झिलझिले,
झापाको शिवसताक्षी स्थित झरना प्राविको क्वारेन्टिनमा बसेका मध्ये २९ जनाकोे पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाइएको छ । कोरोना रिपोर्ट नेगेटिभ आउँदा खुसी देखिएका उनिहरु घर जानुपर्दा भने निकै भावकु थिए ।
क्वारेन्टिनमा बसेका बेला स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र कर्मचारीको व्यवहारले उनिहरुको सम्बन्धलाई निकै नजिक बनाएको थियो । क्वारेन्टिन भनेको जेल अर्थात प्रहरीको हिरासत जस्तै हुन्छ भन्ने सुनेका शिवसताक्षी ९ का नरेन लिम्बुले घर जानुपर्दा निकै पिढा भएको बताए । ‘४ पटक खान पाईन्थ्यो, ईन्टरनेटको व्यवस्था थियो , क्वारेन्टिनका कर्मचारी र स्थानीय गाउँलेले दिएको आत्मबलले रिपोर्ट नेगेटिभ आएपनि घर जान मन पटक्कै छैन । गाँउमा गएपछि सवैले कोरोना लिएर आयो भन्लान । कोरोना रिपोर्ट सबैलाई थाहा छैन । यहि बस्न पाएपनि हुन्थ्यो ।’ लिम्बुले भने ।
मंगलबारै घर गएका ताराकुमार श्रेष्ठ भारतको दिल्ली बाट जेठ ११ गते आएका थिए । भारतमा पनि उनि क्वारेन्टिनमा बसेका थिए । १७ घन्टामा एक पटक खाना दिने गरेको उनले सुनाए । झरना प्राविको क्वारेन्टिनमा ९ दिन बस्दा निकै मोटाएको अनुभव उनले गरेका छन् । भन्छन, यहाँको दाल, भात, तरकारी, अचार, वाइफाई, शौचालय, नुहाउने र लुगाधुने सुबिधा मेरो घरमा पनि छैन ।’
साविकको झरना प्राविको क्वारेन्टिनमा नेपाल लगायत भारतका विभिन्न ठाँउबाट घर फर्कने बसेका छन् । उनिहरु सबै सुरक्षा निकायलाई छल्दै यहाँ आईपुगेका हुन् । केहिलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरि क्वारेन्टिनमा ल्याएको थियो ।
शिवसताक्षीमा हाल सम्म ४५ जनाको पिसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएपछि नगर प्रमुख चन्द्रकुमार शेर्माले स्वास्थ्य कर्मी, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय पत्रकारलाई धन्यबाद दिदै भने, तपाईहरुको सपोर्टले शिवसताक्षीमा कोरोना भाइरस भाइरल हुन पाएको छैन ।’ उनले भारतीय सिमा क्षेत्रमा थप कडाइ गरे कोरोना भित्रन नपाउने बताए ।
आईतबार स्वाब सङ्कलन गरी १ नम्बर प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मङ्गलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ’, नगर प्रमुख शेर्माले भने, ‘उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।’
दैनिकरूपमा जिल्ला भित्रिनेको सङ्ख्या बढिरहेकाले क्वारेन्टिन व्यवस्थापनमा चुनौती थपिएको भन्दै शिवसताक्षीका सर्वसाधरणले स्थानीय तह र सरोकारवाला निकायले व्यवस्थापन गर्न अनुरोध गरेका छन् । क्वारेन्टिनको र बेड क्षमता विस्तार नगरे हाल सम्मको उपलब्धि गुम्न सक्ने उनिहरुले बताएका छन् ।