सुर्खेत,
गत जेठ २९ गते गाडीको ठक्करबाट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक स्व नन्दबहादुर गेलाङका परिवारलाई दुर्घटना बीमा प्रदान गरिएको छ ।
कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ‘पत्रकार दुर्घटना बिमा चेक हस्तान्तरण’ कार्यक्रममा स्व पत्रकार गेलाङकी धर्मपत्नी टीका गेलाङलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संयुक्तरूपमा रु दुई लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।
दुर्घटना बिमास्वरुपको उक्त रकम राष्ट्रिय बिमा कम्पनीले उपलब्ध गराएको थियो । कानूनमन्त्री भण्डारीले समाज विकासका क्रममा अहोरात्र खट्ने कर्णालीका पत्रकार तथा आश्रित परिवारको पीडामा मल्हम लगाउने हेतुले श्रमजीवी पत्रकारका लागि जनही रु तीन लाखको दुर्घटना बिमा गरिएको बताउनुभयो ।
“आश्रित परिवारका लागि रु दुई लाख ५० हजार ठूलो रकम होइन”, उहाँले भन्नुभयो, “यद्यपि सानो राशि भए पनि प्रदेश सरकारले पीडामा मल्हम लगाउने प्रयास गरेको छ ।” पत्रकारहरुका साथै प्रदेश सरकारले यहाँका १७ लाख ७० हजार नागरिकको विपद् जोखिमलाई ध्यानमा राखेर दुर्घटना बिमा कार्यक्रम अघि बढाइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कर्णाली प्रदेश सरकारले मुलुकमा भिन्न काम गरेको प्रतिक्रिया दिनुभयो ।
बिमा कम्पनीका शाखा प्रमुख तोर्ण सुवेदीले कर्णालीका २८७ पत्रकारको रु तीन लाखको दुर्घटना बिमा गरिएको बताउनुभयो । उहाँले यसअघि स्व पत्रकारको कीरिया खर्चवापत रु ५० हजार प्रदान गरिएको समेत जानकारी दिनुभयो ।