चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, विश्वबजार तरंगित

0
1101

वासिङ्टन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन् ।

चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिएका छन् ।

अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ अर्थात् यो निर्णयबाट दुवै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ ।

यसअघि नै अमेरिकाले करिब २५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ ।राष्ट्रपति ट्रम्पले ‘ह्वाइट हाउस’मा पत्रकारहरुसँग भने–‘अहिलेको १० प्रतिशत पनि छोटो अवधिका लागि हो र यो बढ्ने वा घट्ने कुरा चीनमा निर्भर छ । विश्वसनीय सम्झौता नभए यसलाई २५ प्रतिशतसम्म बढाइनेछ ।’

चीन र अमेरिकाबीच यसै साता सांघाइमा प्रत्यक्ष व्यापार वार्ता पुनः सुरु भएको छ । अर्को चरणको वार्ता वासिङ्टनमा सेप्टेम्बरको पहिलो साता हुनेछ ।

‘आसियान’ बैठकमा भाग लिन हाल बैंककमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले ‘आर्थिक तथा व्यापारिक समस्या सुल्झाउन करवृद्धिको अस्त्र रचनात्मक समाधान होइन’–भने । चीनले अमेरिकी निर्णयको प्रतिवाद के–कसरी गर्नेछ भन्ने स्पस्ट भएको छैन ।

तर, चीनले हालै अमेरिकी प्रविधि उद्योगका लागि अतिआवश्यक सामानको निर्यातमा कडाइ गर्ने वा रोक्ने तथा अमेरिकी कम्पनीलाई कालोसूचीमा राख्ने संकेत दिएको थियो ।

ट्वीटरमार्फत् आफ्नो निर्णय सार्वजनिक गरेका राष्ट्रपति ट्रम्पले अमेरिकाबाट ठूलो परिमाणमा चीनले अमेरिकी कृषिजन्य सामान खरिद गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यसो नगरेको भन्दै आक्रोश पोखेका थिए ।

राष्ट्रपति ट्रम्पले भनेका छन्–‘त्यसबाहेक, मेरा मित्र राष्ट्रपति सीले संयुक्तराज्य अमेरिकामा फेन्टानाइल (लागुपदार्थ) बिक्री रोक्ने बताउनुभएको थियो । तर, त्यो कार्यान्वयनमा कहिल्यै आएन । त्यही फेन्टेनाइलका कारण धेरै अमेरिकीहरुको ज्यान जाँदैछ ।’

अमेरिकी पछिल्लो निर्णयसँगै विश्वबजार तरंगित भएको छ । वाल स्ट्रिट, डाउ जोन्स, सिंगापुर, हङकङ र टोकियोसमेतका प्रमुख सेयरबजारहरुमा कारोबार घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here