हराएको न्याय

७ भाद्र २०७६, शनिबार मा प्रकाशित

तुलसीराम खरेल,

देशका ख्याती प्राप्त एक नेता थिए भूमिनाथ । कुनैबेला भूमिनाथले गरेको भाषण सुन्न मानिसहरु धेरै टाढाबाट आउँथे। मानिसलाई भाषण गरेरै जुरुक–जुरुक उचाल्न सक्ने खुवी उनमा थियो । लामो गृहयुद्ध र द्वन्दकालमा उनका आसेपासेहरुले धेरै ज्याजती गरे । राज्य पक्षले समेत शंकाकै भरमा धेरै सर्वसाधारणलाइ बर्बर आक्रमण गर्ने काम भयो । द्वन्द्वको चपेटामा परेका धेरै सर्वसाधारण मारिएका, बेपत्ता पारिएका र बिस्थापित भएका थिए ।

मानिसहरुले द्वन्द्वको समाप्तीपछि शान्तिको स्वास फेरेर बस्न चाहे । तिनका आशाका पखेटाहरुले क्षतिज पारीको गाउँमा बतासिन जानिसकेका थिए । त्यसपछि बनेको जनताको सरकारबाट धेरै आशा गरेका थिए मानिसहरुले । तर, जे कुरामा पनि हाम्रा को खोजी भयो । राम्राको होइन् । चेलीबेटी बेच्ने, जंगल मास्ने, ठेकेदारी गरेर करोडौँ झ्वाम पारेर कामै नसक्ने, गफ मात्रै गर्ने, भूमाफीयाहरुसँग मिलेमतो गरेर सार्वजनिक जग्गा व्यक्तिको नाममा मिलाउने, युवालाई बिदेशी श्रम बजारमा बेचेर कमीसन खाने सबै बेथितीहरुमा भूमिनाथ लगायतका केही नेतागण र उनका आसेपासेकै हात रहन थालेको देखिन्थ्यो । भूमिनाथले खोला नै नभएको ठाउँमा पुल बनाउने प्रतिज्ञा गरेको मानिसले सुने । भोका मानिसलाई खाद्यान्न र कपडा बाँड्ने, घर र जग्गा बाँड्ने, रोजगारी दिने कुराहरु उनका मुखबाट बारम्बार निस्कन्थे । तर, काम केही हुन्न थियो । मानिसहरु अवाक थिए ।

बिदेशी भूमिमा बेचिएका युवाको आवाज कविले टपक्कै टिपे, बेच्ने गिरोहको खोजी गरे । बिदेशी कोठीहरुमा बेचिएका दीनहीन चेलीहरुलाई उद्धार गरे । संलग्न अपराधीलाई टेलिभिजनमा नाङ्गे झारै पारे । वैदेशिक रोजगारमा गएकाहरु, बेचिएकाहरु, हेपिएकाहरु, लुटिएकाहरु, द्वन्द्वको चपेटामा परेकाहरुका आशाका केन्द्र बन्न थालेका थिए कवि । ठग नेतागण र भ्रष्टाचारका आरोप लागेकाहरु उनका विरुद्धमा केन्द्रीत हुन थालेका थिए । कतैबाट न्याय नपाएकाहरु कवि सरको मा पुग्न थाले ।

हो उनी एक होनाहार पत्रकार ‘कवि नेपाल’ थिए । उनको पत्रकारिताले सामाजिक अन्याय, भ्रष्टाचार, दूराचार, ब्यभिचार, हत्या, बलात्कारका कैयौँ लुकेका रहस्यहरु फेला पारेको थियो । यस्ता कुराले उनलाई जनप्रियताको चुचुरोमा पु¥याएको थियो । यसले धेरै पत्रकार, नेता तथा उच्च पदस्थ कर्मचारीलाई अप्ठेरोमा पारेको हुन्थ्यो । उनले टेलिभिजनमा देखाएका दृष्यहरु र न्याय प्रदान गरेका मानिसहरुको आवाजले कवि पनि ठूलै सेलिब्रेटी बनिसकेका थिए । न्याय मर्दै गएको देशका दीनहीनहरुको बिश्वास बढ्दै गइरहेको थियो । लाखौँको संख्यामा बैदेशिक रोजगारीमा जाने युवाहरुले भोलि अप्ठेरो भयो भने न्याय पाउनका लागि कवि नै चाहिन्छ भनेर उनको युनिटको मोबाइल नम्बरहरु लिएर जाने गर्दथे ।

एकीकृत नेपाल बन्नु पूर्व गोरखामा राम शाह भन्ने राजा थिए । उनको न्याय राजा रामको जस्तो थियो । उनी लिगलिगकोटमा दौडेर राजा भएका द्रब्य शाहका पनाति थिए । द्रब्य शाहले घलेहरुको राज्य आफूले प्राप्त गरेका थिए । कुनै युद्धको जरुरी भएन, न त कसैले खुशी भएर नै राज्य बक्सिस दिएका हुन उनलाई । राजा छान्ने दौड्मा युवक द्रब्य शाहले आफू पनि भाग लिने सोचे । दौडको दिन घलेहरु एवम् अन्य रैथाने युवाहरु तिघ्रामा घ्यू लगाएर प्रतिस्पर्धाको चुनौतिमा थिए । तर, कसैले नसोचेको घटना भयो । युवक द्रब्य शाह चेपे नदीको किनारबाट लिगलिगकोट पुग्ने पहिलो ब्यक्ति बने ।

बाजा बजे, मानिसहरुले खुसी प्रकट गरे, नयाँ राजाको भब्य स्वागत गरियो । चितरौढगढमा लामो बसोबास गरेका कुलमण्डन खानबाट शाहमा रुपान्तरित भएका थिए । उनको शाह पद्वीसँगै बाग्मतीको किनारैकिनार उनी पशुपति आएर दर्शन गरे । आफ्नो परिवार बसाउन हिम्मत खण्डको मध्य नेपालको पहाडी बस्तीलाई नै उनले छाने । द्रब्य शाह आफ्ना पुर्खाको वीरता र आँटको खुबै चर्चा गर्दथे । कुलमण्डन, यशोब्रह्म्हा उनले गर्व गर्न लायकका पात्र सम्झन्थे ।

राम शाहको न्याय प्रणाली उस बेलाको समाजमा खुब चर्चाको केन्द्र बनेको थियो । उनको राज्यमा कसैले भोको बस्नु नपरोस्, कसैले पीडित बन्नु नपरोस् भन्ने कुरामा नै उनको ध्यान गएको देखिन्थ्यो । पुरन्दर शाहले सानैदेखि नाति राम शाहलाई संस्कारयुक्त बनाएका थिए । छत्र शाहले छोरालाई अझ परिस्कृत बनाए । हिन्दू परम्परा अनुसार आफूले राज्य त्याग गरेर चौथो आश्रम अपनाई छोरालाई राज्य सुम्पेर आफूले दरबार त्याग गर्नु गर्वको कुरा सम्झन्थे ।

राजा सबका साझा भन्थे सबैले । राजा दुष्ट, दुराचारी, ब्यभिचारी हुँदैनन् भन्ने आम मानिसमा विश्वास थियो । उनले नेपालको प्राचीन एवम् मध्यकालीन इतिहासको राम्रो अध्ययन गरेका थिए । लिच्छवी कालमा अन्तरासन परमासनहरुको स्थापनाको उद्देश्य र तिनीहरुको महत्वबारे राम शाहले गतिलो अध्ययन गरेका थिए । कुथेर, सुल्ली, लीग्वल र मापचोक जस्ता अड्डाहरुले जनतालाई न्याय दिन्थे । त्यसैले होला लिच्छवीकाललाई नेपालको स्वर्ण काल समेत भनिन्छ । राम शाहको समयमा गोर्खामा जनसंख्या पनि त्यति औधी थिएन । उनी न्याय सम्पादनमा अति नै चनाखो थिए । उनी रत्तिभर पनि डगमगाउन्नथे । त्यसैले भनिन्थ्यो ‘न्याय नपाए गोरखा जानु खोज्न ।’

त्यो देशमा फेरि पनि न्याय हराउन थालेको थियो । पवित्रा, कविता, निर्मला, गोमा र राधाहरुलाई बाल्यकालमै बलात्कार गरियो । कतिलाई त्यसपछि हत्या गरियो । राम प्रसाद, पवनकुमार, रघुनाथ, लक्ष्मण, तिवारी काकाको कान्छो छोरो रुद्रे आदि–आदिहरुको कम्मरमाथि चिरेर किड्नी निकालेर बेचिएका थिए । सगरमाथा जस्तो उच्च शीर बनाएर धर्तीमा हिँड्ने संकल्प बोकेका र चरम गरीबीबाट छुटकारा पाउन रामकुमार, भुपेन, जीवन, सोमनाथ, दागो मेचे, सलमान शेख, पर्वत राई, बिकाश गुरुङ, सीमा खरेल जस्ता विदेशमा पुगे । गएकाहरु कुनै न कुनै रुपमा पीडित बनिरहेका थिए । उनीहरु मध्ये धेरै जनाको लास नेपालको एयरपोर्टमा दिनहुँजसो बाकसमा प्याक गरेर आइरहेका देखिन्थे । देशभित्र पनि न त हत्यारालाई कार्वाही हुन्थ्यो न त भ्रष्टाचारीलाई ।

यस्तै परिवेशको बीच एउटा हृदयबिदारक घटना घट्यो । त्यस घटनामा पत्रकार कवि नेपाललाई समेत दोष लगाइयो । आम मानिसहरुले कविलाई लगाइएको दोष रोसपूर्ण र फसाउन गरिएको षडयन्त्रको रुपमा मानेर हेर्न थाले । स्वतःस्फूर्त मानिसहरुको जुलुश सडकमा देखा प¥यो । दिनका दिन मानिसहरु सडकमा निस्कन थाले । धेरैका आशाका केन्द्रको रुपमा कवि उदाइसकेको कुरा कसैबाट पनि छिप्न नसकेको छताछुल्ल भयो । ‘राजनीति जब गन्हाउन थाल्छ अनि आशालाग्दो अर्को व्यक्तिको खोजी हुन्छ ।

कवि लामो अन्तरालमा देखापरेका आशाका केन्द्र हुन ।’ एकजना व्यक्ति सडकमा एक हुल मानिसको अघि चिच्याइरहेका थिए । ‘मेरा लोग्ने विदेशमा छन् । उनलाई मेनपावरले झुक्याएर अर्को ठाउँमा कम ज्यालामा पठायो वा बिदेशमा शोषण भयो भने म कविदाइलाई भन्छु उनले न्याय गर्छन् ।’ यो अर्की एक गृहिणीको आवाज थियो । धेरै मानिसहरु प्रहरीबाट छानविनको क्रममा समातिएको कविलाई बिना शर्त छाडिनुपर्छ भन्दै थिए । कोही भूमिनाथले फसाएकोले भूमिनाथ मुर्दावाद भन्दै थिए । कोही बढी जान्ने हुन खोज्या कवि ठिक्क प¥यो भन्दै थिए । तर, दिनकादिन गाउँ–गाउँबाट न्यायप्रेमी मानिसहरु कविको समर्थनमा निस्किरहेका थिए । छानविनको क्रममा कविलाई प्रहरीले लैजान पाउँछ । तर, उनको गैर न्यायिक हत्या पनि हुन सक्छ भनी मानिसहरु भन्थे । कोही मानिस यो हुलहुज्जतले अनुसन्धानलाई प्रभावित पार्छ भन्थे । ठूलो संख्या कविकै पक्षमा सडकमा निस्के पनि समाज विभाजित बन्दै गएको थियो ।

सर्वेश्वर हजुरवा चौतारोमा बसेर एक दर्जनभन्दा बढी ज्येष्ठ नागरिकहरु र केही युवाहरुलाई आफ्नो अनुभव सुनाउँदै थिए । न्याय एउटा प्रणालीवाट दिइनुपर्छ व्यक्तिबाट होइन् ।’ न्याय नपाए गोर्खाजानु खोज्न’ प्राचीन समयको स्लोगन ‘न्याय नपाए कविलाई खोज्नु’ मा परिवर्तन भइरहेको रहस्य खोले । उनले आफ्नो देशको न्याय प्रणाली हराइसकेको बताइरहेका थिए । ‘राम शाह एक व्यक्तिको तजबिजमा न्याय प्रदान पक्कै हुने गरेको थिएन । उनी भन्दै थिए ‘यहाँ न्यायपालिकामा न्यायमूर्तिहरुको राजनीतिक नियुक्ति हुन्छ । विश्व बिद्यालयका उच्च प्राज्ञिक पदहरु दलका भागबण्डामा पजनी गरिन्छ । यस्तो देशमा न्याय अपहरणमा पर्छ । अनि आम मानिसमा राज्यले सही न्याय दिन सक्छ भन्ने कुरामा बिश्वास गुम्दै जान्छ । ‘सर्वेश्वर हजुरबा एकहोरो बोलिरहेका थिए । चौतारोमा मानिसहरुको उपस्थिति बाक्लिसकेको थियो । धेरै ज्येष्ठ नागरिकहरु र युवाहरु उनको अनुभवयुक्त कुराहरु एकोहोरो सुनिरहेका थिए ।

भूमिनाथ धेरै विवादमा आइरहने नेतामा पर्दथे । कवि घटनामा उनले शुरु मै प्रतिक्रिया दिए । अनि उनी धेरैका आँखाका कंसिगर बन्न थाले । यही कारण भीडले उनलाई धेरै आरोप लगाए । उनी प्रति अविश्वास गर्न थाले र घटनाहरुमा उनको संलग्नताका शंकाहरु गर्न थाले । समाजको गतिशील रुपान्तरणलाई नजरअन्दाज गर्न खोज्नु र आफ्नो स्वार्थ अनुसारको न्याय प्रणाली स्थापना गर्न खोज्नु नै मानिसहरुको असन्तुष्टिको प्रमुख कारण हुन्छ भनी बारम्बार सर्वेश्वर हजुरबा भनी रहन्थे । हजुरबाले अर्को दिन धेरैजनाको अगाडि मनको कुराहरु भनी दिए । उनले भने– ‘अब देशमा भूमिनाथहरु जस्ता ठग नेतालाई जिताउनु हुँदैन । दल होइन बिकासप्रेमी उम्मेद्वार रोज्नुपर्छ ।

दलहरुमा इमान्दार मानिसलाई पार्टीको माथिल्लो पदमा पु¥याउनुपर्छ । हराएको न्याय प्रणाली स्थापित गर्नुपर्छ । पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा राख्नैपर्छ र धेरै कवि जस्ता पत्रकार जन्मनुपर्छ । योग्य मानिसलाई उसको क्षमता सुहाउँदो स्थानमा लगिनुपर्छ । प्राकृतिक स्रोतको सही सदुपयोग गर्नुपर्छ । अनि सबैलाई विश्वासमा लिएर बिकासको मूल फुटाउनुपर्छ । यत्ति गरे मानिसले स–साना कुरा कै लागि सडकमा आउनै पर्दैन । अनि कवि नै सबैकुरा हो भन्ने भावना नै पलाउन पनि पाउँदैनन् । राज्यप्रति विश्वास बढ्छ । राम शाह र महेन्द्र मल्लको पालाको न्याय तथा पपुलारिटी पुनः प्राप्त हुन्छ ।’ सर्वेश्वर हजुरबाको उक्त कुरा सुनेर सबैजनाले ताली बजाएर हजुरबाको समर्थन गरे । सडकमा ‘कविदाइ हाई हाई’ भन्ने नारा घन्किरहेको सुनिन्थ्यो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here