सम्झनामा देवीप्रसाद उप्रेती

११ असार २०७६, बुधबार मा प्रकाशित

त्रिलोचन संग्रौला,

सन्दर्भः देवीप्रसाद उप्रेती २७औं स्मृति दिवस

आज देवीप्रसाद उप्रेतीको २७औं स्मृति दिवस । उहाँको नाम मैले २०१६ सालतिर सुनेको थिएँ । उहाँ बस्नुभएको स्थानभन्दा अलिक टाढा होडा गाउँमा मेरो घर भएकाले उहाँसँग प्रत्यक्ष सम्पर्क हुन सकेको थिएन । आफ्नो बाल्य अवस्थाको कारण र देवीप्रसादले निर्माण गरेको विद्यालयमा पठनपाठन गर्न गरिबीको कारण लगायतका अप्ठ्याराहरुबाट प्रत्यक्ष सम्पर्क हुन नसके पनि पोखरी हाईस्कूल निर्माण गर्न शिक्षासेवी देवीप्रसाद उप्रेती आउनुभएको छ भनेर अरु इस्टमित्रहरुले कुरा गरेको सुन्न पाइरहिन्थ्यो । २०१६ सालतिर नै हो महिना गते याद आउन सकेन । बिहान उठेर बारीतिर घाँस काट्न जाँदा मेरा बारीकै छेउमा तीनघरे भन्ने चौतारो र त्यसैको छेउमा पानीको कुवा थियो ।

त्यो कुवामा बिहानै गाउँघरबाट पानी लिन डोकामा र काखीमा गाग्रा बोकी जम्मा हुनुभएका गाउँघरका आमा दिदीहरु निकै ठूलो स्वरमा बोलेको सुनें । त्यसपछि के रहेछ भनेर पनि पँधेरातर्फ लाग्दा आज पोखरीको स्कूल आगलागी भएर सबै समाप्त भयो रे । कसले डढायो थाहा छैन । त्यत्रो त्यति राम्रो स्कूल कुन अपराधीले आगो लगाई दियो हामी गरीबका छोराछोरी पढ्न पाउने थियौं । नाश भयो भनी पँधेरामा जम्मा भएका आमा दिदीहरुले सुनेपछि आफूलाई पनि सारै दुःख लाग्यो र पनि आफ्नो बाल्य अवस्थाले गर्दा सबै कुरा बुझ्न सकिएन । त्यसपछि कुरा सुनिँदै गयो । पोखरी स्कूल त देवीप्रसाद उप्रेतीले दार्जिलिङ्गदेखिका मिस्त्री लगाई झन् राम्रो बनाउन शुरु गर्नुभयो ।

स्कूल तयार भएपछि हेर्न जाँदा त अति राम्रो काठको स्कूल भवन खरले छाएको हेरिहौं जस्तो आकर्षक भवन देखन पाइयो । त्यो देखेर मन ज्यादै हर्षित भयो । पछि गएर सोही भवन पनि आगलागी भएर नस्ट भएको खबर सुनियो यस्तो खबर सुनेपछि सबै गाउँघरका सबै मानिसका आँखाबाट आँशु झरे । मलाई पनि अति दुःख लाग्यो । त्यसपछि देवी प्रसाईं बस्नुभएको गौरीकुञ्जको लामो कोठै कोठा भएको भुइँ घर पनि आगलागी भयो । यसरी लगातार तीन पटक आगो लाग्दा पनि कति विचलित नभई त्यस क्षेत्रका सबै साना–ठूला गरीब धनी जनसमुदायको सहयोगबाट ठूलो धनराशी आफूले पनि खर्च पनि आफ्नो जग्गा जेथा दिएर त्यस ठाउँमा ठूलो भवन पुनः निर्माण गर्नुभयो । देवीप्रसाद उप्रेतीको भावना साना–ठूला सबै एकै हुन्, सबैका छोराछोरीले उचित शिक्षा पाउनुपर्छ । शिक्षा व्यवसायमूलक हुनुपर्छ जस्ता कुराले प्रेरित हुनुहुन्थ्यो । म पनि घरको अवस्थाले गर्दा त्यसै घर गाउँमा अलमलिरहेको थिएँ ।


२०२५ सालको हिउँदमा मैले सरस्वती प्रावि होडाको शिक्षक पदमा नियुक्ति पाएँ । यसरी आफू पनि शिक्षा क्षेत्रमा संलग्न हुँदा अझ शिक्षामा योगदान दिने व्यक्तिको जानकारी हुन आउने नै भयो । अनि थाहा भयो । त्यस प्राविलाई पनि पाँच विगाह जग्गादान दिनुभएको छ अरे झापामा भन्ने सुनें । तर, त्यसको व्यवस्था राम्रो नभएको भन्ने पनि जानकारी हुन आयो । देवीप्रसाद उप्रेतीले धेरै स्कूलहरु निःशुल्क हाल आदर्श विद्या मन्दिर मावि घैलाडुब्बा झापा, पोखरी हाईस्कूल कक्षा ५ सम्म निःशुल्क प्रणामी विद्यालय सिम्ले इवा आठराई हाल प्रणामी मावि कक्षा ७ सम्म निःशुल्क चलाएको कुार सुनेको थिएँ ।
त्यसबखत त आफूले पढाउने सरस्वती प्रावि होडा कक्षा २ सम्म निःशुल्क कक्षा ३ देखि ५ सम्म फि लाग्ने थियो भने देवीप्रसादका शिक्षाप्रतिको प्रेरणाले मलाई पनि घचघच्यायो । त्यसैबेला सञ्चालक समितिको गठन हुँदा म समितिको सचिव बनें । त्यसपछि जिम्मेवारी आफूलाई बढेको हुँदा देवीप्रसादले दान दिएको जग्गाको आयस्ता संगाल्दा र केही आर्थिक (चन्दा) संकलन गर्न म झापा झरें । सबै बिस्तार गरेपछि स्कूल निःशुल्क चलाउने कुारमा सारै खुशी हुनुभयो र भन्नुभयो– मैले दिएको जग्गा डाँगीबारी–३ मा पर्छ । सुरुङ्गा र डाँगीबारीका प्रधानपञ्चहरु भेला गर्नु अनि छुट्याउँला भन्नुभयो । यसो भन्नु भएपछि सोही अनुसार गरी दुबै गाउँपञ्चायतमा प्रधानपञ्च बोलाएर डाँगीबारी–३ मा देवीप्रसाद र अन्य भद्रभलाद्मी समेत भेला हुनुभयो । यो २०२८ साल माघ महिनाको कुरा हो । संयोगबस त्यस दिन राजा महेन्द्र स्वर्गारोहण भएको दिन परेछ । आज नगरौं भनेर देवीप्रसाद उप्रेती उठेर घोडा चढी घरतर्फ फर्कनुभयो ।

त्यसपछि हामी पनि आ–आफ्नो बासतर्फ लाग्यौं । पछि जग्गा छुट्याई आर्थिक संकलन गरी सो प्रावि निःशुल्क सञ्चालन गरियो । त्यस समयदेखि देवीप्रसादसँग नजिक हुँदै जाँदा २०२९ सालदेखि म पोखरी हाईस्कुल आठराईको शिक्षक हुन पुगें । देवीप्रसाद उप्रेतीले दान दिनुभएको जग्गाहरुको २०२९ सालको आयस्ता लिन त्यसबखतका सेक्रेटरी तथा शिक्षक कृष्णप्रसाद ओली र मलाई विद्यालयले झापा खटायो । आयस्ता लिन आएँ र कुरा गरिसकेपछि आठराई तिरैबाट केही मित्रहरु आई देवीप्रसाद उप्रेतीलाई भने छन् । पञ्चायत व्यवस्था समाप्त पारेर वारेन्ट छ ।

यस्तो सुनेपछि देवीप्रसादले आयस्ता तत्काल दिन इन्कार गर्नुभयो । हामीलाई पहिला नै थाहा थियो । प्र.अ. सूर्य कन्दङ्वा र म कृष्ण ओली, रामचन्द्र मैनाली, गंगाप्रसाद उप्रेती, तेजबहादुर कन्दङ्वा तत्कालीन प्रधानपञ्च भीमराज कन्दङ्वा लगायतका अन्य साथीहरुलाई वारेन्ट भएको । यसपछि आठराईका हामी सबै ३२ जना साथीहरु तितरवितर भयौं । यसरी भूमिगत र जेल यातना भोगिसकेर बाहिर आएपछि विद्यालयकै कामले पुनः २०३३ सालदेखि देवीप्रसादसँग नजिक बस्ने अवसर प्राप्त भयो । देवीप्रसाद उप्रेतीले दानदिनु भएका तेह्रथुम जिल्ला, इलाम र झापा जिल्लाका गरी २९ वटा विद्यालयलाई जग्गादान दिएर समाजसेवामा ठूलो योगदान दिनुभएको र अन्य मठमन्दिरहरुलाई पनि जग्गादान दिनुका साथै धेरै नगद दिनुभएको कुरा बुझ्ने मौका मिल्यो ।

देवीप्रसादले आदर्श विद्या मन्दिर मावि घैलाडुब्बा कक्षा १० सम्म आफ्नो केही इस्टमित्रको थोरबहुत सहयोगबाट निःशुल्क सञ्चालन गर्नुभएको, पोखरी हाईस्कूल आठराई १० लाख जति भारु रकम २०१६ सालदेखि २०२१ सालको बीचमा खर्च गरी जमिन २१३–६–५ मध्ये २२ बिगाह आफ्नै भान्जा र सहयोगी साथीबाट दान गराई त्यस क्षेत्रको शिक्षा विकासमा ठूलो योगदान गर्नुभयो । आफ्नो जन्मघर आठराई सिम्लेमा प्रणामी विद्यालय (हाल मावि) निःशुल्क स्थापना गरी सञ्चालन गर्नुभयो । त्यस्तै करफोक विद्या मन्दिर, मेची क्याम्पस लगायतका उन्नतीस संस्थालाई आफ्ना परिवारले जग्गा विगाह ८५४–४–० जग्गादान स्वरुप दिनुभयो । पहाड सिम्ले घरखेत प्रणामी विद्यालयलाई र फँगुवा कृष्ण मन्दिर, चारपाने कृष्ण मन्दिर, झापा शिवालय, सुरुङ्गा शिवालय र शारदेश्वर शिवालय समेतलाई जग्गा बिगाह १५–०–० दान दिनुभयो अन्य धार्मिक संस्थाहरुलाई धेरै–धेरै नगद दान दिनुभयो ।

यसरी पूर्वाञ्चलकै एउटा दानबीर कै रुपमा स्थापित हुनुभएका उप्रेती यो काम मैले गरेको भनी जस लिन कहिल्यै अघि सर्नु भएन । पदलोलुपतातिर कहिल्यै लाग्नु भएन । यसरी काम गर्ने सामाजिक व्यक्तित्वलाई २०३५ सालतिर सरकारले विरोध ग¥यो, त्यस्ता कामका सहयोगी यिनीहरु पनि हुन् भनी म समेतलाई राजनीतिक आरोप आयो । उजुरी राजाकोमा परेछ । त्यो अवधिमा उहाँले दान दिएका जग्गाहरु केही दर्ता हुन रहेकोले म तेह्रथुम जिल्लाका शिक्षण संस्थाका नाममा उहाँले दान दिनुभएको जग्गा ती संस्थाका नाममा मैले दर्ता गराउन लागेको जग्गा बिगाह १५०–०–० दर्ता गराई शिक्षण संस्थालाई बलियो बनाउने काम पनि भइरहेको अवस्थामा दातासँग बढी सम्पर्क हुने काम भएकोले तत्कालको व्यवस्थाको विरुद्धमा मेरो नाम समेत समावेश गरेका होलान् । तर, उप्रेती जस्तोसुकै समस्या आइ परे पनि कहिल्यै पछि नसर्ने उहाँको साहस थियो । देवीप्रसाद उप्रेतीबाट जति शिक्षण संस्थालाई जग्गाजमिन दान भयो ती सबै जमिनको दानपत्र सशर्त भएको हुनाले शिक्षण संस्थाहरुले शर्त अनुसार काम गरुन् भन्दा केही संस्थाले ठीकै स्वीकार गरे । केहीले अस्वीकार गरे तर शर्त नराम्रो चाहिँ पक्कै होइन ।

जग्गाबाट प्राप्त आम्दानी बैंक मुद्दती खातामा विद्यालकै नाममा अक्षयकोषमा राखी सोको ब्याजबाट भौतिक विकास निर्माण गर्नु सावा नमास्नु पछि गएर साल–सालको आयस्ता जम्मा भई ठूलो धनराशी विद्यालयमा प्राप्त हुन सक्छ । यसबाट विद्यालयको अन्य प्रगतिहरुमा चिसोपन पनि आयो । यही चिसोपनको फलस्वरुप २०४४ सालमा राजाको पूर्वाञ्चल सवारीमा सबैभन्दा बढी दान पाउने संस्था पोखरी हाईस्कूलका त्यसबखतका निरंकुश शासन पञ्चायतका हिमायती हुँ भन्ने पञ्चको उच्च पदहरु समालेका मित्रहरुबाट सवारी शिविरमा उजुरी गर्नुभएछ । झापाको स्कूलको जग्गाको आयस्ता पञ्चायत समर्थक शिक्षकलाई नदिई बामपन्थी शिक्षकहरुलाई मात्र दिएर झापाको आयस्ताले आठराईमा बामपन्थी राजनीति शुरु गरेका छन् भनी दाता उप्रेती र मलाई पनि उजुर पारेछन् । मलाई पन्ध्र महिना चार जिल्लामा वारेन्ट काटियो । घर छाडी भूमिगत हुन बाध्य हुनुप¥यो ।

जग्गादाता समस्यासँग जुधिरहनु भयो । त्योभन्दा अलिक अगाडि पनि २०४२ सालमा पोखरी मावि आठराईको रजत जयन्ती समारोहमा जाँदा सोही किसिमको उजुरी भएछ । देवीप्रसाद उप्रेती, मदनकुमार थापा, जसमा पोखरी हाईस्कूलका संस्थापक प्र.अ.लाई, प्राध्यापक गंगाप्रसाद उप्रेतीजी र मलाई प्रहरीले पक्राउ गरी आठराईका थानामा सीडीओको सामु पु¥यायो । जसमा आरोपहरु झापाबाट आएर आठराईमा राजनीति गरे भन्ने रहेछ । यस किसिमका सजिला अप्ठ्यारा पार गर्दै मैले पूर्णरुपमा सहयोग गरें । मैले गरेको सहयोग भनेको उहाँको व्यक्तिगत व्यहार नभई शिक्षासेवी समाजसेवी ठूला दानवीर भनेर उहाँबाट दान पाउने शिक्षण संस्थाको लागि गरेको हुँ– उहाँ भन्ने गर्नुहुन्थयो । धनी–गरीब समान बनाउने बाटो व्यवसायमूलक शिक्षाबाटै हुन्छ । जसमा निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्छ र मात्र गरीबका छोरा–छोरीले पढ्न पाउँछन् । उहाँको सो भावनाबाट प्रेरित भई मैले शिक्षा क्षेत्रमा सहयोग गरेको छु । त्यस ठाउँमा जनविरोधीहरुले त्यसबखत जे–जस्तो व्यवहार गरे पनि कत्ति पछि नसरी देवीप्रसाद उप्रेतीले आफूलाई जीवनभर सामाजिक सेवामा सर्पित गरिरहनुभयो ।

त्यसैले जहाँ आफ््नो समयका अत्यन्त उच्च आदर्श र विचार भएका एक महान् शिक्षासेवी तथा जनप्रिय प्रतिभा हुनुहुन्थ्यो भन्ने कुरा उहाँ र उहाँका योगदानलाई जान्ने सबैलाई विदितै छ । उहाँले अन्तिम अवस्था जसमा बोली राम्रो नबुझिने बेलामा २०४९ आषाढ ११ गते दिनको पौने १ बजे उहाँका साथमा म प्राध्यापक गंगाप्रसाद उप्रेती, सांसद सी.पी. मैनाली, दीर्घराज कोइराला, कुलप्रसाद मैनाली, श्रीमती, कुलप्रसाद मैनालीकी छोरी समेत र उहाँका परिवार श्रीमती नर्मदा उप्रेती छोरा डिल्लीप्रसाद उप्रेती, दुर्गाप्रसाद उप्रेती सेवा गर्ने मालिराम दास र सानो मालीरामको छोरा उहाँका भान्जा समेत हुनुहुन्थ्यो । मृत्युले लान घण्टी बजाइरहेको अवस्थामा पनि उहाँ भन्नुहुन्थ्यो– मैले दान दिएको शिक्षण संस्थाको जग्गा जेथा राम्रोसँगले सुरक्षित होओस् ।

नियम कानून बनोस्, मेरो जन्म ठाउँ सिम्ले आठराईमा पनि मैले थालेको काम पूरा होओस्, त्यो काम भनेको शिक्षा सम्बन्धी काम नै थियो । मेरा सामाजिक काम तपाईंहरुका जिम्मामा भन्दाभन्दै दीर्घराज कोइरालाले सबै काम पूरा हुन्छन् । प्रधानमन्त्रीले गरिदिनु हुन्छ । फिक्री नगर्नुहोस् भनेर विदा हुनुभयो । अरु हामी त्यहाँ छेउमा कुरा गर्दै थियौं । एकै छिनपछि १ बज्न ५ मिनेट बाँकी छँदा बोल्दाबोल्दै शिक्षासेवी उप्रेतीलाई सधैंका लागि विदा गर्नुप¥यो ।
(संग्रौला देवीप्रसाद उप्रेती निजानन्द आश्रम कनकाई–९ घैलाडुब्बाका अध्यक्ष हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

2 COMMENTS

  1. स्वर्गीय देवी प्रसाद उप्रेती प्रति भाबपूर्ण श्रदान्जली
    आज उहाको २७ औ. स्म्रीती दिवसको अवसरमा हाम्रा आदर्णिय अग्रज श्री त्रिलोचन संग्रोला ज्यु ले लेख्नु भएको अतिनै मर्म स्प्रसी स्वर्गीय देवी प्रसाद उप्रेती ज्युले आफ्नो जीवन कालमा समाजमा पुर्याउनु भएको योगदानको स्मरण गराउनु भएको मा संग्रोला ज्यु लाइ धेरै धेरै धन्यबाद l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here