म किन सहाराको सदस्य भएँ ?

२९ भाद्र २०७६, आईतवार मा प्रकाशित

 


कुमार भट्टराई

उरन्ठ्याउलो उमेर थियो सोह्र–सत्रको । भर्खर एसएलसी दिएको थिएँ । सिनेमाहल (टोलको नाम, जहाँ पहिला पारस टाकिज थियो) वरिपरिका मेरै उमेरका साथीहरु मात्र पनि अठार–बीस जति थियौं । डाइस खेलाउने, अरुको फलफूल चोरेर खाने, पारस खाडीमा पौडी खेल्ने, माछा मार्ने, तास खेल्ने, नयाँ फिल्म आउने बित्तिकै हेर्नै पर्ने, पढ्नमा ध्यान नदिने खालको अति राम्रा बानी भएकाहरु नै थियौं हामी सबै । त्यसैले मन मिल्थ्यो सबैको ।
किशोर लहड थियो, एक दिन भेला भयौं र संगीतको गोरेटो नाम राखेर एउटा समूह बनयौं । त्यसले दशैंको दुर्गा पूजा ग¥यौं त्यही चोकमा । सहयोग माग्यौं । उठेको सहयोगबाट पैसा बच्यो । त्यो पैसाले विजुलीका पोलहरुमा प्रत्येक घरबाट विजुली तानेर बत्ती झुण्ड्यौं । गाउँ झलमल भयो । हामी त एकाएक गाउँमा सबैको प्यारो भयौैं । त्यो दिन लाग्यो– सबैको प्यारो हुन त सबैलाई प्रत्यक्ष फाइदा पुग्ने काम पो गर्नुपर्ने रहेछ । जीवनका लागि एउटा मार्ग मिल्यो ।
त्यतिखेरै वातावरण संरक्षण समूह नामको एउटा संस्था पनि खुलेको थियो । जसमा कृष्ण धराबासी, कृष्ण बराल, दीपक ढकाल, दीपकसेन भट्टराई लगायत अग्रज दाइहरु हुनुहुन्थ्यो । त्यो संस्था एकाएक ठूलो सामाजिक काम गर्ने संस्था बन्यो । त्योसँगै वातावरण बहुउद्देश्यीय सहकारी समेत संचालनमा आयो । यो संस्थाको काम देखेर नेपाल सरकारले पहिलो पटक वातावरण पुरस्कारद्वारा यो संस्थालाई सम्मानित ग¥यो ।
त्यति नै बेला तत्कालीन अर्जुनधारा गाविस– ६ मा अर्को एउटा संस्था थियो– ……. । केहीपछि त्यो संस्था टुक्रिएर दुई वटा बन्यो भन्ने सुनेको थिएँ मैले । जसबाट टुक्रिएर महेन्द्र गिरी लगायतको समूहले सहारा नेपाल भन्ने संस्था गठन गरेको सुनें । हाम्रो घर धेरै जनाको भेला हुने ठाउँ जस्तै थियो । त्यसैले कुनै पनि सूचनाका लागि बाहिर जानु पर्दैनथ्यो । आगन्तुकहरु र दाजुबीच भएका कुरालाई ध्यान दिएर सुन्यो भने थुप्रै सूचना र योजनाहरु सुन्न पाइन्थ्यो ।
संगीतको गोरेटो टेकेर मैले थुप्रै सामाजिक कामहरु सिक्ने मौका पाएँ । बिग्रदै गरेको उमेर समूहका साथीहरु सही मार्गमा आयौं । समाजमा गुम्दै गरेको विश्वासहरु समेट्दै ल्यायौं । सम्मान गर्नुपर्ने अभिभावकहरुको मार्गदर्शन पाउन थाल्यौं ।
सहारा नेपाल भनेको महेन्द्र गिरी मात्र हुन् भन्ने लाग्थ्यो ऊ बेला नै । किनकि उनी नै सबैभन्दा बढी सक्रिय थिए त्यो बेला । वातावरण समूहमा आउने, सहकारी सम्बन्धी जानकारी लिने, दाइहरुसँग संस्थाका लागि सरसल्लाह गर्ने, विभिन्न गतिविधिमा उनलाई अगाडि देखिएकाले उनको अगुवाइमा सो संस्था अगि बढ्दैछ भन्ने बुझेको हुँ ।
केही समयपछि म पढ्न काठमाडौं गएँ, केही बर्ष बसेर फर्किएँ । यसबीचमा सहारा नेपालले छुट्टै पहिचान र उचाइ बनाइसकेको थियो । सहारा नेपालको गैरसरकारी संस्था र सहकारी दुबै तर्फको काम अति प्रशंसनीय थियो । यो संस्था सहकारी मात्र थिएन, समाजिक काममा अगाडि थियो । मान्छेहरु संस्थाले गरेको सामाजिक कामको कारण यो सँग जोडिन लालायित हुन्थे । अर्थात् सहारा नेपालले सहकारी मार्फत धेरै ठूलो–ठूलो काम गर्छ भन्ने कुरा त मैले धेरैपछि मात्र थाह पाएको हुँ ।
वातावरण संरक्षण समूह र सहकारी विभिन्न कारणले फस्टाउन सकेन । जुन संस्थाको सदस्य हुनका लागि लाइनमा बस्नु पथ्र्यो, मैले पनि सदस्यताको आवेदन दिएको धेरैपछि मात्र सदस्यता पाएको थिएँ । वातावरण डुब्यो, सकियो, कहिल्यै नउठ्ने गरी । पानीको फोका जस्तै भयो । पानीसँगै उम्रियो र पानीसँगै म¥यो । तर सहारा नेपाल मरेन, जागेको जागेकै ग¥यो । सहारा नेपाल जाग्नुमा कसैले त निरन्तर लगनशीलता देखायो नै होला ।
रहरले संघ–संस्थाहरु जन्मने र मर्ने भइरहन्छन् । केही समय रहरले चल्छ, तर रहरले मात्र सधैं साथ दिंदैन । जब व्यावहारले र आधारभूत आवश्यकताले गाँज्न थाल्छ, मान्छेले परिवारलाई महत्व दिन थाल्छ । त्यसपछि बनिएका संस्थाहरु धर्मराउन थाल्छन् । धेरै समाजिक संस्थाहरुको आयु पानीको फोका जस्तै नै हुन्छ । संस्थाको लक्ष्य–उद्देश्यको सपना देख्ने मान्छे पलायन भएसँगै संस्थाहरु मुर्झाउँछन् ।
संघ–संस्थाहरु अर्थबेगर चल्दैन । झापा जिल्लाभित्र मात्रै जिल्ला प्रशासनमा दर्ता भएका सामाजिक संस्थाको संख्या गणना गर्ने हो र ती सबै सक्रिय हुने हो भने सरकार नहुँदा पनि समाज चल्छ जस्तो लाग्छ । तर बहुसंख्यक नवीकरण नभएर सकिएका छन्, त्यसको एउटै कारण हो– अटिट गर्ने र नवीकरण गर्ने शुल्क नहुनु । अर्थात् सामाजिक काम गर्ने जनशक्ति भएर मात्र हुँदैन रहेछ, संस्था चलाउनु, त्यसको लागि हरेक पाइलामा आवश्यक पर्ने अर्थले पनि ठूलो अर्थ राख्ने रहेछ ।
सहारा नेपाल गैरसरकारी संस्था र सहकारी दुबै तर्फ आफूलाई आर्थिकरुपमा सवल र सक्षम पार्दै गएको सबैले बुझ्न थालेका थिए । सहारा नेपालको सदस्य भए वापत् त्यसबाट प्राप्त हुने प्रतिफलको लोभले धेरैलाई छोयो, मलाई पनि छोयो । आर्थिक रुपमा कमजोर रहेको अवस्थामा आफ्नो स्वास्थ्यदेखि मरिमराउसम्मको सुरक्षा सहाराले गर्छ भन्ने बुझेपछि मलाई पनि त्यसको सदस्य हुन मन लाग्दै गयो । तर त्यसभित्र सदस्य हुने मार्ग थिएन ।
सहाराको सदस्य हुनेहरुले परिवारको एक र नजिकको साथी एक गरी दुई जनाको सदस्य बिस्तार गर्न पाउने भन्ने योजना ल्याएको रहेछ । मेरी दिदी सहाराको सदस्य हुनुहुन्थ्यो । दिदी मार्फत म पनि सदस्य भएँ । सदस्यको लागि आवश्यक पर्ने झण्डै पैंसठ्ठी हजार रुपैयाँ मैले सापटी लिएर नै त्यहाँ हालेको थिएँ ।
त्यसपछि संस्थासँग नजिक भएर त्यसको अवलोकन गर्ने अवसर जु¥यो । लागिरहन्थ्यो– मैले सापटी लिएर हालेको पैसा कतै हराउने त होइन ? धेरै सहकारी संचालकहरु संस्था डुबाएर भागेको समाचार सुनिरहेको बेला यति धेरै पैसा उठाएर यसका संचालक भाग्ने त होइनन् ? सहारामा मैले चिनेको मूल अनुहार त महेन्द्र गिरी मात्र थिए । उनको विश्वासले मैले त्यहाँ लगानी गरको थिएँ ।
उनलाई विश्वास गर्नुपर्ने केही कारणहरु थिए र छन् । मान्छेमाथि विश्वास गर्नका लागि उसको पछिल्लो जीवन पढ्न आवश्यक छ । उसले निर्वाह गरेको भूमिका, उसको सोचाइको स्तर र उसको महत्वाकांक्षा । आफूभन्दा उमेरले पाँच–सात बर्ष जेठा महेन्द्र गिरीलाई मैले चिनेको अवस्थामा सामाजिक युवाको रुपमा चिनेको थिएँ । उनको आधारभूमी पैसा कमाउनेभन्दा पनि समाजमा दुःख पाएकाहरुका लागि केही फरक गर्ने पाएको थिएँ । अर्थात् उनीमाथि विश्वास गर्दा मेरो सपनाहरु पनि उनी मार्फत् प्रयोग हुन्छ लागेरै सहाराको सदस्य भएँ ।
सदस्य भएपछि केही बर्ष डर लागिरह्यो । तर यतिखेर आएर डर हरायो । किनकि मैले लगानीको गरेको प्रतिफल संस्था मार्फत मैले प्राप्त गरें । मलाई लाग्थ्यो– समाजमा केही राम्रा काम हुन्, जसमा मेरो पनि भावनात्मक सहयोग रहोस् । आज सहारा मार्फत भएका सामाजिक कामहरुको फेरिस्त लामो भयो । जहाँ म पनि जोडिएर आएँ । सहारा नेपाल एउटा व्यक्ति मात्र रहेन आज, यो त ती तमाम सदस्यहरुको संस्था हो, जसले भावनात्मक रुपमा यसमा विश्वास, आस्था र अपेक्षा गरेका छन् । यस मार्फत रचनात्मक काम र प्रतिफलको आशा पनि गरेका छन् ।
सहकारीहरु त एउटै नगर र गाउँमा बीसौं वटा छन् । ऋण लगानी र समूहगत गतिविधि त तीहरुमा पनि छन् । त्यसो हुँदाहुँदै पनि नेपालको ठूलो सहकारी कसरी बन्न सक्यो त सहारा नेपाल । त्यसका केही कारणहरुको उदाहरण म आफै हुँ जस्तो लाग्छ । सहकारीमा लगानी गर्नेले प्रतिफल लिने एउटा सीमारेखा छ । त्यसभन्दा बढी आम्दानी भएको रकम कि त संस्थाभित्रै गाभिएर जान्छ, कि त बद्मास संचालकहरुले अडिटरहरु समेतको संलग्नतामा मिलाएर खान्छन् ।
तर सहारा नेपालले सदस्यहरुले पाउने भाग उनीहरुलाई छुट्याएर बाँकी रहेको पैसा मासेको बुझिनँ मैले । बरु त्यो पैसा विभिन्न माध्यमबाट गरीबका लागि घर, सार्वजनिक स्थल तथा स्कूलहरुमा शुद्ध खानेपानीको व्यवस्था, जेष्ठ नागरिकहरुका लागि आश्रय स्थल, स्मार्ट चोकहरु, सदस्यहरुका लागि अवलोकन भ्रमण, जीवन बरदान कार्यक्रम, पारिवारिक शोक भएका बेलामा आर्थिक सहयोग, खेलकुद, दैविक विपत्ती, रेडक्रस, संचारकर्मीको स्थायीत्व, लगायत विभिन्न काममा प्रयोग गर्ने गरेको बुझेको हुँ मैले । एउटा प्रश्न गर्न मन लागेको छ– सहारा जत्तिकै संस्थाहरु अरु पनि छन् देशभित्र । ती संस्थाहरुल्े पनि यसै संस्था जत्तिकै आम्दानी गर्छन् । ती संस्थाहरुले गरेको आम्दानी यसरी नै सामाजिक काममा, सदस्यहरुको संरक्षणमा लगानी गरेका छन् ? यदि छैनन् भने ती आम्दानीका अंशहरु कहाँ लुकाइएका छन् ?
आफूले लगानी गरेको पैसाको प्रतिफलको लोभले मात्र म सहाराको सदस्य भएको होइन, यी माथि उल्लेखित र उल्लेख गर्न छुटेका तमाम विषयहरुप्रति आकर्षित भएर नै त्यस संस्थाको सदस्य भएको हुँ । सहकारीको सदस्य भए वापत् लगानी गरेको पैसाबाट प्राप्त हुने वोनस भन्दा बढी त बजारमा लगानी गर्दा व्याजदर प्राप्त हुन्छ । त्यसैले सहाराको सदस्य हुनु भनेको तमाम सामाजिक काममा मेरो पनि केही न केही अंश रहने छ भन्ने लोभ नै प्रमुख हो ।
उकालो बढ्दै जाँदा ओरालो पनि बढ्दै जान्छ । संस्था ठूलो हुँदै जाँदा सबैको नजरभित्र देखिंदै जान्छ । एउटा प्रतिस्पर्धा हुन्छ । आफूलाई अब्बल देखाउन अर्कोलाई गिराउने वातावरण बन्दै जान्छ ।
आज एउटा त्रास सिर्जना भएको छ । भर्खरै सहारा नेपालको नवनिर्मित भवनमा बम पड्कियो । बम पड्काउनेलाई सोध्न मन लागेको छ– म पनि सदस्य भएको संस्थामा बम पड्किनु पर्ने कारण चाहिं के थियो ? बमले मात्र समाधान गर्न सक्ने, सम्वादले समाधान गर्न नसक्ने विषय के थियो ? त्यो संस्थालाई डुबाउन खोजेर ऋण काटेर सदस्य भएका विपन्न सदस्यहरुलाई आर्थिक भारमा डुबाएर कुन प्रगति गर्न खोजेको हो ?
रामले रावण मारेर व्यक्तिगत रुपमा उनी भगवान बनेपनि उनको राज्य सुनको भने उनले कहिल्यै बनाउन सकेनन् । हामीलाई को भगवान् हुने–नहुने भन्दा पनि आफू बसेको भूमी र आफूले भोग्ने संसार लंका जस्तै सुखी हुनुपर्छ भन्ने हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here