सुमनसिंह पौडेल,
हामी युद्ध चाहँदैनौ, हामीले चाहेको क्रान्ति हो । हामी हिंसा मन पराउँदैनौं । तर, हामी प्रतिरोध गर्न हिच्किचाउँदैनौं । हो, आज नेपाली समाज थिल्थिलो छ, त्यसैले यहाँ आँशु, आक्रोश र प्रतिरोध मिश्रित बिद्रोह उद्घाटित भइरहेको छ । त्यसैले लादिएको अन्याय, अत्याचार, विभेद, शोषण र दमनको विरुद्ध बिद्रोह जुर्मुराउन खोजेको छ । प्रतिरोध सल्बलाउन थालेको छ । मुक्तिको तयारीमा जुट्न थालेका छन् । लाखौं मन र शरीरहरु । सायद त्यहाँ कुनै थकान, आलश्यता, स्वार्थ प्रतिविम्वित भएको छैन ।
शान्तिनगरको सुन्दरता र त्यहाँबाट उठेको सुन्दर सपना । बाहुनडाँगीका चुरेहरुबाट भुल्किरहेको विद्रोहको भुल्को । जयपुरे जनताले खुवाएका मकै भटमास । कचनकवलका राजवंशीहरुको घरमा खाएको चकिलो तरकारी र सिद्राको अचार । गारामनीका सचेत जनताको खबरदारी । भद्रपुरका राष्ट्रवादी नेपालीहरुको न्यानो माया र सेल्टर । बिर्तामोडका सुकुम्बासी र उद्योग व्यवसायीहरुको माया । बैगुन्धुराका किसानको गुनासो । कन्काईका दिग्गजहरुको ममता । धौलेचोकका जनताको आक्रोश । समयगढका युवाको ऊर्जा । गौरादहका आमाहरुको ममता । गौरीगञ्जका मुस्लिमहरुको दृढता । पाडाँजुगी र दमकका युवा, बिद्यार्थी, व्यापारी, बुद्धिजीवी र आफन्तहरुको हरतरहको सहयोग ।
त्यस्तै झापाका अधिकांश कयांै ठाउँ जहाँ क्रान्तिलाई काखमा राखेर माया गर्ने जनताहरु छन्, उनीहरुको अपार र सम्मानित स्नेह छ । थारु, राजवंशी, अल्पसंख्यक आदिवासीहरुको पीडा मिश्रित ज्वारभाटा । समग्रमा झापाका हाम्रा प्रिय जनताहरुको क्रान्ति प्रतिको चाहना र सपना शब्दमा सायद ब्यक्त गर्न नसकिएला । जति स्नेह ब्यक्त भएका छन् । ती क्रान्तिलाई सफलतासम्म पु¥याउनै पर्दछ भन्ने ऊर्जा हुन् । शहीद परिवारको मायालु गाली हाम्रो निम्ति पुनः शपथ खाने पवित्र आँगन बनिरहेको छ । हामी झापाली जनताको सपना, चाहना र बलिदानको अगाडि उभिएर मुठ्ठी उठाएर पुनः शपथ लिन चाहन्छौं र भन्न चाहन्छौं हामी शहीद हुन तयार छौं, बलिदान दिन तयार छौं । तर, जनता र राष्ट्रलाई मुक्त बनाएरै छाड्छौं । अन्तिमसम्म हामी जनताको पंक्तिमा उभिएर लड्न चाहन्छौं र जनताकै काखमा हाँसी–हाँसी मर्न चाहन्छौं ।
हामी लुटिएका छौं, डगिएका छौं । जहीतहीं अन्यायको ताण्डव मच्चाइरहेका छन् । जताततै आक्रोश छ, उजुरीहरु छन् । जनताको पंक्ती बिस्तारै फलाम झैं तातिरहेको छ । त्यस्ता अखडाको अन्त्यको निम्ति तुफान उठिरहेको छ झापाली माटोबाट । दलालहरुलाई थाहा छ क्रान्ति आफ्नो मृत्यु लिएर अगाडि आइसक्यो । त्यसैले उनीहरु क्रान्तिको गला रेट्न जोरजुलुम मेहनत गरिरहेका छन् । तर, त्यो उनीहरुको दिवा सपना मात्र हुनेछ । किनकि क्रान्ति मात्र त्यो सत्य हो जसले जनताको जीवनका सारा दुःखहरुको हल गर्न सक्छ । त्यो क्रान्ति जनताको मन–मनबाट आगो बोकेर मैदानमा आइसकेको छ । झापा फेरि विस्फोट हुँदैछ ०२८ साल जोडेर, फेरि सल्किदैछ ०५२ सालको भावभूमिबाट । यहाँ केही गलत धन्दावालहरु आफ्नो आत्मारतिमा रमाएर क्रान्तिलाई निमोठ्न सकिन्छ भनेर लागेका छन्, बिचरा !
तिनीहरुको सुबुद्धी फर्किएको भए राम्रो हुने थियो । क्रान्ति एउटा यस्तो सत्य हो जो समयले मागेको हुन्छ र त्यो माग अनिवार्य पूरा हुनैपर्ने सामाजिक र प्राकृतिक सत्य लुकेको हुन्छ त्यसभित्र । यो ज्वारभाटाको बीचमा कोही आउनु भनेको त्यसको निम्ति त्यो मृत्यु हो । गरिबीको जञ्जालभित्र उकुसमुकुस नेपाली समाज र त्यही समाजको उपज हामी जनता कोही प्रहरीमा जागिर खाँदैछौं, कोही सेनामा । तर, प्रहरीहरु आफ्नो आर्थिक सामाजिक र वर्गीय धरातल भुलेर जनताहरुको मुद्दाविरुद्ध दमन गर्न तम्सिएर आएका छन् ।
सबै प्रहरीहरुले त्यसै गर्दैछन भन्ने होइन तर केही भने दलालहरुको उक्साहटमा लागेका छन् । सरकारी दमनको यो बिषयलाई आम जनताले नजिकबाट हेरिरहेका छन् । जनताका प्रस्तावहरुलाई घेरा हाल्न सकिन्छ र निमोठेर खरानी पार्न सकिन्छ कि भन्ने दुस्साहस जनबलको अगाडि पानीको फोका मात्र हो । जनताबाट बरु प्रतिक्रियाबादीहरु घेरिएका छन् । त्यसैले त हो उनीहरुको यो छट्पटी र दमन । यदि यसो नहुँदो हो त उनीहरु जनस्तरबाट उठेका यी तमाम बिषयहरुप्रति गम्भीर बन्ने थिए । र, यसको उचित समाधान के हुन सक्दछ भन्ने बिषयमा चिन्तित हुने थिए । तर, उनीहरु आफ्ना कर्तुतहरुलाई ढाकछोप गर्दै सत्ता संकटलाई दमन मार्फत बिषयान्तर गर्न उद्यत छन् । यो बिषय उनीहरुको आफ्नो पराजय मात्र होइन, दुःखद् अवशानको स्पष्ट संकेत हो । त्यसैले जनता बिजय उन्मुख छन् ।
झापामा करिब १० लाखको जनसंख्या छ । झापाको ठूलो हिस्सा कृषिमा आधारित रहेर जिविका चलाइरहेको छ । त्यस्तै मजदुरहरुको संख्या पनि झापामा धेरै ठूलो छ । किसानहरु आफ्नो कृषि पेशाबाट आफू र आफ्नो परिवारको जीवन निर्वाह गराउन सक्ने अवस्थामा छैनन् । त्यसैले किसानहरु आफ्नो परम्परागत किसानी पेशाको अलावा मालिकहरुकै उद्योगमा मजदुरी गर्न मजबुर छन् । झापामा सुकुम्बासीहरुको संख्या र समस्या जटिल छ । उनीहरु चौतर्फी दमनको शिकार बनिरहेका छन् । हामी झापाका मजदुर सुकुम्बासी र किसानहरुको रक्षाको निम्ति डटेर लागेकै छौं । सायद यो अनुभूति आम झापालीहरुले कुनै न कुनै रुपमा गरेकै छन् । त्यसैले पनि हो हामीलाई झापाका जनताहरु सहयोग गर्न तयार बनेका छन् र हरतरहको सहयोग गरिरहेका छन् । झापामा उद्योगी, व्यापारीहरुको अवस्था जटिल छ । अधिकांश उद्योगीहरुसँग छलफल गर्दा उहाँहरुको निश्कर्ष छ, दलाल पुँजी र सो सँग जोडिएको व्यवसायले हामीलाई टाट पल्टायो ।
अवस्था यति भयानक बनेको छ कि व्यापारबाट पलायन हुनुपर्ने, ऋण तिर्न नसकेर व्यापार छोडेर भाग्नुपर्ने, घर जग्गा लिलाम हुने अवस्था, अन्ततः आत्महत्या गर्नुपर्नेसम्मको स्थितिमा पुगेको दुःख व्यापारीहरुको छ । सायद राष्ट्रिय पुँजीको विस्थापन र दलाल पुँजीलाई राज्यको प्रश्रय र प्रोत्साहन नै यसको मुख्य कारण हो । हामी यो बिषयमा चिन्तित छौं, राष्ट्रिय पुँजी र उद्योगीहरुको सुरक्षा, संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी अब हाम्रो काँधमा आइपुगेको हामीले ठानेका छौं । र, यो स्थितिमा हामी उहाँहरुसँग निरन्तर छलफलमा जुटिरहेका छौं । र अन्ततः निश्कर्ष यो छ कि दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजबादमा मुलुकलाई लैजानै पर्दछ र यसको लागि सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग क्रान्तिलाई गर्ने प्रतिबद्धतासहित सहयोग प्राप्त भएको छ ।
झापा जिल्लामा नेताहरु छन् । वर्तमान सरकार प्रमुख समेत झापाकै भएको यो स्थितिमा अलोकप्रिय र बदनामशैलीको कामबाट झापाका जनता रुष्ट छन् । झापाली जनता सचेत छन्, आक्रमक छन्, विवेकशील छन्, इमान्दार छन् । केही टट्टु हनुमानहरुको दलालीको मारमा पिल्सिएको झापाले पुहातु चौधरीलाई सांसद बनाएको इतिहास पनि छ । माओवादीको सामान्य उम्मेदवारले केपी ओलीलाई पराजित गरेको इतिहास पनि छ । जनयुद्ध र जन आन्दोलनका उत्कर्षहरुमा झापालीहरुले गरेको योगदान र यसले राष्ट्रकै समग्र राजनीतिमा पारेको प्रभावको इतिहास पनि छ । झापा जब तात्छ तब मुलुक तात्छ, झापा जब सल्कन्छ तब मुलुक सल्कन्छ र झापामा जब हुरहुर बल्न थाल्छ तब सत्ताहरु हल्लिएको इतिहास झापाली जनतासँगै सुरक्षित छ ।
सीमाना मिचिँदा दुःखेका झापाली छातीहरु, सुकुम्बासीका घरमा डोजर लाग्दा खसेका झापालीहरुका आँशु, मजदुरहरु माथि चर्को शोषण हुँदा दबिएका आवाजहरु, उपचार नपाएर मर्नुपर्दा अस्पतालबाट पोखिएका चिच्याहट, शिक्षाको पहँुचमा नरहँदा जनताले पाएको सास्ती, जनतामाथि लादेका दमन, चर्को ब्याजको मारमा छटपटिएका जनताको बेदना, अनागरिक जस्तो आरोप खेपेर आन्दोलित देशभक्त क्रान्तिकारी शक्तिको पंक्तिबाट उद्घाटित ज्वाला यी सबै कुण्ठा, आक्रोश र प्रश्रव पीडाको अन्तर्यमा विद्रोह छ । यो एकजनाको बिषय होइन, आम झापाली १० लाख जनताको साझा बिषय हो । यहाँ एमाले, कांग्रेस, माके, राप्रपा, लिम्बुवान अथवा अन्य पार्टी वा दलगत बिषय छैन । यहाँ केबल साझा आक्रोश छ र त्यो आक्रोशको भावभूमिमा विद्रोह छ । अर्थात् झापाका १० लाख जनता विद्रोहमा छन् । हो, अहिले घरको चुलोबाट विद्रोह सल्किरहेको छ, उद्योगबाट, व्यक्ति–व्यक्तीबाट, समूहहरुबाट, क्षेत्रहरुबाट विभिन्न स्थानहरुबाट विद्रोह मडारिएको छ ।
यद्यपि आम जनताको स्तरबाट हेर्दा विद्रोह असंगठित छ । यद्यपि सत्ताधारी र अत्याचारीहरुको दमनको कारण विद्रोह बिस्तारै संगठित बनिरहेको छ । त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । एकीकृत जनक्रान्तिले त्यसलाई सूत्रबद्ध गरिरहेको छ । हो, दमनले प्रतिरोधलाई जन्म गराउँछ, दमनको भँुमरीबाट प्रतिरोध भुकम्प बनेर जरुर प्रस्फुटित हुनेछ र त्यसको पराकम्प आम विद्रोही मस्तिस्कहरुमा पुग्नेछ । विशाल आँधी आउनेछ, दलालहरुलाई चिहानमा मिल्काउने गरी । यही कुरा नै सत्य कुरा हो, यो सत्यलाई कसैले निमोठ्न, हताहत गर्न असम्भव छ ।
एक–दुई क्रान्तिकारीलाई मारेर, तर्साएर, गिरफ्तार गरेर, समाज विज्ञानको यो बिकासको गतिलाई रोक्न वा बदल्न असम्भव मात्र होइन, दुश्साहस समेत हुनेछ । त्यसैले उठ्दै गरेको विद्रोह, प्रतिरोध र त्यसले निम्त्याउने विशाल जनताको आँधी नै अबको निर्णायक बिषय हो । यी सबै प्रक्रियाहरुमा आफूलाई खरो सावित गर्न सबैले प्रयत्न गरौं ।