अर्जुनधारा ।
विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलिन नदिन झापाको अर्जुनधारा– १० कालीझोडामा खगेन्द्र सुबेदीको संयोजकत्वमा २५ सदस्यीय कोरोना संक्रमण नियन्त्रण समिति गठन गरिएको छ ।
नगरपालिकाका जनप्रतिनीधि भीमराज कुरुङबाङ र भोलानाथ गौतमको उपस्थितीमा गठन गरीएको समितिले बिभिन्न कार्ययोजना निर्माण गरेको छ । जसअन्तर्गत पहिलो चरणमा बुधबारबाट संक्रमणको जोखिममा रहेका व्यक्तिहरुलाई दुई सय थान पञ्जा , मास्क वितरण गर्ने र सामाजिक दुरी कायम गर्दै जनचेतना फैलाउन घरदैलो कार्यक्रमहरु सञ्चालन गर्ने जनाइएको छ ।
साथै आगामी दिनमा वडाका सम्पुर्ण किसिमका व्यावसायीहरुको पहिचान गरी सुरक्षा सामाग्री वितरण गरिने , संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुको प्रवेशमा पूर्णप्रतिबन्ध लगाउने र अन्य जुनसुकै स्थानबाट आएका व्यक्तिहरुमा पनि कडाई गरीने समितिका संयोजक सुबेदिले जानकारी दिनुभयो ।
यसकार्यमा सहयोग गर्न ईच्छुक दाताहरुमा समेत समितिले आग्रह गरेको छ । भारतमा रहेका नेपाली कामदारहरु जिल्ला फर्कने क्रम शुरु भएसँगै हालसम्म सुरक्षित रहेको छिमेकी स्थानीय तहहरुमा समेत कोरोना देखिन थालेपछि यहाँपनि सतर्कता अपानाइएको उहाँको भनाई छ ।