बजेट कटौती बिरोधमा कचनकवलका वडा अध्यक्षहरु आन्दोलित

0
607

पार्थ मण्डल / भद्रपुर।

वडाको सिलिङ बजेट कटौती गर्न खोजिएको विरोधमा कचनकवल गाउँपालिकाका वडा अध्यक्षहरु आन्दोलित बनेका छन् ।

राप्रपाको बहुमत रहेको कचनकवल गाउँपालिकाको नेतृत्व तहले आगामी आर्थिक बर्ष २०७६।०७७ मा वडाको सिलिङ बजेट कटौती गर्न खोजिएको विरोधमा नेकपा र नेपाली कांग्रेसका वडाध्यक्षहरु आन्दोलित बनेका हुन् । आन्दोलित बनेका वडा अध्यक्षहरुले सोमबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

कचनकवल वडा नम्बर २, ४, ६ र ७ का वडा अध्यक्षहरुले निर्णय सच्याउनु पर्ने माग राख्दै आइतबार गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै २४ घण्टे अल्टिमेटम दिएका थिए । वडा अध्यक्षहरुले दिएको २४ घण्टे अल्टिमेटमको सुनवाई नभएपछि उनीहरु आन्दोलित बनेका हुन् । चारवटै वडा कार्यालयका जनप्रतिनिधिहरुले सोमबार हातमा कालोपट्टी बाँधेर गाउँपालिकाको निर्णयप्रति विरोध जनाएको ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीले बताए ।

आन्दोलित बनेका कचनकवल वडा नम्बर २, ४, ६ र ७ का वडा अध्यक्षहरुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।

वडा नम्बर २ का वडाध्यक्ष मेखबहादुर भट्टराई, ४ का वडाध्यक्ष परमानन्द राजवंशी, ६ का वडाध्यक्ष कुलबहादुर कार्की र ७ का वडाध्यक्ष भरत राजवंशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वडाको सिलिङ बजेट कटौती गरे गाउँपालिकाविरुद्ध आन्दोलनमा उत्रिने उल्लेख गरिएको छ ।

गाउँपालिकाले यसअघि बार्षिक रुपमा प्रत्येक वडा कार्यालयलाई ५० लाख रुपैयाँ बराबरको सिलिङ बजेट दिँदै आइरहेको ६ नम्बर वडा अध्यक्षले कार्कीले बताए । तर, गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम बनाउँदा सिलिङ बजेट कटौती गरी वडास्तरबाट छनौट भएका योजना तथा कार्यक्रमहरुलाई सूची बनाएर पेश गर्न निर्देशन दिएको थियो ।

गाउँपालिकाले प्राथमिकताको आधारमा बजेट छुट्याउने भनी ठाडो पत्र वडा कार्यालयहरुलाई पठाएपछि वडा अध्यक्षहरु त्यसको विरोधमा उत्रिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here