अर्जुनधारामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

२ असार २०७६, सोमबार मा प्रकाशित

अर्जुनधारा

झापाको अर्जुनधारा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । नगरपालिकाको परिसरमा सोमबार आयोजित समारोहकाबिच नगर प्रमुख हरिकुमार रानाले धुपीको विरुवा रोपेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रमअन्र्तगत जम्मा आवेदक तीन हजार एक सय ४१ जना मध्ये प्रथम चरणबाट छनौट भएका २७० जना बेरोजगार युवाले चालु आर्थिक वर्षमा १५ दिनको लागि रोजगारी पाउने नगरपालिका रोजगार संयोजक केशवराज ढुंगेलले बताए । “आगामी आर्थिक वर्षको लागि छनौट भएका उनीहरुले सय दिनको रोजगार पाउने भए पनि यो चाँही बोनस मात्र हो”–उनले भने ।

१२ वटा समूहमा विभाजन गरी कामको जिम्मा दिइने उनीहरुले नगरपालिकासँगै अर्जुनधारा जलेश्वर धाम, अर्जुनधारा वडा नम्बर ७, वडा नम्बर ७मा रहेको खेल मैदान, राधाकृष्ण प्रणामी मन्दिर, अर्जुनधारा वडा नम्बर ३ र शनिश्चरे सडकमा आँप, कटहर, गुलमोहर, गुलावी, धुपी, बेल, रुद्राक्ष, लिची, लहरे अशोकसँगै फूलको बिरुवा रोप्ने संयोजक ढुंगेलले बताए ।

उक्त कार्यक्रमको लागि चालु आर्थिक वर्षमा नेपाल सरकारबाट ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजन भएको बजेट मध्ये ७० प्रतिशत ज्याला, २५ प्रतिशत सामग्री खरिद, ३ प्रतिशत सेफ्टी, १ प्रतिशत कन्टीजेन्सी र १ प्रतिशत सुपरीवेक्षणमा खर्च गर्नुपर्ने बताइएको छ ।

त्यस्तै छनौट भएको २७० जना मध्ये वडा नम्बर १बाट ४३ जना, वडा नम्बर २बाट २८ जना, वडा नम्बर ३ बाट ३८ जना, वडा नम्बर ४बाट १३ जना, वडा नम्बर ५बाट २५ जना, वडा नम्बर ६बाट १५ जना, वडा नम्बर ७बाट १३ जना, वडा नम्बर ८बाट ८ जना, वडा नम्बर ९बाट ३१ जना, वडा नम्बर १०बाट ५६ जना र वडा नम्बर ११बाट २९ जना छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here