झापा।
झापाका १० हजार होटल मजदुर बेरोजार भएका छन् । कोरोना भाइरसले विश्वमै महामारीको रुप लिइरहेको बेला सरकारले गत चैत ११ गतेबाट करिव चार महिना गरेको लकडाउनका कारण होटल क्षेत्रमा काम गर्ने मजदुरहरु बेरोजगार भएको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।
लकडाउनको सबैभन्दा धेरै असर होटल व्यवसायलाई परेको भन्दै मजदुरका साथै व्यवसायी समेत पलायन हुनपर्ने अवस्था सृजना भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । झापामा १० हजारको हाराहारीमा होटल रहेको र त्यसमा केही होटलहरु स्टार, मझौला र साना छन्– अध्यक्ष श्रेष्ठले भनिन्– अहिले सबै होटल ठप्प प्रायः भएका कारण त्यहाँ कार्यरत मजदुरहरु बेरोजगार बनेका हुन् ।
मासिक रुपमा करोडौंको कारोवार गर्ने गरेका झापाका होटलहरु अहिले आर्थिक रुपमा शून्य अवस्थामा रहेको उनको भनाई छ । सरकारले सन् २०२०लाई पर्यटन वर्षको रुपमा मनाउन शुरु गरेसँगै झापाका होटल व्यवसायीहरुले होटलमा करोडौं रुपैयाँ खर्चिएर व्यवसायलाई अगाडि बढाइरहेका बेला कोरोना भाइरसको संक्रमणले नेपाललाई समेत प्रभावित बनाएपछि सरकारले पर्यटन वर्षलाई स्थगित गर्नु र लामो समय होटल व्यवसाय बन्द गर्नु परेका कारण होटल व्यवसायको लगानी वालुवामा हालेको पानी जस्तै भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
सरकारले विभिन्न क्षेत्रका मजदुर तथा व्यवसायीहरुलाई राहत प्रदान गरे पनि होटल व्यवसायीहरुलाई कुनै सुविधा नदिएको भन्दै यस्तै अवस्था रहे होटल व्यवसायहरु यो व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको श्रेष्ठले बताइन् । उनले भनिन्– सरकारलाई होटल व्यवसायीले सबैभन्दा धेरै कर तिर्दै आए पनि संकटको समयमा सरकारले व्यवसायीलाई केही गरेन ।
होटल व्यवासयी संघ झापाले सहुलियतमा कर्जा, बिजुली, पानी महशुलमा छुट, राहत प्याकेज लगायतका विभिन्न सात बुँदे माग राखेर स्थानीय, प्रदेश र संघीय सरकारलाई ज्ञापन–पत्र बुझाएकोमा कुनै पनि क्षेत्रबाट सहयोग प्राप्त नभएको श्रेष्ठको भनाइ छ । व्यवसाय ठप्प रहेकाले व्यवसायीहरुले लिएको कर्जा अहिले तिर्न सक्ने अवस्था नरहेको भन्दै वैंक तथा बित्तीय संस्थाहरुलाई कर्जा दुई वर्ष किस्ता सारिदिन आग्रह गरेको अध्यक्ष श्रेष्ठले बताइन् ।
होटल र पर्यटन एक अर्काको परिपूरक रहेको भन्दै अध्यक्ष श्रेष्ठले पूर्व क्षेत्र पर्यटनको प्रशस्त सम्भावना बोकेकोले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरु झापाका होटलमा बस्ने गरेका छन्, त्यसैले यस क्षेत्रका होटलहरुको स्तरवृद्धि गर्नका लागि सरकारले विशेष सहयोग गर्न जरुरी रहेको बताइन् । कोरोना भाइरसका कारण अहिले पनि होटल व्यवसायहरु सञ्चालनमा आउन नसकेको भन्दै आंशिक रुपमा केही होटलहरु खुले पनि ग्राहक नहुँदा घर भाडा तिर्न नै धौ–धौ परेको उनले गुनासो गरिन् ।
झापामा सञ्चालित होटलमध्ये अधिकांश भाडाका घरमा रहेको र केही घरधनीले स्वतःस्फूर्त रुपमा व्यवसायीहरुलाई भाडा छुट दिएर सहयोग गरेको भन्दै अध्यक्ष श्रेष्ठले व्यक्तिले सहयोग गरे पनि सरकारले व्यवसायीलाई केही सहयोग नगरेको भन्दै दुःखेसो पोखिन् ।