संघीयताका पर्यटकहरु

0
1005

ओम आचार्य,
नेपालको राजनीतिमा देखिएको गणतन्त्र स्थापना पछिका घटनाक्रम (गिरिजाप्रसाद कोइरालाको अवसान पछि)–ले वर्तमान नेताहरुमा राजनेता हुने गुण देखिएन । भीडलाई हेर्ने र आफ्नो विचार बनाउने प्रवृत्ति अहिले नेताहरुमा देखिएको छ । यसले दुरगामी प्रभाव जे–जस्तो छोडोस् वर्तमानमा वाह वाह र सञ्चारमाध्यममा छाइरहने प्रवृत्तिले राजनेता उत्पादन गर्दैन । वीपीले निर्वासितकालमै राष्ट्रिय मेलमिलापको दर्शन लिएर सम्पूर्ण कांग्रेस र जनभावना विपरीत नेपाल प्रवेश गर्नुभयो ।

आफ्नो नीति र दर्शनमा नेतृत्व गरेर जनमत बनाउनुभयो, तत्कालीन समयमा भीडबाट निर्देशित हुनुभएन जोखिम उठाउनुभयो र भीडलाई नेतृत्व गर्नु भयो । त्यस्तै जनमत संग्रहमा पनि नतिजालाई स्वीकार नगर्न र आन्दोलनमा जान जनसागर देख्दादेख्दै एक्लै त्यो नतिजा स्वीकार्नै घोषणा गरेपछि असन्तुष्ट पक्ष आन्दोलन गर्न जुर्मुराएकाहरु एकाएक शान्त भए र वीपी कै नेतृत्वमा समाहित भए । उहाँको यस्तै थुप्रै नेतृत्व गर्ने क्षमताले उहाँलाई राजनेतामा स्थापित ग¥यो । यस्तै किसिमको नेतृत्व गर्ने भूमिका माओवादीले पनि १० वर्ष सशश्त्र आन्दोलन ग¥यो र नेपालमा नयाँ राजनीति दर्शन र सोच लिएर अगाडि बढ्यो । सिंगै मुलुक विपक्षमा जनभावना विपरीत १० वर्ष सशस्त्र आन्दोलन गरिरह्यो, जोखिम उठाउँदै जनमत बनाउँदै गयो, अन्ततः नेपालमा नेतृत्व गर्ने हैसियतमा आफूलाई स्थापित ग¥यो ।

यस्तै राप्रपा कमल थापा गणतन्त्र स्थापना भएको भोलिपल्टदेखि नै राजासहितको हिन्दूराष्ट्र भन्दै सडकमा देखिए । त्यो समय पनि कमल थापाले उठाएको एजेन्डा जोखिमपूर्ण नै थियो । उनको यही जोखिमले उनलाई स्थापित गराउँदै गयो । द्वन्द्वकाल पछिका सबै राजनीति दलका नेताहरु भीडलाई हेर्ने, भीडको विचार लिने, समाचारको टिप्पणी समेतलाई आधार बनाएर आफ्नो राजनीति विचार व्यक्त गर्ने प्रवृत्तिका वर्तमानका नेताहरुले नेपाल हाक्न सक्छन् ? नेतृत्व दिन सक्छन् ?, अहिलेका नेता जोखिम उठाउन चाहँदैनन्, जसले जोखिम उठाउँछ । राजनीतिमा त्यसले नेतृत्व गर्छ, त्यसले नेपाल हाँक्छ ।

तपाईंहरु विचार गर्नुहोस्, विगतका घटनाक्रम तिर फर्कनुहोस् र वर्तमान हेर्नुहोस् । जति पनि नेता छन् सबै भीडबाट परिचालित, सञ्चालित छन् । उनीहरुले अहिलेसम्म आफ्नो कुनै पनि राजनीतिक दर्शन नीति सिद्धान्त दिएर मुलुकलाई प्रभावित गर्न सकेका छैनन् । म यहाँ अरु राजनीतिक दलको कुरा राख्नुभन्दा पनि नेपाली कांग्रेस कै राख्दैछु । नेपालको राजनीतिमा नेपाली कांग्रेस छ, यो कांग्रेस भीरु हुनुपर्छ, कांग्रेसभित्र हिन्दूराष्ट्र इष्ट र राजसंस्थासहितको प्रजातन्त्र अभिष्ट हो, जननेता वीपी कोइरालाले यो कुरा पटक–पटक स्मरण गराउँदै कांग्रेसको नीति नै बनाउनु भयो ।

राजाको गर्धन र मेरो गर्धन जोडिएको छ भन्नुभयो, राजसंस्था रहे नेपाल रहन्छ भन्नुभयो र राष्ट्रिय मेलमिलापको दर्शनसँगै निर्वासित जीवन त्यागेर तत्कालीन समयको जोखिम मोलेर नेपाल पस्नु भयो । यो नै कांग्रेसको पहिचान हो, हिन्दूराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र यो नै कांग्रेसको क्रमशः इष्ट र अभिष्ट हो र यो संस्कार भएकाहरु मात्रै कांग्रेस हुन यिनै मात्रै कांग्रेस भिरु हुन्, जो दत्तचितले, निष्ठाले, मन, आत्मा, प्राण, शरीर, चिन्तन, सोच, इत्यादि सम्पूर्ण रुपबाट कांग्रेस भीरु भएर समर्पित हुन्छ ।

र, यस्तो विचार बोक्ने मानिस कसैवाट विचलित हँुदैनन्, उनीहरुको मनमा न शंका आउँछ न कुशंका नै आउँछ । न उसलाई कसैले सम्झाउँदा मान्छ न त उसलाई भटकाउनै सकिन्छ, न त कसैले उसलाई प्रदुषित गर्न नै सक्छ, यो उसमा जीवन पर्यन्त चलिरहन्छ । चाहे जीवनमा जस्तोसुकै परिस्थिति आओस् । जीवन एक विराट श्रृंखला हो जसमा थुप्रै प्रकारको राम्रो नराम्रो घटना भइरहन्छ । तर, कांग्रेस भीरु यी सबै कठिनाई, संकट इत्यादिबाट निस्केर जान्छ । हो यसरी नै वीपी बनेका थिए, हो यसरी नै वीपी राजनेता बनेका थिए, हो यसरी नै वीपीलाई आज प्रचण्ड, कमल थापा, केपी ओली सबै स्मरण गर्छन् । कांग्रेस चल्छ त कांग्रेस भीरुबाट चल्छ, कांग्रेस चलाउँछन् त मात्रै कांग्रेस भीरुले चलाउँछन्, कांग्रेस भीरुले कहिल्यै पनि कांग्रेसप्रति, द्रोह, शंका, विद्रोह एवम् विरोध इत्यादि केही गर्दैन ।

हो, अहिले पछिल्लो समय केही वर्षदेखि नेपाली कांग्रेस भीडबाट परिचालित हँुदै गयो । अन्य फरक विचार भएका राजनीतिक दलको एजेन्डामा आफूलाई समाहित गराउँदै गयो र आफ्नो राजनीतिक धर्म दर्शन ओझेलमा पर्दै गयो र यसरी विचारमा विचलन आएर, वितृष्णा आएर, उच्चाटन आएर कांग्रेसले आफ्नो कांग्रेस नीति छोड्दै संघीयता र धर्म निरपेक्षप्रति तृष्णा र मोहनले संघीयतामा प्रवेश ग¥यो । यो भीडबाट आवेशित विचारलाई आफ्नो विचार बनायो । यो भीडकै विचार थियो नेपाली कांग्रेसको थिएन । अब तै तृष्णा वितृष्णामा अब तै मोहन उच्चाटनमा परिवर्तित हुँदै गएको कुरा महामन्त्री शशांक कोइराला, स्व. खुमबहादुर खड्का प्रवृत्ति नेताहरुबाट उद्घाटित भएकै हो ।

कांग्रेस पार्टी संघीयतामा एउटा पर्यटक भएर आए र केही समय अवलोकन गर्दै पुनः साविक ठाउँमा फर्कनुपर्छ, पर्यटन लामो समय हुँदैन । चाहे कांग्रेस संघीयतामा जिज्ञासाको लागि आउन, चाहे केही प्राप्त गर्न आउन, चाहे आकर्षित भएर आउन, चाहे केही खोज्न आउन, तर कांग्रेसको पर्यटन चाडै समाप्त हुनुपर्छ पर्यटक त आखिर पर्यटक हो कति दिन रहन्छ । अहिले नेपालमा भएको पछिल्लो तीव्र धुर्वीकरण नेपाली कांग्रेससहित अन्य राजनीतिक दल दलका नेताहरु संघीयतामा पर्यटक मात्रै हुन् र अब यो पर्यटन समाप्त गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here