विनोद सापकोटा / शिवसताक्षी ।
शिवसताक्षीकी ज्योती संग्रौला पुलामी मगरले क्वारेन्टिनमै सुत्केरी हुनुपर्छ भनेर सोचेकी पनि थिइनन् । विश्वनै कोरोना भाईरसका कारणले आक्रान्त बनिरहेका बेला उनलाई पनि यै विषयले पिरोलिरहेको थियो । ज्योतीको माइती शिवसताक्षी नगरपालिका नै भएपनि उनको घर सिराहाको बन्दिपुर हो । तर, पोखराको लेकसाईटमा बस्ने तुलवहादुरसंग उनको प्रेम विवाह भयो ।
श्रीमान् पश्चिम बंगालको सिलिगुडी स्थित एक निजी कम्पनीमा काम गर्थे । उनि संगै थिइन् ज्योती पनि । ज्योती गर्भवती भएपछि सुरक्षीत गर्भधारणका लागि फागुनको दोश्रो साता उनका श्रीमान् तुलवहादुरले ज्योतीलाई नेपाल पठाए । तर, कहाँ बस्ने त ? एउटी गर्भवती महिला असुरक्षीत बस्नु पनि त भएन नी । उनले सोचिन अबको विकल्प भनेको माईती घर नै हो । उनको माईती घर वडा नम्बर ४ स्थीत पाँचगाछि मा पर्छ ।
दिन ढल्दै जाँदा ज्योतीलाई गर्भधारणका विषयले पिरोल्दै गयो । जे होस, सुरक्षीत र सुविधा सम्पन्नै ठाँउमा गएर बस्छु भन्ने सोच उनमा आयो । ज्योती उमेरले २१ मात्र टेकेकी हुन् । प्रसव पीडाले पिरोल्न थाल्दा मुलुक लकडाउननै भयो भने के गर्ने ? ज्यान पनि त जोखिममा राख्नु भएन नी । उनि यो मामलामा निकै जानकार थिइन् । चैत ९ गते उनि शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित दुधेमा सुत्केरी हुनैका लागि वहालमा बस्न आइन । बहालमा उनि एक्लै थिइन् । उनका श्रीमान् सिलगढीमै काम गर्दे थिए ।
चैत्र ११ गते देखी कोरोना भाईरसका डरले मुलुक लकडाउनमा पर्यो । त्यो भन्दा एक साता अघि देखी भारतले लकडाउन गरेको थियो । ज्योती थिइन नेपालमा उनका श्रीमान् थिए भारतमा ।
गर्भधारण गर्ने मिति नजिकीदै जाँदा श्रीमान् तुलवहादुर लाई ज्योतीकै मात्र याद आईरहयो । अस्पताल कसले लगिदेला ? सुरक्षित सुत्केरी कसले गराईदेला र्? पोषण युक्त खानेकुरा कसले खान देला । यस्तै यस्तै थुप्रै प्रश्नले उनको मन पिरोल्न थाल्यो । उनले सोचे ‘अब लुकेर भएपनि ज्योती संग जान्छु ।’ उनि सिलिगुडीबाट हिडे । काकडभिट्टा सम्म त आए । तर, प्रहरीले उनलाई चन्द्रगढीको क्वारेन्टिनमा पुर्यायो ।
स्थानीय पालिका र प्रशासन संग ज्योतीको अवस्थाका बारेमा अनुनय विनय गरे तर केहि सीप लागेन । अन्तत क्वारेन्टिन मै बसे । उनको ७ दिन पछाडी पिसीआर का लागि स्वाब संकलन भयो । उनको रिपोर्ट नेगेटिभ आएपछि उनलाई क्वारेन्टिनबाट ज्योती भएको ठाँउमा आउन दिइयो ।
दुधे सम्म त उनि आए तर ज्योती बसेको घरमा उनलाई पस्न दिइएन । स्थानीय गाँउलेले तुलवहादुरलाई ज्योती बसेको घरमा छिर्न नदिएपछि पुलामी दम्पतीमा ठुलो बज्रपात भयो । कोरोना नेगेटिभ भएको प्रमाण देखाउदा पनि घर धनी र स्थानीयले घरमा छिर्नै दिएनन् । यो कुरा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठको कानमा पर्यो । उनले जुक्ती निकाले । अब पुलामी दम्पतीलाई क्वारेन्टिनमा राख्नु पर्छ । नभन्दै १२ गते पुलामी दम्पतीलाई क्वारेन्टाइनमा राखियो ।
क्वारेन्टाइनमा आएको ४ दिन पछि १६ गते शुक्रबार ज्योतीलाई सुत्केरी व्यथाले च्याप्यो । क्वारेन्टिन स्वास्थ्य शाखाका प्रमुख रोषन अधिकारी दम्पती, क्वारेन्टिन निर्माण तथा व्यवस्थापन संयोजक दिपक तामाङ्ग लगायतको टिमले ज्योतीलाई आम्दा अस्पताल पुर्यायो । अस्पताल पुर्याएको केहि बेरमा ज्योतीले झरना पुलामीको जन्म दिइन । झरना प्राविको क्वारेन्टाइनमा बस्दा पैदा भएको शिशुको नाम झरना राखिएको वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले बताए । झरनाको नाम उनका बुवा तुलवहादुर र आमा ज्योतीले पनि स्वीकार गरेका छन् ।
१७ गते ज्योतीलाई आम्दा अस्पतालले डिस्चार्ज दियो । उनि फेरी झरनाको क्वारेन्टिनमा आईन् । ज्योतीका लागि क्वारेन्टाइनका संयोजक दिपक तामाङ्गले नयाँ लुगा, जवजात शिशुका लागि नुहाउने सावुन, पाउडर, आवश्यक पोषणयुक्त खानेकुराको व्यवस्था गरिदिए । उनले निजी श्रोतबाट ज्योतीका लागि आवश्यकीय बस्तु जुटाईदिएका हुन् ।
तामाङ्गले लत्ता कपडा मात्र होइन । नवजात शिशुलाई सेक्नका लागि एक जना सहयोगीको पनि व्यवस्था गरिदिएका छन् । उनले कुखुराको भाले पनि दिएका छन् । तामाङ्गलाई सघाउने क्वारेन्टिनका स्वास्थ्य प्रमुख रोशन अधिकारी पनि हुन् । उनले पनि कुखुराको भाले दिएका छन् । क्वारेन्टिनको सुरक्षाका लागि तैनाथ शसस्त्र प्रहरीका कर्मचारी निकेश श्रेष्ठको सहयोग पनि ज्योतीलाई छ । उनि भन्छिन, कर्ममा जे लेखेको छ, त्यो त पाइहालिन्छ नी ।
ज्योतीलाई कुनै कुराको अभाव हुन नदिन क्वारेन्टिनका कर्मचारी सक्रिय छन् । मंगलबार ज्योती बसेको ठाँउमा पुग्दा ३ वटा कुखुराका भाले थिए । उनका श्रीमान् तुलवहादुरका अनुसार सबै दिपक जिले दिएका हुन् । तामाङका अनुसार समस्यामा परेका बेला नगरेको सहयोग कुनबेला गर्ने भनेर आत्माले अराएपछि सवै कुरा जुटाइदिएको हुँ ।
पुलामी दम्पती यतिबेला नवजात शिशु हातमा खेलाउदै शुसीले गद्गद् भएका छन् । ‘क्वारेन्टिन होस् त शिवसताक्षी नगरको झरना प्राविको जस्तो । समयमै खाना, नास्ता, आराम, व्यायाम मात्र होइन, पटक पटक स्वास्थ्यकर्मीको सल्लाह र सुरक्षाकर्मीको सहयोगले यहाँ बस्ने कोही पनि दुखी हुनुपरेको छैन,’ ज्योतीले भनिन् ।