अर्जुनधारा ।
“लामखुट्टेको टोकाइबाट जोगौं डेंगु ज्वरोबाट बचौं” भन्ने मुख्य नारासहित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा झापाको अर्जुनधारामा डेंगु ज्वरो सम्बन्धी सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
जनप्रतिनिधि, स्वमंसेवीका, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई लक्षित गरि आयोजित कार्यक्रममा महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइराला, स्वास्थ्य कार्यालय झापाका प्रमु्ख मधुसुदन कोइराला र भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईंले सहजिकरण गरेका थिए ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा डेंगु ज्वरोको परिचय, डेंगु ज्वरोका मुख्य लक्षणहरु, डेंगु ज्वरोको उपचार, डेंगु ज्वरोबाट बच्ने उपाय, नेपालमा डेंगु ज्वरोको प्रकोप हुन नदिन अपनाइएका उपायहरुलगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना, नगर सभा सदस्य देवकुमार राई, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले जिज्ञासा व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले गरेका थिए ।