झापा।
अनौठा घटना र अपराधका नयाँ शैली बढेका छन् । युवतीलाई गुप्ताङ्ग देखाउनेदेखि महिलाका भित्री वस्त्र चोर्नेसम्मको घटना सार्वजनिक भएका छन् । कहीं युवतीको पछाडि बसेर अश्लील व्यवहार गरेको भिडियो सार्वजनिक गर्ने त कतै महिलाको शौचालयमा छिरेर आनन्द लिने घटना पनि भइरहेका छन् ।
सार्वजनिक सवारी साधनमा महिलासँग टाँसिने, एक्लै भएको ठाउँमा काँटीले घोच्ने जिस्क्याउने, ब्लफ कल गर्ने तथा अन्य विभिन्न अश्लील क्रियाकलाप गर्ने घटना पनि सार्वजनिक भएका छ्न् । त्यस्ता अनौठा आपराधिक घटनाले महिलालाई असुरक्षित बनाएको छ ।
एक अनौठो घटना असारको दोस्रो साता काठमाडौँको बनस्थलीको एउटा गल्लीमा भयो । गल्लीमा बसेर बारा कलैयाका ३९ वर्षीय जादुलाल कुर्मीले क्याम्पस पढ्न जाने–आउने छात्रालाई गुप्ताङ्ग देखाएर अश्लील व्यवहार गरे । पीडितहरुको उजुरीका आधारमा पक्राउ परेका उनले प्रहरीसँगको बयानका क्रममा आफूलाई रमाइलो लाग्ने गरेकाले गुप्ताङ्ग देखाउने गरेको बताएका बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले बताए । उनीमाथि पनि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२२ अनुसार सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाएको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
यसअघि सार्वजनिक बसमा एक युवतीको पछाडि बसेर अश्लील व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । यी प्रतिनिधि घटना मात्र हुन् । यस्ता अनौठा अश्लील खालका घटना बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । महानगरीय प्रहरी परिसरले दिएको जानकारी अनुसार सार्वजनिक यातायातमा महिलासँग टाँसिने, महिला देख्ने बित्तिकै अश्लील शब्द बोल्ने, महिलाको शौचालयमा छिरेर आनन्द लिनेजस्ता घटनासमेत भएका छन् ।
परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदी भन्छन् –एकपटक महिलाको भित्री वस्त्र लुकाउने चोर्ने घटना पनि भयो । यस्ता अनौठा प्रकृतिका घटना कहिलेकाहीँ देखिन्छ, यो मानसिक विकृति हो, मनस्थिति गडबडी भएका बेला यस्ता घटना हुन्छन् । कतिपय घटना अभिलेखसमेत हुन नसकेका पनि छन्, महिला देख्ने बित्तिकै उत्तेजित हुने घटना देखिएका छन्– वरिष्ठ प्रहरी उपरीक्षक सुवेदीले बताए ।
अर्को एउटा यस्तै घटना भयो । युवतीमाथि श्रृङ्खलावद्ध काँटी आक्रमण । किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुष्प्रचार हुँदा आम जनमानसमा एक किसिमको त्रास फैलियो । यद्यपि घटना अन्य आपराधिक घटनाभन्दा पृथक खालको थियो ।
रोग सङ्क्रमण हुने डरले पीडितहरु उपचारका लागि शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुुगे । रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की पक्राउ परेपछि भने घटनामा सिरिञ्जको प्रयोग होइन काँटी प्रयोग भएको खुुलेपछि त्रास केही हदमा हराउँदै गएको छ । तर, अहिले पनि कुनै हिँड्दा कसैसँग ठोक्कियो वा कोतरियो भने पनि घोचेर भाग्यो भनेर प्रहरीमा आउने क्रम कायमै रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटी बताउँछन् ।
मिडियाबाट गलत प्रचार भई दिँदा सामाजिक त्रास उत्पन्न भएको उनको भनाइ छ । उनीविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४, परिच्छेद ५ को दफा १०४ मा सामाजिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा, नैतिकता विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको छ । छ महिलाको लिखित उजुरीमा मुद्दा चलिरहेको छ ।
यस्ता घटना प्रायः गरेर अहिलेको पुस्तामा देखिएको नकारात्मक प्रवृत्ति हो– भन्छन् सुवेदी । सामाजिक सञ्जालको दुरुपयोगले पनि घटना बढाउन मद्दत गरिरहेको छ । मनोविद्का अनुसार यस्ता गतिविधि बढ्दै गएमा मान्छे एकोहोरो भएर जघन्य अपराधमा संलग्न हुने या आत्महत्याको बाटो अपनाउनसमेत पछि पर्दैन । पछिल्ला यी घटनाहरु अध्ययन गर्दा उनीहरुले नियतवश योजनाबद्ध रुपमा घटना घटाएको नभई आफ्नो अगाडि एकान्तमा जो देखिन्छ उनीहरुमाथि आक्रमण गरेर मन शान्त पार्ने गरेको देखिएको वरिष्ठ प्रहरी उपरीक्षक सुवेदीले बताए ।
मानसिक रोग विशेषज्ञ डा. सीपी सेढाईं यस्ता घटनाहरु परीक्षण नगरी यसै भन्न नसकिने उल्लेख गर्दै भन्छन् – सामान्यतः मदिरा, लागूऔषध दुव्र्यसनको लत वा वंशाणुुगत तथा कसैकसैमा जन्मैदेखि नकारात्मक भाव पैदा हुने खालका व्यक्तिहरु महिलाप्रति आकर्षित हुने, जिस्क्याउने, ‘ब्लफकल’ गर्ने र अश्लील क्रियाकलाप गर्ने हुन्छन् ।
मेनिया (वाइपोलार डिस् अडर) का कारणले पनि मानिस नकारात्मक क्रियाकलापमा उद्दत हुन्छन् कुनै–कुनै विगतका घटनाबाट असर परेर पनि हुनसक्छ –उनले भने । मनोविद् डा. नरेन्द्रकुमार ठगुन्ना कुनै पनि घटनाबाट असर परेका व्यक्तिमा पनि नकारात्मक भाव पैदा हुने र त्यो बेला उसले आत्मसन्तुष्टिका लागि अश्लील हर्कत देखाउने बताउँछन् ।
उनले यसलाई मनोवैज्ञानिक रुपमा भन्दा यौनसँग सम्बन्धित मानसिक समस्या भएका बताए ।
यौनसँग सम्बन्धित मनोविकृति हो, यस्ता क्रियाकलाप गरेर उसले सन्तुष्टि लिने चाहना राख्छ, लामो समयसम्म भइरह्यो, परिवार सचेत भएन भने कडा खालको मानसिक समस्या उत्पन्न हुन सक्ने र कालान्तरमा अपराध र आत्महत्यासम्मको घटना हुनसक्ने हुन्छ ।
महिला राति एक्लै ननिस्कने, एक्लै नहिँड्ने, एकान्त ठाउँ र त्यस्ता व्यक्तिको जमघट हुने ठाउँमा सचेत हुने, शङ्कास्पद गतिविधि हुने तथा शङ्कास्पद स्थानबारे प्रहरीलाई खबर गरेमा घटनाबाट बच्न सकिने प्रहरीको भनाइ रहेको छ ।