ओम आचार्य,
मोरङको विराटनगर यस्तो शहर हो जसले नेपालको राजनीतिमा तरंग ल्याउने गर्छ । विराटनगरलाई कर्म भूमि बनाएर राष्ट्रिय राजनीतिमा सधै केन्द्रमा रहेको कोइराला परिवारमा कृष्णप्रसाद कोइराला हुँदै वीपी कोइराला, मातृका कोइराला, गिरिजा कोइराला, सुजता कोइराला हँुदै शेखर कोइरालासम्म आइपुग्दा नेपालको राजनीतिमा आएको उतार–चडावमा एमाले र माओवादीको एकीकरण हँुदै नेकपा भएको र हाल त्यसको शक्तिशाली सरकार छ । यस्तो विषम् परिस्थितिमा त्यस्ता जुझारु र निर्णायक नेतृत्व दिन सक्ने नेताहरुको कर्मभूमि रहेको विराटनगर के गर्दै छ त ?
मोरङमा छ वटा निर्वाचन क्षेत्र रहेकोमा एक निर्वाचन क्षेत्र बाहेक सबै निर्वाचन क्षेत्रमा कांग्रेसले पराजय भोग्नु प¥यो । केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, महेश आचार्य, पूर्व पार्टी सभापति अमृत अर्याल, वर्तमान सभापति डिगबहादुर लिम्बू समेतको पराजय निःसन्देह विराटनगर मोरङमा नै कोइरालाको लिगेसी र विरासत पक्डेर बसेकालाई यो हार निश्चय नै दुःखदायी हो ।
पराजयमा थुप्रै कारण छन् र सबैको आफ्नो–आफ्नो तर्क, आफ्नो–आफ्नो विचार होला । सबैभन्दा ठूलो हारको कारण राम्रो होइन हाम्रो व्यक्तिको छनौट नै हो यसमा नेपाली कांग्रेसको भविष्य हेरिएन आफ्नो भविष्य सुरक्षित गर्ने अभिप्रायले स्थानीय निकायदेखि प्रतिनिधी सभासम्मको उम्मेदवार तय गरियो । परिणाम न त आफ्नो भविष्य सुरक्षित गर्न सके न त पार्टीको नै भविष्य सुरक्षित रह्यो ।
गिरिजाप्रसाद कोइरालादेखि शुसिल कोइरालासम्म आउँदा नेपाली कांग्रेसको यस्तो दयनीय अवस्था थिएन अहिले नेपाली कांग्रेस यहाँ आइपुग्दा इतिहासमै दयनीय र निरीह अवस्थामा देखियो । कसै–कसैले यो अवस्था मा वर्तमान कार्यसमितिलाई दोष दिन्छन् । कसै–कसैले स्पष्ट चुनावी रणनीतिको अभाव भन्छन्, कसैले भारतले लगाएको आर्थिक नाकाबन्दी त कसैले न्यायाधीशमा लगाएको महाअभियोग त कसैले प्रहरी महानिरीक्षकको नियुक्ति प्रकरणको कुरा गर्छन् । जे होस् यसमा अर्को मूलभूत कुरा छ जुन अहिले सबैले स्वीकार्दै आएका छन् । नेपाली कांग्रेसको गुट–उपगुट नै मूल कारण हो गुट–उपगुट त राजनीतिक पार्टीमा हुन्छ । एउटा संयुक्त परिवारमा त हुन्छ भने राजनीतिक पार्टीमा नहुने कुरै भएन त्यो पनि लोकतन्त्रात्मक विश्वास राख्ने पार्टीमा, तर त्यो गुटले कांग्रेसको भविष्य बनाउनेमा हुनुपथ्र्यो त्यसो भएन ।
अहिले नेपाली कांग्रेसी नेतृत्व तहमा रहेका तीन कोइराला डा. शशांक, सुजता र डा. शेखर कोइरालाले जेपी फाउन्डेशन विराटनगरले आयोजना गरेको कार्यक्रममा एउटै मालामा आवद्ध हुँदै हामी एक छौ भन्ने सन्देश दिए । यस्तै सन्देश सुजता कोइरालाको निवासमा पनि तीन कोइरालाले हामी एक छौ भन्ने सन्देश दिएका थिए । सुजताको निवासमा एकताको सन्देश र विराटनगरको जेपी फाउन्डेशनमा दिएको सन्देशको यो बीचको समय एकतापछि भएको कुनै सुधारमुखी, कुनै रचनात्मक, कुनै उपलब्धिमूलक परिणाम देखिएको छैन । यो एकताले नेपाली कांग्रेसमा सिर्जनात्मक उपलब्धिमूलक नतिजा देखाउन सकेको छैन ।
तीन कोइरालाको यो एकताको राजनीतिक उद्देस्य छ, राजनीतिमा केही अभिस्ट लिएर एकता गरिएको छ । यो एकताले कांग्रेसमा संगठनको शुद्धी र सुधारको कुरा गरेको छ । यदि त्यस्तो हुन नसकेर भोलि यो एउटा परिवारका दाजुभाइ, दिदीबहिनीको पारिवारिक एकतामा मात्रै रुपान्तरण नहोस् । हामी सबैले यही आशा गरौ कि यसले नेपाली कांग्रेसमा वीपीको विचार कृष्णप्रसादको निष्ठा र गणेशमानको जस्तो आँट र गिरिजाप्रसाद कोइरालाको सहकार्य सहमति र एकतालाई स्थापित गरोस् ।
अर्को कुरा तीन कोइरालाहरु यसरी नै कार्यक्रममा हामी एक भयौं भन्ने सन्देश दिइरहनु अब आवश्यक छैन । आवश्यक यो छ कि एउटै मालामा आवद्ध भएको माला नटुटोस् र यो एकताले आफ्नै पार्टीभित्र फरक धार राख्नेलाई मनोवैज्ञानिक डर दिने बोधार्थको काम नगरोस्, अब हामी नेपाली कांग्रेसभित्र सबैलाई यसरी एक आपसमा जोड्छौं, एकआपसमा अपनत्व ल्याउँछौं र कसैमा अब विभेद हुने छैन भन्ने फराकिलो सोच लिएर अगाडि बढे कांग्रेसको भविष्य बन्छ र एकताको सार्थकता रहन्छ ।
कोइराला परिवारको एकतालाई कसैले जमात खडा भयो या कसैले म विरुद्धको एकता या कसैले यो एकतामा हामी चाहिँ कता ? भन्ने प्रश्न कसैले उठाउन सक्छन् । यो प्रश्नको उचित उपचार र समाधान गर्ने जिम्मा पनि तीन कोइरालाकै अविभाराभित्र पर्छ । यसलाई गम्भीरतापूर्वक लिएर कांग्रेसलाई एक बनाउन सके आगामी निर्वाचनमा गुणात्मक सुधार गर्दै दुईतिहाइ नभए पनि बहुमतको सरकार स्थापित गर्न सके त्यो एकताको सार्थकता रहन्छ र कोइराला परिवारको कर्मभूमिमा आएर गरेको यो एकताको सार्थकता देखिन्छ ।