भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच गर्न आफूसँग पूर्वाधार नभएको भन्दै सरकार पछाडि हटेपछि त्यसको विरोध भएको छ।
विरोध गर्नेहरूले जनस्वास्थ्यका लागि विषादीयुक्त तरकारी र फलफूलको आयात रोकिनुपर्ने बताएका छन्।
तर नेपालमा हुने कुल तरकारी खपतको आधाभन्दा बढी हिस्सा यहिँ उत्पादन हुने हुँदा आन्तरिक विषादी जाँचका पूर्वाधार निर्माण समेत अत्यावश्यक भइसकेको विज्ञहरू बताउँछन्।
विषादीको आयात
नेपालमा वर्षमा साढे छ सय म्याट्रिक टन विषादीहरू भित्रने गरेको तथ्याङ्क छ। त्यसरी भित्रिने विषादीहरू १७० प्रकारका रहेका र तीमध्ये दुई तिहाइभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेका छन्।
सामान्यत: विषादीका एक दर्जनभन्दा बढी समूहमध्ये नेपालमा दुईवटा समूह मात्र जाँच्न सकिने प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्मा बताउँछन्।
शर्मा भन्छन्: “कुनै पनि सीमामा हामीले प्रभावकारी जाँच गर्न सक्ने अवस्थामा छैनौँ। देशका सातवटै ठाउँमा भएका प्रयोगशाला एकैखाले हुन्।”
रोग र किराहरू जाँच्ने क्वारेन्टाइन सबै सीमा नाकामा भएपनि विषादी जाँच्ने काम सूक्ष्म ढङ्गले गर्नुपर्ने हुँदा त्यसमा समस्या भएको अधिकारीहरूको भनाइ छ।
तरकारीको छड्के जाँच
केन्द्रीय कृषि प्रयोगशालाले बेलाबखत छड्के जाँचका क्रममा विषादीको प्रयोग पनि जाँच्ने गर्छ। तर ती मुख्य बजारमा मात्र केन्द्रीत हुँदा त्यसको औचित्यमाथि उपभोक्ता अधिकारकर्मीहरूले प्रश्न उठाउने गरेका छन्।
काठमाण्डूको कालिमाटी तरकारी बजारमा विसं २०७१ देखि २०७६ जेठ १५ सम्म गरिएका ७,४४३ नमुना परीक्षणमा ६४ वटा खान अयोग्य पाइएको र ३५ वटा क्वारेन्टाइनमा पठाइएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका प्रमुख कान्चनराज पाण्डे भन्छन्, “सङ्कलन गरेर ल्याइएका तरकारी काठमाण्डू आइपुग्दा कहाँबाट आएको हो भन्ने थाहा हुँदैन। जसले गर्दा कारबाहीको प्रक्रियामा जान गाह्रो छ।” केरा वा आँप पकाउने र गोलभेँडा रातो बनाउने क्याल्सियम कार्बाइडजस्ता विषादी प्रतिबन्धित भए पनि खुला सीमामार्फत् नेपाल भित्रने गरेका बताइन्छ।
अक्सिटोसिनजस्ता विषादी नेपालभित्र तरकारीको आकार बढाउन व्यापक प्रयोग भएको पाइए पनि त्यसको जाँच गर्ने क्षमता सरकारसँग छैन।
‘विषादी नराम्रो मात्र होइन’
नेपालमा अझै पनि धेरै कृषकहरूले विषादीको मात्रा र त्यसको अवधिबारे पूर्ण रूपमा जानकार नहुँदा समस्या देखिने विज्ञहरू बताउँछन्।
“विषादी राख्नै नहुने भन्ने होइन,” कृषि तथा वन विश्वविद्यालयकी प्राध्यापक कल्याणी मिश्र भन्छिन्। “नेपाललाई अर्ग्यानिक पकेट क्षेत्रका रूपमा विकास गर्न नसक्दासम्म विषादीको सही प्रयोग आवश्यक छ। अहिलेको विषय भनेको सुरक्षित फलफूल र तरकारीको हो।”
व्यवसायिक तरकारी खेती हुने ठाउँमा नियमन र सचेतना फैलाउन सक्दा आन्तरिक रूपमा विषादीको समस्यासँग जुझ्न सकिने विज्ञहरूको भनाइ छ।-बीबीसी नेपाली