परम्पराको निरन्तरता

0
941

नेपाल अभ्यासको थलो भएको धेरै भयो । कुनै पनि योजना हचुवाको भरमा कार्यान्वयनमा ल्याइन्छ, केही समयपछि हराउँछ र अस्तित्व नै नामेट हुन्छ । शक्ति हुनेले शक्तिको बलमा ल्याउने यस्ता योजनाहरु समाज, जीवन र आवश्यकता सापेक्ष हुँदैनन् र हराउँछन् । फेरि त्यसको लेखाजोखा, समीक्षा, परिणाम र उपलब्धिको मूल्याङ्कन पनि गरिँदैन । यो हाम्रो सन्दर्भमा नियमितता जस्तै भएको छ ।

सरकारमा बस्नेहरु खासगरी कार्यपालिका सभाका सदस्यहरु विषय विज्ञ हुँदैनन् । तर, व्यवहारमा उनीहरु ब्रह्मज्ञानी हुने गरेका छन् । त्यसकै परिणाम धेरै योजनाहरु प्रक्रिया पूरा गर्ने नाममा व्यापक बहस, छलफल, अन्तरक्रिया, समीक्षा र परामर्श नै नगरी पारित गरिन्छ । पारित योजना कार्यान्वयनमा पनि लगिन्छ जसको लाभ उनैले मात्र लिन्छन् जसले योजना बनाएका हुन्छन् । त्यसले पारेको असर, दिएको परिणामले समाजलाई कति वर्षपछि धकेल्यो खोजीनिति हुँदैन । त्यसमा पनि शिक्षा त्यस्तो पूर्वाधार हो जसले समाजलाई प्रत्यक्ष प्रभाव पार्छ र समाजको सर्वाङ्गमा गहिरो परिवर्तन पनि ल्याउन सक्छ ।

शिक्षाकै माध्यमबाट चेतनाको विकास र विस्तार हुन्छ । कुनै पनि जाति, समुदाय वा राष्ट्रको सर्वाङ्गिण विकासको आधार भनेकै शिक्षा हो । त्यसैका आधारमा कुनै पनि सभ्यताको प्रारम्भ भएको हुन्छ । त्यसमा पनि पूर्वीय समाज वैदिक सभयताबाट निर्देशित छ । वैदिक अर्थात् वेदको उद्भवसँगै त्यसैले प्रवाह गरेको चेतनाले पूर्वीय संस्कृति विश्वकै पहिलो र उत्कृष्ट सभ्यता बन्न पुगेको मानिन्छ । यसले मानिसलाई नैतिक–अनैतिकको भेद सिकाउँछ, असल र सत्मार्गमा हिँड्न प्रेरित गर्छ । यही शिक्षा नैतिक शिक्षा हो, वेदको र पूर्वीय सभ्यताको शिक्षा हो । यसैलाई मूलमन्त्र मान्दै र जप्दै आएको नेपाली समाजमा पटक–पटक नयाँ अभ्यास गरिएका छन्, परीक्षणका नाममा सम्पुज्य संस्कृति माथि आक्रमण भएका छन् ।

बालबालिका घरबाट दीक्षित हुन्छन् पहिला र समाज हुँदै विद्यालयसम्म आइपुग्दा उनीहरुको चेतना तह बढद्ै जान्छ । त्यही समय संयुक्त परिवारको संसर्गका कारण जेष्ठ सदस्यहरुबाट आचार–विचार, बोली–बचन, मान–सम्मान, माया–प्रेम, हार्दिकता–सद्भाव जस्ता उच्चतम् गुण ग्रहण गर्छन् । तर, आज पारिवारिक ढाँचा बद्लिएको छ, एकल परिवार ढाँचाले बालकमै एकाकी र एकाङ्गी बनाएको छ, जसका कारण शिशु र बाल्यकालमा पाउनुपर्ने आदर्श, नैतिक मूल्य र मान्यताको चेतको विकास हुन पाएको छैन ।

यसअघि शिक्षाको माध्यमबाट विद्यालयीय पाठ्यपुस्तकले दिने यस्ता ज्ञान संस्कृत र नैतिक शिक्षाले धेरथोर प्रवाह गर्दै थियो । तर, माओवादी द्वन्द्वकालमा आइपुग्दा यसलाई सामन्तवादी, रुढीवादी, पुरातन, जडसूत्रवादी, पश्चगामी लगायतका सकेको आरोप लगाएर बलपूर्वक हटाइयो । पुस्तक च्यातिए, प्रश्नपत्र डढाइए, परीक्षा रोकाइए र अहिले त्यसकै खडेरीले डढेको चेतनाको प्रवाह पुनप्रवाहित गर्ने प्रयास हुन थालेको छ ।
मुलुक त्यही ढोंगी र बुर्जुवा शिक्षा भन्नेहरुको अधीनमा छ ।

त्यही भएर भएभरका असझदारी हुर्काइएको छ । बिना आधार, बिना तर्क, बिना कारण र परिणामको मूल्याङ्कन, बिना विज्ञहरुको सल्लाह–सुझाव मुख नै कानून सरह विधेयक ल्याउने, पारित गर्ने र आत्मरति लिने पद्धति चलेको छ । यही समय बिर्तामोड नगरपालिकाभित्रको नगर शिक्षा शाखाले बालबालिकालाई आचरण शिक्षा दिन नयाँ पाठ्यक्रमको विकास गरेको छ । यसो त खडेरीका बीचको यो एउटा मीठो झरी हो, तर त्यसमा नवीनता के छ ? परम्पराको अनुशरण हो कि होइन ? रुढीवादी, सामन्त र बुर्जवा भन्नेहरुले जवाफ दिनुपर्ने भएको छ ।

बालक भोलिको आशा हो । त्यसउसले उसमा सकारात्मकता, व्यवहार कुशलता र असल गुणको विकास गर्ने प्रयास गर्नैपर्छ । त्यसका लागि शिक्षा शाखाको यो प्रयासलाई स्याबासी दिनुपर्छ । आचरण, सृजनात्मकता, मानवीयता, आदर्श, नैतिक मूल्य र मान्यता, आवश्यक ज्ञान, सिप र चेतना प्रवाह गर्न यो पाठ्यक्रम सहयोगी हुन सक्यो भने ढिलै भए पनि उद्देश्य फलीभूत हुने आशा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here