भोटखोला पन्ध्रदिनदेखि सञ्चारविहीन

१६ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

किमाथाङ्का,

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । भोटखोला–२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा १५ दिनदेखि गाउँपालिका नै सञ्चारविहीन बनेको छ । उच्च हिमाली क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको उहाँले बताउनुभयो । अवरुद्ध टेलिफोन कहिले सञ्चालन हुन्छ भन्ने यकिन भइनसकेको उहाँको भनाइ छ ।

अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भोटखोला–३ हटियाका स्थानीय सुवास भोटेले गुनासो गर्नुभयो । पन्ध्र दिन बित्दासमेत सरोकारवाला निकाय चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला–२ च्याम्ताङका आङजुङ भोटेले बताउनुभयो । भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । टेलिफोन सेवा घामसँगै अस्ताउने गरेका छन् । विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको हो । दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेको छ ।

मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् । जाडोको समय र बर्खायाममा दिनभर घाम लागेन भने सोलारमा चार्च नभएका कारण टेलिफोन सेवा बन्द हुने गरेको छ । टेलिफोन सेवा लिन बेलुकी घाम अस्ताएपछि बिहान ९ बजेसम्म पर्खनुपर्ने हुन्छ । त्यति मात्र होइन कहिलेकाहीँ त दुई÷चार दिनसम्म पनि मौसम खराब हुने गर्दछ ।

जिल्लाका छ स्थानका बिटिएस टावर सोलरपावरको भरमा मात्र सञ्चालन हुन्छन् । चिचिलाको छ्याङकुटी, मकालुको भाटभोटेनी, भोटखोलाको बाक्ले, माक्पालुङ र सिलिचुङ गाउँपालिकालगायतमा स्थानमा सोलारपावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ ।

त्यसैगरी टेलिकम सङ्खुवासभामार्फत नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा बिटिसमार्फत मोबाइल सेवा प्रदान गरिरहेको छ । त्यस्तै सभापोखरी गाउँपालिकामा समेत चार महिनादेखि टेलिफान सेवा अवरुद्ध भएको छ । सभापोखरीको स्वाचीमा राखिएको टावरमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । अवरुद्ध टेलिफोन सेवा सञ्चालन गर्न पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्थानीय सभापोखरी–६ का स्थानीय छत्रबहादुर गुरुङले दुखेसो पोख्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here