लागूऔषधको सेवन र भुसको आगो

0
837

लागूऔषधको सेवन अब हाम्रा लागि गम्भीर समस्याका रुपमा देखिन थालेको छ । यसको सेवनकर्ता बढेसँगै विभिन्न नामका लागूपदार्थको अवैध आयात अर्थात् तस्करी हुँदा यसले झन् ठूलो समस्या निम्त्याउन थालेको अनुभव गरिँदैछ । खासगरी बजार, शहरउन्मुख र शहरी क्षेत्रमा सबै उमेर समूहका मानिस यसको लतमा पर्दै गएका छन् । यसले मानिसलाई सेवा–सुविधा र सुखभोग गर्ने लालसाको पछि लागेर अमूल्य जीवन र भविष्य अन्यौलपूर्ण बनाउँदैछ भन्ने देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले लागूपदार्थको दुव्र्यसन र कारोबारका सम्बन्धमा तथ्यांक सार्वजनिक गर्दै अहिले नाबालकहरु पनि यसबाट अछुतो हुन छाडेको जनाएको छ । प्रहरीले सार्वजनिक गरेको तथ्यांकले एक वर्षको अवधिमा झापामा मात्रै एक सय छयासी जना लागूऔषधसँग जोडिएका मुद्दामा पक्राउ परेका छन् । त्यही एक वर्षको अवधिमा झापामा मात्रै दश लाखभन्दा बढीका लागूऔषध बरामद भएको छ । बरामद गरिएका औषधिहरुमा डाइजेपाम, लुपिजेसीक, फेनारगन, नाइट्रोजन, ब्राउन सुगर, गाँजा लगायत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये सत्र जना नाबालक र पन्ध्र जना महिला समेत रहेका छन् । यही अवधिको अघिल्लो आर्थिक वर्षमा प्रहरीले एक सय अस्सी जनालाई पक्राउ गरेको थियो । यसले हाम्रो बानी, दुव्र्यसनको प्रवृत्ति र जीवनचर्या क्रमशः पतनोन्मुख हुँदैछ भन्ने संकेत गरेको छ ।

दुव्र्यसन र प्रवृत्तिभित्रको अझ जटिल विषय हो यसतर्फ नाबालकहरुलाई प्रयोग गर्नु । उनीहरु वर्तमानका बारेमा सचेत हुन र भविष्यका बारेमा गम्भीर हुन सक्दैनन् । त्यसैले कारोबारीहरुले क्षणिक लाभ दिएर वा प्रलोभनमा पारेर गैरकानूनी र अस्वस्थ बाटोमा हिँड्न पुग्छन् उनीहरु । जहाँ चेतना विस्तार भएको हुँदैन, गरिबीमा बाँच्नुपर्ने बाध्यता रहन्छ अथवा देखासिकीमा रमाउने चाहना बढ्छ त्यहाँ यस्ता गैरकानूनी र समाजविरोधी गतिविधिहरु फस्टाउँछन् । त्यही कारण हो कि हाम्रो जस्तो आर्थिक एवम् चेतनाको दृष्टिले पछि परेको देश वा क्षेत्रहरुमा लागूपदार्थको सेवन व्यसन बनिएको छ र व्यापार समृद्धिको बाधक बनिएको छ ।

साथीभाइको लहैलहैमा वा दवाव, भोगाइबाट विरक्ति, उदासिनता, उत्सुकता र असफलता लगायतका कारणले लागूपदार्थको शरणमा पुग्नेहरु थपिँदैछन् । कतिपय अवस्थामा आमा–बाबुले कर्तव्य पूरा गर्न नसक्दा कम उमेरमै छोराछोरी बाटो विराउन पुगेका उदाहरणहरु छन् । अझ अहिले छोरा–छोरी छाडेर सुख र ऐश्वर्य खोज्ने आमा–बाबुका कारण पनि लागूपदार्थको सेवन व्यसनमा परिणत हुन थालेको छ । यी र यस्ता कारणले समस्याका रुपमा विकास हुँदै गएको लागूपदार्थको सेवन र कारोबारले देशको भविष्य धुमिल बन्दैछ ।

लागूपदार्थको सेवन प्रयोगकर्ताका लागि मात्र होइन, उसको परिवार समाज र सिङ्गै देशका लागि दीर्घकालीन समस्या हो । भुसको आगो सरह फैलिएको यसले हाम्रो भविष्य अन्यौलग्रस्त बनाउँदैछ । यसलाई रोक्न राज्यका जिम्मेवार अङ्गको इमान्दार भूमिका आवश्यक छ । विद्यालयीय पाठ्यपुस्तकदेखि अहिले बदलिँदै गएको समाज व्यवस्थामा नैतिक शिक्षाको खाँचो छ । बाल्यावस्थादेखि नै नैतिकता, चरित्र, आदर्श, सद्भाव, प्रेम र हार्दिकताको भाव जाग्रत गराउन संयुक्त पारिवारिक ढाँचाले समेत सहयोग पु¥याउँछ । त्यसैले हामी सबै मिलेर स्वस्थ, शान्त र समृद्ध परिवार, समाज निर्माण गर्न पुर्खाकै अनुशरण गर्ने गरी पछि फर्किनुपर्ने अवस्था आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here