युट्युब हेर्दै खानाका परिकार बनाउन सिक्दै


१० बैशाख २०७७, बुधबार ०९:२० मा प्रकाशित

जीतपुर,

Advertisement

कपिलवस्तु, वाणगङ्गा नगरपालिका–४ की अस्मिता कुँवरले लकडाउन सदुपयोग गर्दै ढाकाका कपडा बुनिरहनुभएको छ । कुँवरलाई कपडा सिलाइको व्यस्तताले गर्दा समय बितेको पत्तो छैन ।

बुद्धभूमि नगरपालिकाका–४ का विनोद केसीलाई भने यस समयमा खूब अध्ययन गर्ने मौका जुरेको छ । एक महिनाका अवधिमा उहाँले आधा दर्जनभन्दा बढी पुस्तक पढिसक्नुभएको छ । केसीले भन्नुभयो, “पहिला बैंकको कामले एकछिन फुर्सद पाउँदिनथे तर आजभोलि अध्ययन गर्दै मीठो खाना बनाउन पनि सिक्दै छु ।”

शिवराज नगरपालिका –१ की सुनिता कहाँर भने यति बेला युट्युबका माध्यमबाट झुमरा, ढकिया, फूलदानीलगायत घर सजावटका विभिन्न सामग्री बनाउँदै हुनुहुन्छ । बहिनीको कामबाट प्रेरणा पाउनुभएका अनिताले पनि यस समयलाई भने खेर जान दिनुभएको छैन । आफ्नो इच्छानुसार काम गर्न लकडाउनले ठूलो अवसर प्रदान गरेको बताउँदै उहाँले आफूले विभिन्न खालका चित्र तथा मूर्ति बनाउने गरेको जानकारी दिनुभयो । उहाँको जस्तै अनुभव अनुपा पासीको पनि छ । लामो समय लकडाउन हुँदा दिक्क मान्ने पासीलाई घरकै कामले भ्याइनभ्याई छ ।

वाणगङ्गा –२ की मीना सुनार जागीरका कारण घरभन्दा बाहिर बस्दै आउनुभएको थियो । पटकपटक परिवारमा समय नदिएको गुनासो सुन्दै आउनुभएकी सुनारले यतिबेला घर परिवारमा पर्याप्त समय दिनुभएको छ । यसरी परिवारसँग समय व्यतीत गर्दा छुट्टै किसिमको आनन्द मिल्ने गरेको उहाँले सुनाउनुभयो ।

विद्यालय बन्द हुँदा मोबाइलमा मात्रै रमाउने वाणगङ्गा–४ की दिया श्रेष्ठ र उहाँकै छिमेकी स्नेहा क्षेत्री पनि नयाँनयाँ परिकार बनाउन सिकिरहनुभएको छ । घरमै सेलरोटी, पानीपुरीलगायत परिकार बनाउने गर्नुभएको छ । सधैँं एकैप्रकारको खाना खाँदा वाक्क लाग्ने भएकाले युट्युब हेरेर वा साथीहरूबाट सिकेर नयाँ खाजाका परिकार बनाउन सिक्ने अवसरका रूपमा यो समयलाई उपयोग गर्दै आएको उहाँको भनाइ छ ।

वाणगङ्गा–३ चम्कीपुरकी ५५ वर्षीया सुनरमतिया थारुलाई पनि खाली समय बिताउन समस्या भएपछि छिमेकीसँग घर सजावटका सामान बनाउन सिकिरहनुभएको छ । केही गर्ने इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण उहाँबाट पाउन सकिन्छ । वरपर छिमेकीले हातेपङ्खा, ढकिया बनाएको देखेपछि उहाँमा पनि यो जाँगर चलेको छ । थारु भन्नुहुन्छ, “दिनमा चारपाँच वटा पङ्खा, ढकियाहरू बनाउँछु ।” सजावटका सामान बनाउँदा लकडाउनको समय पनि सजिलोसँग बितेको उहाँको अनुभव छ ।

बन्दाबन्दीका समयमा अभिभावकहरू काममा नजाँदा बालबालिकाले पनि जान्नेबुझ्ने अवसर पाएका छन् । यही अवसरको सदुपयोय गर्दै वाणगङ्गा–५ की पाँच वर्षीया कृतिका न्यौपानेले विद्यालय जान नपाए पनि आमासँग घरमा बसेर पढ्नुभएको छ । यस समय उहाँ जस्तै अन्य बालबालिकाले घरमै व्यवहारोपयोगी ज्ञान र सीप सिक्न पाएका छन् ।

एसइई परीक्षाको तयारीमा रहनुभएका एलिना पाण्डेले पनि अध्ययनको तयारी गर्दै घर सजावटको काम सिकिरहनुभएको छ । कतै जान नपरेपछि अध्ययन गर्न पर्याप्त समय भएकाले दिउँसो चित्र बनाउने र घर सजावटको काम सिक्ने गरेको पाण्डे बताउनुहुन्छ । समयमै परीक्षा दिन नपाउँदा उहाँलाई लकडाउको समयभर पट्यारलाग्दो भएको छ । उहाँले भन्नुभयो, “राति सपनामा पनि परीक्षा दिएको देख्छु पहिले नै दिन पाएको भए आनन्द हुने थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्ने हो भने झनै उपयोगी बनाउन सकिने मनोपरामर्शकर्ता बताउँछन् । “कोरोनाले बालमनोविज्ञानमा एकप्रकारको छाप त छाडेको छ तर यसले बालबालिका तथा किशोरकिशोरीलाई सीप सिकेर जीवन उपयोगी नयाँ अनुभव हासिल गर्ने अवसरसमेत दिएको छ”, मनोपरामर्शकर्ता प्रकाश घिमिरे भन्नुहुन्छ । यस समयलाई कहरका रूपमा नलिई नयाँ काम सिक्ने रहरका रूपमा ग्रहण गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्