अनुसार सरकारले खाजा कार्यक्रम कटौती गरे पछि सरस्वती प्राविले नर्सरीदेखि कक्षा ५ सम्मकै विद्यार्थीलाई दिवा खाजा निरन्तर दिएको थियो । शिक्षक, अभिभावक, उद्योगी, व्यवसायीको आर्थिक सहयोगमा दिवा खाजाले निरन्तरता पाएको बताइएको छ । निजी श्रोतका शिक्षक र कर्मचारीले विद्यालयको टिफिन समयको सदुपयोग गर्दे बिद्यार्थीका लागि खाजा पकाउने, खुवाउने र भाडावर्तन समेत माझेर कार्यक्रमलाई निरन्तरता दिएको शिक्षक पाण्डेले बताए ।

सरस्वती प्राविको पूर्वाधार विकास र शैक्षिक गुणस्तर विस्तारका लागि वडाध्यक्ष मनोज खुलाल कार्कीसहित वडा समिति, नगरका मेयर चन्द्रकुमार सेर्मा, प्रदेश सांसद झलकबहादुर दर्लामी मगर र संघीय सांसद एलपी साँवा लिम्वू सहयोगी बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here