मेचीनगरमा घरदैलो अभियान,२३ जनामा कोरोना भाइरसको एन्टीबडी परीक्षण

0
1069

लक्ष्मी उप्रेती / मेचीनगर,

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा शुक्रबार मेचीनगरमा २३ जनामा कोरोना भाइरसको एन्टीबडी परीक्षण गरिएको छ । प्रहरी हिरासतमा रहेका इलाका प्रहरी कार्यालयमा पनि र्यापिड टेष्ट गरिएको छ ।

शाखा संयोजक शशीकला राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले नगरका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी होम क्वारेन्टाईन तथा स्थानीय सरकारले सञ्चालनमा ल्याएको क्वारेन्टाईन र प्रहरी हिरासतमा रहेकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको हो ।

मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आदर्श माध्यमिक विद्यालय आयावारीको क्वारेन्टाइनमा रहेका एकजनाको भाइरसको एन्टीबडी परीक्षण गरिएको थियो भने सोहि ठाउँमा होम क्वारेन्टाइनमा रहेका अर्का एकजनाको पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको शाखा संयोजक राईले बताउनुभयो । आदर्श माविमा अहिले १५ जना बसेका छन् । यसअघि पनि सोहि क्वारेन्टाइनमा रहेका ८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको क्वारेन्टाइन व्यवस्थापनले जनाएको छ ।

यसैगरी, स्वास्थ्यकर्मीको टोलीले विभिन्न कुसुरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका १० जनाको पनि कोरोना भाइरसको एन्टीबडी परीक्षण गरिएको संयोजक राईले जानकारी दिनुभयो । त्यहा १४ जनाको परीक्षण गर्ने भनिएपनि चारजनालाई अदालत लगेका कारण १० जनाको मात्र गरिएको थियो । मेचीनगरको वडानम्बर १,२,३ लगायतका वडामा होम क्वारेन्टाइनमा बसेकाहरुको समेत कोरोना भाइरसको एन्टीबडी परीक्षण गरिएको थियो ।

प्राविधक टीकाराम ढकालले रगतबाट गरेको उक्त परीक्षणको आधिकारीकरुपमा स्वास्थ्य कार्यालय झापाले दिने भन्दैं टोलीले बताउन नमिल्ने जानकारी दिएको थियो । समाचार स्रोतका अनुसार सवै जनाको र्यापिड टेस्ट गर्दा एन्टीबडी नेगेटिभ आएको छ ।

भारतमा संक्रमित र मृत्युहुनेको संख्या दैनिक बढ्दै गएपछि नगरपालिकाले नेपालसँग सीमा जोडिएको नगरका विभिन्न वडाका घर घर पुगेर घरदैलो अभियान अन्तर्गत र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरसको एन्टीबडी परीक्षण शुरु गरिएको नगर प्रमुख विमल आचार्यले बताए । अधिकाँश विदेशबाट आएकाहरुको परीक्षण गरिएको थियो ।

समुदायमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि यस्तो अभियान चलाइएको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एकजना अधिकारीका अनुसार विभिन्न निकायका स्वास्थ्यकर्मीको टोली विभिन्न समूहमा बाँडिएर र्यापिड परीक्षण गरिरहेको छ । उनका अनुसार र्यापिड परीक्षण गरिसकेपछि रिपोर्टको आधारमा रणनीति बनाइने छ ।

लकडाउनको समयमा काठमाडौं, भरतपुर, पोखरालगायत विभिन्न सहरमा ज्याला मजदुरी गर्दै आएका भारतीय नागरिक झापा आइपुगेका थिए । भारततर्फ पनि लकडाउन रहेका कारण उनीहरुलाई खान र बस्नको व्यवस्था मिलाएर झापाका विभिन्न क्वारेन्टाईनमा राखिएको सम्बन्धित वडाका जनप्रतिनिधिहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here