चौथो इन्द्रदह पर्यटन उत्सव हुने

५ फाल्गुन २०७६, सोमबार मा प्रकाशित

काठमाडौँ,

धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ इन्द्रदहमा यही फागुन ९ गते उत्सव आयोजना गर्न लागिएको हो ।

पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न पर्यटन उत्सव गर्न लागेको जानकारी दिनुभयो । धार्मिक, ऐतिहासिक र पौराणिक महत्व बोकेको उक्त स्थलमा उत्सवको तयारीसँगै आज सरसफाइसमेत गरिएको छ ।

वडा अध्यक्ष राजेन्द्र केसीले सरकारले तोकेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उत्सव आयोजना गरिएको बताउनुभयो । उत्सवसँगै नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा थप सहयोग पुग्ने उहाँको भनाइ थियो ।

सरकारले नेपाल भ्रमण वर्षका लागि एक सय गन्तव्यस्थलभित्र सूचीकृत गरेको इन्द्रदह र काजी कालु पाण्डेको समाधिस्थल रहेको छ । उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ । उत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here