मनकामनामा आँखा जाँच, कञ्चनमा स्वास्थ्य परीक्षण

१ असार २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

गर्मी बढेसँगै झापाका विद्यालयहरुले विद्यार्थी केन्द्रित स्वास्थ्य कार्यक्रम सञ्चालन गरेका छन् । विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण गर्नुका साथै विद्यार्थीहरुलाई विभिन्न रोगबाट बच्न अपनाउनुपर्ने सावधानीका लागि परामर्श समेत प्रदान गर्दै आएका छन् ।

यसैक्रममा झापाको बिर्तामोडस्थित मनकामना स्कुलमा अध्ययनरत् बिद्यार्थीहरुको आँखा स्वास्थ परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मेची आँखा अस्पताल बिर्तामोड र अर्बिस इन्टर्नेसनल एनएनजेएसको सहकार्यमा सञ्चालन गरेको बिद्यालयका बालबालिकामा देखिने दृष्टीदोष कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको मेची आँखा अस्पतालका दृष्टी विशेषज्ञ अजयकुमार रायले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत् सात सय दुई जना विद्यार्थीको आँखा परीक्षण गरिएको मनकामना स्कुलका प्रिन्सिपल केशवकुमार ढुंगानाले जानकारी दिए । शिविरमा सहभागी विद्यार्थीमध्ये ३१ जनालाई निःशुल्क चस्मा वितरण गरिएको र १४ जनाको आँखामा गम्भीर समस्या भएकाले अस्पताल पठाइएको उनले बताए । विद्यार्थीहरुलाई स्वास्थप्रति सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका भाइस प्रिन्सिपल ध्रुव गौतमले जानकारी दिए ।

त्यस्तै बिर्तामोड–७ स्थित कञ्चन बोर्डिङ्ग स्कुलको आयोजनामा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । मनमोहन सामुदायिक मेमोरियल अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत् कक्षा नर्सरीदेखि कक्षा १० सम्मका बिद्यार्थीहरुको निःशुल्क स्वास्थ परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल दीपक चम्लागाईले जानकारी दिए ।

महनमोहन सामुदायिक मेमोरियल अस्पताल बिर्तामोडका बालरोग विशेषज्ञ डा. प्रकाश साह लगायतको टिमले बिद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई निःशुल्क औषधि वितरण समेत गरिएको थियो । शिविरमा निश्चल फार्मेसीले औषधि उपलब्ध गराएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here