पाण्डवपुरमा पाण्डवको मूर्ति

१ असार २०७६, आईतवार मा प्रकाशित

पूर्णबहादुर कटुवाल/लक्ष्मीपुर ।

अर्जुनधारा नपा–५, मा महाभारतकालीन ऐतिहासिक महत्व रहेको पाण्डवपुरमा अवस्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिर परिसरमा शिवमूर्ति तथा पाँचपाण्डव मूर्ति अनावरण गरिएको छ । मन्दिरका अध्यक्ष इन्द्रमणि पौडेलको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख आतिथ्य नगरप्रमुख हरि रानाको रहेको थियो ।
२०२१ साल अघिसम्म हालको पाण्डवपुर भनिने स्थान अनौठो आकारको ढीपजस्तो घना जंगल भएको अग्लो भूमि थियो ।

जहाँ स्थानीय आदिवासीको शव समाधिस्थ गरिन्थ्यो । त्यही समयमा जंगली जनावरहरुले वरिपरि रहेका मानववस्तीलाई दुःखदिने गरेकोले यस क्षेत्रका बासिन्दाले मानव बसोवासका लागि आवश्यक रुख विरुवाहरु जोगाई मानव बस्तीको विकास गरे । सो ठाउँमा २०२९ सालमा पुराणसहित मेलावजार लगाएर मानव बस्ती बसाउन शुरु गरेको स्थानीयवासी बताउँछन् ।

यस क्षेत्रको जग्गा २०३३ सालदेखि भानुमाविको नाममा दर्ता कायम रहेको छ । यस क्षेत्रको बनावट, माटोको अवस्थालाई हेर्दा आजभन्दा करिव ५ हजारवर्ष अघिको महाभारतकालीन युगसंँग जोडिएको इतिहास छ । महाभारतकालीन अवस्थामा पाण्डवहरुले एक वर्षको गुप्तवास यही पाण्डवपुरमा गाईगोठ राखी बसेको इतिहास महाभारतमा उल्लेख रहेको स्थानीयको भनाइ छ ।

यसै अनुरुप २०५९ साल जेठमा यस क्षेत्रका स्थानीयले मन्दिरको अवधारणा ल्याई २०७४ सालमा मन्दिर निर्माण कार्य सम्पन्न गरेका थिए । हाल मन्दिर समितिले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा अर्जुनधारा जलेश्वरधामलाई केन्द्रविन्दुमा राखी सवै धार्मिक तथा सांस्कृतिक क्षेत्रको एक गुरुयोजनासहित धार्मिक र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्न सुझाव दिएको छ ।

समितिले यस क्षेत्रका विकृति विसंगति, कुसंस्कारको अन्त्य गराउँदै राष्ट्र निर्माणमा अघि बढाउने किसिमका शिक्षा र रोजगारीको व्यवस्था मिलाई राष्ट्र र जनताको इच्छा र आकांक्षा र राष्ट्रमा भएका हरेक परिवर्तनका संवाहक सहितका विचार र सपनालाई साकार पार्ने किसिमका कार्य अघि बढाउन सुझाव पेश गरेको छ ।

सो अनावरण कार्यक्रममा समितिका तर्फवाट नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । जस अन्तर्गत मन्दिर पूर्वतर्फ रहेको घरपरिवारलाई ससम्मान स्थान परिवर्तन गराई सो स्थानलाई मन्दिर परिसरमा गाभ्नका लागि विद्यालय र नपालाई पहल गरिदिन अनुरोध गर्ने, जमिन उपलव्ध पश्चात सो जग्गामा जेष्ठ नागरिक मिलन केन्द्र, पुजारी घर र सुविधासम्पन्न आध्यात्मिक भवन निर्माण गर्नका लागि सम्बन्धित निकाय समक्ष पहल गर्ने रहेको छ ।

त्यस्तै आगामी तीन वर्षभित्रमा न्यूनतम रु. दश लाखको अक्षयकोष खडा गरी मन्दिर सञ्चालन गर्ने, जीर्णअवस्थामा रहेको बागेश्वरी दुर्गा भगवतीको मन्दिर आधुनिक ढंगवाट जीर्णोद्धार गर्ने, ऐतिहासिक स्थल पाण्डवपुरको माटो संरक्षण गर्ने गराउने, पाँच पाण्डव गुप्तवासस्थल निर्माण गर्ने गराउने, चाँदनीचोक–जलेश्वरमार्ग दुवैतर्फ ड्रेनसहित वृक्षरोपण गरि कालोपत्रे सडकका लागि पहल गर्ने रहेका छन् ।

कार्यक्रममा वडा नं. –५ का वडाध्यक्ष ध्यानवहादुर भारती, देवीप्रसाद घिमिरे, युवराज खड्का, उमानाथ लम्साल, छविलाल लम्साल, देवीचरण गिरी, अर्जुन रेग्मी, गणेश कार्की, राजवहादुर तामाङ, लोकेन्द्र भुजेल, सन्तोष कार्की, तारा बराल, भीमवहादुर खड्का, भरत बुढाथोकी, रुद्र ओली लगायतको आतिथ्य रहेको थियो ।

समितिका सचिव देवराज बुढाथोकीले कायक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालन गरेको थिए । समितिका सदस्य चन्द्रकुमारी बुढाथोकीले स्वागत गरेको कार्यक्रममा अध्यक्ष पौडेलले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here