झापामा गरीब तथा जेहेन्दार विद्यार्थीलाई सहकारीको सहयोग

२ असार २०७६, सोमबार मा प्रकाशित
भद्रपुर, 

झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले १३ गरीब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १० सम्म आवश्यक पर्ने शैक्षिक सामग्री निरन्तर प्रदान गर्ने कार्यक्रमको आइतबारबाट शुभारम्भ गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्यका छोराछोरीलाई लक्षित गरी गौरादह–५ मा रहेको स्कूलचौन माध्यमिक विद्यालयबाट सो कार्य शुरु गरिएको हो ।

संस्थाकी अध्यक्ष मीना ढकालले सदस्यका छोराछोरीले स्कूल झोला, पोशाक, जुत्ता र कापीकलम किन्न नसकेर शिक्षाबाट विमुख हुनु नपरोस् भन्ने उद्देश्य राखेर यो कार्यक्रमको शुभारम्भ गरेको बताउनुभयो । उहाँले स्कूलचौन मावि, डोरामाडी मावि, मदन–आश्रित आधारभूत विद्यालय र गौरादह माविमा अध्ययनरत कक्षा नर्सरीदेखि ६ कक्षासम्मका १३ विद्यार्थीलाई सो सेवा प्रदान गरिएको बताउनुभयो ।

यसै चालू आर्थिक वर्षबाट शुरु गरेको कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष ढकालको भनाइ छ । उहाँले १३ विद्यार्थीलाई एसइई परीक्षा नदिएसम्म विद्यालयमा अध्ययन गर्दा लाग्ने सबै खर्च सहकारीले व्यहोर्ने बताउनुभयो । संस्थाको अन्तर समूहमा रहेका पदाधिकारीले विद्यार्थीको छनोट गर्ने प्रावधान रहेको छ ।

प्रतिविद्यार्थीलाई एक वर्षमा रु सात हजारसम्म खर्च लाग्ने अनुमान गरिएको छ । छनोटमा परेका विद्यार्थीको सबै खर्च एसइई नदिएसम्म सहकारीले नै व्यहोर्नेछ ।  एक हजार ९४३ महिला सदस्य मात्र रहेको सहकारीले कृषि परियोजनासमेत सञ्चालन गर्दै आएको छ । सहकारीले प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार अभियान तथा अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गर्दै आएको छ

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here