बाघले बढायो पर्यटक

३० भाद्र २०७६, सोमबार मा प्रकाशित

काशीराम शर्मा/बाँके,

बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ ।

सन् २०१३ मा बाघ गणना हँुदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो । छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ । निकुञ्जमा उचित सुरक्षा, बासस्थान, चित्तल, बँदेल, जरायो, लगुनालगायतका बाघका आहाराजन्य वन्यजन्तु वृद्धि भएसँगै बाघको सङ्ख्या पनि बढ्दै गएको हो ।

“निकुञ्ज घुम्न जाने पर्यटकमध्ये धेरैले बाघ देख्न पाएका छन् । बाघ देखिएका कारण पर्यटक आउनेक्रम बढेको छ”, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भन्नुभयो । उहाँका अनुसार बाघ अवलोकनका लागि निकुञ्ज सफल बनेको छ ।

पर्यटक आगमनले यहाँ छेउछाउमा होटल निर्माण बढेको छ । चोरी सिकारी नियन्त्रण हँुदै गएपछि बाघको सङ्ख्या बढेको हो । उचित आहारा, सुरक्षा र प्राकृतिक बासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको सङ्ख्या बढ्दै गएको हो ।

पर्यटन व्यवसायी कृष्ण चौधरीले बाघलगायतका वन्जजन्तु सहजै देखिने गरेको बताउनुभयो । “यहाँ बाघ, गैँडा, हात्ती सहजै देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “वन्यजन्तु हेर्न मन पराउने पर्यटकको सङ्ख्या बढेको छ ।” निकुञ्जमा आव २०७५÷०७६ मा १४८ नेपाली, ११ सार्क र एक विदेशीसहित १६० पर्यटकले निकञ्ज घुमेका छन् ।

निकुञ्जमा पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको सहायक संरक्षण अधिकृत थपलियाले बताउनुभयो । आव २०७५÷०७६ मा रु एक करोड चार लाख ४९ हजार ९८२ राजस्व सङ्कलन भएको छ ।

२०० मारिए, ४३१ को उद्धार

निकुञ्जमा पछिल्लो तीन आर्थिक वर्षमा २०० वन्यजन्तु मारिएका छन् ।

निकुञ्जमा आव २०७३÷०७४ मा ८३ वटा, आव २०७४÷०७५ मा ७२ वटा र आव २०७५÷०७६ मा ४५ वटा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत थपलियाले बताउनुभयो ।

निकुञ्जले आव २०७५÷०७६ मा ४३१ वटा र आव २०७४÷०७५ मा ११ वटा वन्यजन्तु उद्धार गरेको छ ।

निकुञ्जमा ५४ मुद्दा, ३७ अदालतमा

वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापारका ५४ थान मुद्दा बाँके राष्ट्रिय निकुञ्जमा दर्ता भएका छन् । निकुञ्जमा दर्ता भएकामध्ये ३७ थान मुद्दा बाँके जिल्ला अदालतमा पठाइएको छ । सत्र वटा निकुञ्जमा दर्ता भएका छन् ।

यी मुद्दा अदालतमा दर्ता भई विचाराधीन अवस्थामा छन् । निकुञ्जका अनुसार चोरी सिकार गरेको आरोपमा ३३८ जना पक्राउ परेका छन् ।

आव २०७५÷०७६ मा जिल्ला वनतर्फ ३४ वटा मुद्दामध्ये १४ मुद्दा जिल्ला अदालत र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् भने १२७ व्यक्ति पक्राउ परेका छन् । अदालतमा दर्ता भएका मुद्दा फैसला भने हुन सकेका छैनन् ।

निकुञ्जमा रहेका कतिपय मुद्दामा छलफल तथा बहस भए पनि मुद्दा फैसला हुन नसकेको निकुञ्जले जनाएको छ ।

७५ लाख क्षतिपूर्ति

निकुञ्जमा दुई आवमा रु ७५ लाख २१ हजार ११४ वन्यजन्तुपीडितलाई उपलब्ध गराइएको छ ।

निकुञ्जमा रहेका वन्यजन्तुबाट भएको क्षतिबापत आव २०७४÷०७५ मा रु १४ लाख २८ हजार ७२ र आव २०७५÷०७६ मा रु ६० लाख ९३ हजार ४२ उपलब्ध गराइएको हो ।

त्यस्तै आव २०७५÷०७६ मा ४१८ घरधुरी र आव २०७४÷०७५ मा ३०५ घरधुरीमा वन्यजन्तुले क्षति पु¥याएको निकुञ्जले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here