पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषित

२६ श्रावण २०७६, आईतवार मा प्रकाशित

भोजपुर ।

जिल्लाको पूर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिका–५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो ।

साविकको याकु गाविस रहेको यस वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रमबीच पूर्वसंविधानसभाका सदस्य लोकमणि ढकालले प्रदेश नं १ मै पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्नुभएको हो । आर्थिक वर्ष २०७५÷७६ मा ६१ महिलाले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएको याकु स्वास्थ्यचौकीका प्रमुख भोजराज भण्डारीले बताउनुभयो । त्यसमा ५ नं वडाभित्रका मात्र ३७ गर्भवतीमध्ये ३६ जनाले यही स्वास्थ्य संस्था र बाँकी एक जनाले धनकुटा अस्पतालमा गएर प्रसूति गराएका थिए ।

कार्यक्रममा अरुण गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्की, उपप्रमुख बिनिता ढकाल, महिला स्वास्थ्य स्वंसेविकालगायत सरोकारवालाको उपस्थिति थियो । प्रमुख कार्कीले गाउँपालिका क्षेत्रका महिला तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि आफूहरूले विशेष योजना बनाएर काम गर्ने बताउनुभयो । गाउँपालिकाले आफ्नो क्षेत्रमा सुत्केरीलाई कुखुराको भाले, चामल, ज्वानो, केही रकमसहितको प्याकेज पनि दिँदै आएको छ ।

दक्ष जनशक्ति, भौतिकलगायतका उपचारका चाहिने सामग्री उपलब्ध भएका कारण विगत १० वर्षदेखि भोजपुरको याकुस्थित स्वास्थ्य संस्था जिल्लामै नमूना स्वास्थ्य संस्थाको रूपमा परिचित छ । यसले पटक–पटक जनताको स्वास्थ्य उपचारमा राम्रो काम गरेको भन्दै पुरस्कारसमेत पाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here