लेख्दाको अनुभव

0
985

विष्णुप्रसाद खरेल,

चार सयभन्दा बढी लेख लेखिएछ । निरन्तरको लेखनबाट अनुभव अलिक खारिएर आउने रहेछ । अझ, सामाजिक सञ्जाल मार्फत लेख प्रस्तुत गर्दा तुरुन्तै आउने सकारात्मक र नकारात्मक टिप्पणीहरुबाट लेखकले आफूलाई कसरी सच्याउने र अझ प्रभावकारी रुपमा लेख तयार गर्ने भन्ने ज्ञान पनि महत्वपूर्ण नै हुदोरहेछ । नियमित लेखका लागि कलम चलाएको एकदशक पुग्न लाग्दा आज आफूले आफैंलाई समिक्षा गर्न मन लाग्यो । ल्यापटपमा सुरक्षित भएका सन् २०१० देखिका लेखहरुका शीर्षकहरुलाई एकपटक नियाली सकेपछि लेख्दाका अनुभवका बारेमा लेख्न मन लाग्यो । यो समिक्षाबाट आगामी लेखन यात्रामा अझ परिस्कृत लेख तयार गर्न उत्प्रेरित गर्नेछ भन्ने आत्मबोध पलाएको छ ।

लेखकलाई धेरै कुराले प्रभाव पार्दोरहेछ । पहिलो प्रभाव त ऊ भित्रको अध्ययन र ज्ञानले पार्छ । अनुभव र ज्ञान बेगरको लेखन, शब्दहरुको अप्रासांगिक संगालो मात्र हुने रहेछ । दोस्रो प्रभाव, लेखको चिन्तनमा लुकेर रहेको राजनीतिक सोच, सामाजिक अस्तित्व र उसले अंगालेको पेशाले पार्दोरहेछ । लेखक भित्र लुकेर रहेको राजनीतिक विचारले लेखलाई उक्त विचारको वचावमा नजानिँदो ढंगले केन्द्रित गर्दो रहेछ । थाहा नपाई लेखकका शब्द र वाक्यहरु आफूले अंगालेको राजनीतिक विचारलाई सुरक्षित गर्न लालयित हुँदा रहेछन् । कतिपय अवस्थामा त लेखकका विचारहरु खुलेरै राजनीति केन्द्रित हुँदा रहेछन् । यहीनेर लेखक चुक्दो रहेछ । आम पाठकहरु लेखकको छवि अराजनीतिक र स्वतन्त्र विश्लेषकको होस् भन्ने चाहना राख्दा रहेछन् । केही पाठकहरु मात्र राजनीतिक रुपमा ओजिलो लेख मन पराउने गर्छन् । लेखकले आफूलाई कतातिर उभ्याउने भन्ने निर्णय यो बिन्दुमा आईपुग्दा कठोर बन्दोरहेछ । यहींनिर लेखकहरु धरमराउँछन्, पनि ।

लेखकका विचारहरुमा उसको सामाजिक अस्तित्व र पेशाको पनि बलियो प्रभाव पर्दोरहेछ । यो अलि स्वभाविक पनि हो । शिक्षण पेशामा लागेकाहरु त्यही भित्रको समिक्षामा रमाउने र लेख्ने गर्दछन् । व्यापार व्यवसायमा लागेकाहरु त्यसैभित्रका अनुभव र ज्ञानको विष्लेशणमा केन्द्रित हुँदारहेछन् । राजनीतिमा लागेका लेखकहरु राजनीतिक विषयलाई नै लेखनमा ढाल्ने अभ्यास गर्दारहेछन् । सामाजिक सेवामा लागेकाहरु त्यसैमा बढी केन्द्रीत हुन्छन् । सञ्चार र पत्रकारिता क्षेत्रमा लागेकाहरु बढी मात्रमा उतैतर्फका लेख पस्कने गर्दछन् । अधिकार र मानवअधिकारका क्षेत्रमा लागेकाहरु अधिकारको वकालतमा नै आफ्ना लेखहरु लेख्ने गर्दछन् । यसले आफू उभिएको क्षेत्रबाट प्राप्त ज्ञानको लेखन उपयोग पनि हो र लेखन विशिष्टता पनि हो । जो स्वभाविक छ ।

यस स्तम्भमा मैले अरुको समिक्षा गर्ने कोशिस गरेको होइन । मैले आफूलाई केन्द्रित गरेर गरेको व्यक्तिगत समिक्षा मात्र हो । मैले आफूलाई एउटा स्तम्भकार र लेखकका रुपमा समिक्षा गरिरहँदा धेरै उतार–चढावहरुबाट गुज्रिएको महशुस गरिरहेको छु । लेखन प्रवेशको प्रारम्भिक वर्ष मरो सबैभन्दा बढी उतारचढावबाट गुज्रिएछ । उत्ताउला शब्द, कतै–कतै अनावश्यक आक्रोशका अभिव्यक्ति, फित्तला विषयको प्रवेश, कता–कता आग्रह र पूर्वाग्रहबाट तयार भएका लेखहरुले प्रारम्भका वर्षहरु बिते छन् । लेखहरुको समिक्षा गर्दा, मैले प्रथम चरणमा लेखेका लेखहरुले अहिले मलाई नै गिज्याइरहेको अनुभूति गरिरहेको छ । म ती शब्द, वाक्य, आशय र सन्देशको समिक्षामा घोत्लदा लज्जाबोध गर्ने अवस्थामा पुगेको छु ।

अहिले मलाई लाग्न थालेको छ, एउटा लेखक लेख्न बस्दा स्वतन्त्र भएर तथ्ययुक्त तर्कलाई पक्ष्याउने हुनुपर्ने रहेछ । एउटा पाटोमा उभिएर अर्को पाटोलाई आक्रमण गर्न अत्यन्त सजिलो हुन्छ । यस्तो शैलीले लेखकको स्तरलाई कहिल्यै उच्च बनाउन सक्दो रहेन छ । सबै पाटाहरुको स्वतन्त्र समिक्षासहितको दिशाबोधलाई लेखकको मुख्य दायित्व बनाउन सकियो भने लेखकको स्वतन्त्र छविको विकासका साथै लेख सुपाच्य पनि हुँदो रहेछ ।

पत्रकारिता क्षेत्रकै लेखन र समाचार सम्प्रेशणको विष्लेशण गर्दा पनि एकपक्षीय आक्रमणका समाचारहरुलाई मानिसहरुले मन नपराएको देखेको छु । फलस्वरुप ‘हनुमान पत्रकारिता’ र ‘झोले पत्रकारिता’को विभुषणले केही पत्रकारहरुको छवि तयार भएको पाएको छु । मानिसहरुसँगको संवादमा यस्ता विषयहरु धेरै आएका छन् । ‘ऊ त्यो पत्रकार, त्यो त झोले हो ।’ ‘ए, त्यो पत्रकार, त्यो त हनुमान हो ।’ जस्ता शब्दवाट सम्बोद्धित केही पत्रकारहरुको चर्चाले मलाई पनि झस्काएको छ । लेखक पनि झोले र हनुमान बन्न थाल्यो भने उसले लेखेको विषय सामाजिक रुपमा कुनै महत्वको हुँदैन भन्ने अत्मवोध म भित्र पलाउन थालेको छ । कुनै पनि समाचार, लेख र आलेखहरु तथ्ययुक्त तर्कमा आधारित हुनुपर्दछ । कुनै कुरा खराब भनेर मात्र पुग्दैन के कारणले खराब छ भन्ने तथ्य र तर्क लेखनका लागि महत्वको हुन्छन् ।

तथ्य र तर्कको विष्लेशण गरेर लेख तयार गर्न गहिरो अध्ययन आवश्वक हुन्छ । अध्ययन र अनुभव नै एउटा लेखकको तागत हो । हरेक लेखकहरुले आपूmले आफैंलाई प्रश्न गर्ने, आफ्नो समिक्षा गर्ने अभ्यास आवश्यक छ । अझ, आफूले लेखेका लेखहरुका बारेमा आम पाठकहरुले कस्तो धारणा तयार गरेका छन् भन्ने थाहा पाउन जरुरी छ । पाठकलाई जबजस्ती पस्केका लेखहरुको अर्थ देखिँदैन । मैले आफूलाई यस विषयमा अभ्यस्त गरेको छु । मानवअधिकार, सूचनाको हक र अधिकारका विविध क्षेत्रमा कार्य गर्ने भएको हुनाले मेरा लेखका विषयहरु बढी मात्रमा त्यतैतिर आकर्षित भएका छन् । मानवअधिकारको वचाव गर्दा कहिलेकाँही सरकारी पक्षमाथि आक्रमक हुनु पनि पर्दोरहेछ ।

मानवअधिकारको रक्षा, सम्बद्र्धन, संरक्षण र परिपालना राज्यको मुख्य दायित्व भएको हुनाले मेरा लेखहरुको आलोचनाको केन्द्र राज्यका विभिन्न निकायहरु र ती निकायमा रहेका अधिकारीहरु हुने गर्दछन् । राज्यको आलोचना भनेको सुशासनको पक्षमा अकर्षित हुने विषय हो । जहाँ सुशासन कायम हुन्छ, त्यहाँ लोकतन्त्रको संरक्षण हुन्छ । जहाँ लोकतन्त्रको संरक्षण हुन्छ, त्यहाँ मानवअधिकार सुरक्षित हुन्छ । लेख लेखिरहँदा विभिन्न चरित्रका पात्रहरुका बारेमा लेख्नुपर्ने रहेछ ।
मानवअधिकार व्यक्तिसँग जोडिएर आउँछ । व्यक्तिलाई जोडना साथ त्यहाँ पीडक र पीडित स्वतः आउने गर्दछन् । पीडितको पक्षमा वकालत गर्नु मानवअधिकारको मुख्य विषय हो । पीडितको पक्षमा वकालत गर्दा पीडक पक्षधरहरु आक्रमक हुने गर्दछन् । यसरी हुने आक्रमणहरु गालिगलौज, धम्की, अपमान, दुव्र्यवहार मात्र नभएर केही पत्रपत्रिकाको प्रयोग गरी अधिकारका क्षेत्रमा काम गर्नेहरुका वारेमा भ्रम सिर्जना गर्ने समाचार प्रकाशनसम्मका देखिएका छन् । अधिकारका पक्षमा कलम चलाउने लेखकले यी सबै कठिनाइबाट गुज्रनु पर्दोरहेछ । मैले पनि यस्ता अनेकयैं कठिनाइको अनुभुति गरिरहेको छु ।

एउटा लेखकलाई सबैभन्दा बढी गर्व त्यतिखेर लाग्दछ, जतिखेर आफूले कहिल्यै नचिनेको पाठकले खोज्दै आएर हात मिलाउँछ, अंगालो मार्दछ र धन्यवाद भन्दै ‘म तपाईको लेखको नियमित पाठक हुँ’ भनेर सम्मान व्यक्त गर्दछ । दुर–दराजका गाउँहरुमा पुग्दा मैले धेरै पटक यस्तो अवसर पाएको छु । महिला, बृद्ध, बुद्धिजीवी, किसान र न्यायको पहुँचमा नपुगेका नागरिकहरुले मलाई दिएको माया र सम्मान मेरालागी उत्प्रेरणा बनेर आएको छ । एउटा लेखकले आम पाठक र नागरिकहरुबाट पाउने अमूल्य सम्मान, त्यही नै हो । यो सम्मानले नै अझ गहकिलो भएर लेख्न उत्साह सिर्जना गर्दछ ।
मैले केही तीता तर सत्य लाग्ने आलोचना पनि खेपेको छु । जक म मेरो मुख्य क्षेत्रबाट अलिकति तलमाथि भएर लेखहरु लेखेको हुन्छु, मैले तिखो आलोचनाको मुकाविला पनि गर्नुपरेको छ ।

मलाई तिखो आलोचना गर्नेहरुले दलगत रुपमा लेखहरु तयार नगर्न सुझाव दिनु भएको छ । अधिकारकर्मी लेखकले कुनै एउटा दललाई होच्याउने, मानमर्दन गर्ने आसयका लेखहरु नलेख्न दिएका सुझावहरु मेरा लागि महत्वका रहेका छन् । हो, लेखकले समयसापेक्ष रुपमा राजनीतिक विषयहरुमा पनि कलम चलाउनु पर्दछ । किनकि, यो दुनियाँमा राजनीति मात्र यस्तो विषय हो जो मानिसले गर्दिन भन्दाभन्दै पनि गरिरहेको हुन्छ । नजानीकन मानिस राजनीतिमा जोडिएको हुन्छ ।
राजनीतिभन्दा बाहिर मानिस रहन सक्दैन । तर, राजनीतिक दल अर्को कुरा हो ।

दलमा सामेल नभएर पनि एउटा मानिस स्वतन्त्र रहन सक्छ । लेखकले राजनीतिका विषयमा कलम चलाउँदा दलीय स्वतन्त्रतालाई ख्याल गर्न आवश्यक रहेको अनुभूति ममा पलाउन थालेको छ । अबको दुनियाँ सूचना र सञ्चारले तीव्रगति लिएको दुनियाँ हो । सूचना र प्रविधिको विकासले हरेक नागरिकलाई सूचनाको पहुँचमा सजिलै जोडेको छ । यस्तो अवस्थामा एउटा लेखकले कलम चलाउँदा नागरिकको चेतनाको स्तरलाई जाँचेर मात्र लेख तयार गर्नुपर्ने रहेछ । अन्यथा, शब्दहरुको सञ्जाल मात्र भएको लेखलाई पाठकहरुले महत्व दिने रहेन छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here