हेर्दाहेर्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी !

0
2933

कस्तो बनौँला, के–के गरौँला, सुख र खुशीका साथ जिऔँला, घुमौला, रमाइलो गरौँला भन्दथ्यौँ हामी । पिरतीका माला उनेर जीवनमा सजाऔँला भन्दथ्यौँ हामी । ढकमक्क बगैँचामा मनमौजी घुमेर नीलो आकाश जस्तै निश्चल मन लिएर एकअर्का बात मारौँला भन्थ्यौँ हामी । झरनाका कञ्चन पानी पिउँदै, सुइसेला मार्दै प्रकृतिको मजा लिँदै, बिना अबरोध डुलौँला भन्थ्यौँ हामी । जुनेली रातभरि एकअर्का हात समाएर, खोलाको बगरै बगर भएर, टाढा–टाढा पुगौँला भन्दथ्यौँ हामी । बालुवाकै सही, तिम्रो र मेरो सपनाको सुन्दर महल बनाउँला भन्थ्यौँ हामी ।

पहाडका टाकुराहरुमा पुगेर टाढा–टाढाका गाउँ–बस्तीहरुको मनोरम दृष्य हेरौँला भन्थ्यौँ हामी । वनपाखामा रातै भएका लालीगुँरासको सुन्दरताको बयान गर्दै एकअर्काको हात समाएर चिसो हावाको वेगसँगै नागीमा कुदौँला भन्थ्यौँ हामी । देउराली र भञ्ज्याङ्गको चौतारामा बसेर दिन बितेको पत्तै नपाउने गरी पिरतीका कुरा गरी बसौँला भन्थ्यौँ हामी । तिम्रो र मेरो एउटा सानो संसार सजाऔँला र जीवनको पल्लो छेउसम्म नै सँगै जिऔँला र सँगै मरौँला भन्थ्यौँ हामी । तर, हेर्दा हेर्र्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी । च्यातिएको चिठी जस्तै भयो तिम्रो र मेरो जिन्दगी । हो च्यातिएको चिठी जस्तै भयो तिम्रो र मेरो जिन्दगी । अब कुनै अर्थ छैन तिम्रो र मेरो सम्बन्धको । कुनै मिलनको सम्भावना छैन तिम्रो र मेरो माया पिरिमको । टुक्रिएको शिशा जोडिएको बित्थैको कल्पना गर्नु सिवाय ।

यति भइकन पनि तिम्रो लागि मेरो छातीमा अझै केही माया बचेको छ । तर, अर्थहीन माया । यो माया किन बचेको हो ? म यसै भन्न सक्दिनँ । सायद, तिमी र मैले जस्तै नियतिको खेल भोगका थुपै्र–थुप्रैहरुका मनहरुमा पनि आफ्ना–आफ्ना माया थिग्रिएर बसेका होलान् । जुन अब केही कामका हुने छैनन् । केवल खिया लागेर दिनानुदिन खिइँदैछन् । तिम्रो लागि मेरो मनमा केही माया बचे जस्तै मेरो लागि पनि त्यो छातीमा अभैm केही माया बचेकै होलान् । तर, त्यो तिमीलाई मात्र महसुस हुने कुरा हो । त्यो अब न तिमीले मलाई दिन सक्छ्यौ न त काँडाको खिल झिके जस्तै झिनो आइया आवाजसँगै चिम्टीले चेपेर थुतेर फाल्न सक्छ्यौ ।

अनि चौताराको वरिपरि अभैm हाम्रो छायाँ होलान् । त्यो चौतारा वरिपरि हामी पिरतीका कुरा गर्दै एकै गुजुल्टो परेर धेरै धेरै बेरसम्म घुम्दथ्यौँ । जहाँ हामीले रात–रातभरि, नबुझिने भाषामा भुतले के–के गुनगुनाए जस्तै धेरैथोक गुनगुनाएर जुनको शीतल प्रकाशको साहारामा चौतारा वरिपरि लुकामारी खेलेथ्यौँ । अरु मायालु जोडीहरुलाई चौताराले हाम्रो मायाको भित्री कथा सुनाउँदै होला । र, ती अमुक प्रेमिल जोडीहरु व्यथित बन्दै होलान् । सपना टुट्छ भनेर जान्दा तिनीहरु पनि मर्माहत हुँदा होलान् । दिनभरि घोप्टिएर रुँदा हुन् । आँखाका आँशुहरु रित्याउँदा होलान् ।

के गर्नु ? लाखौँ चोटी बिर्सन खोजेर पनि बिर्सन नसकेपछि, राखेको छु चोखो गरी कसम तिम्रो पनि हो । माया पिरतीमा कसमभन्दा अर्को ठूलो कुरा के नै हुँदो रहेछ र तर पनि कसम मानी रहन कहाँ सकिँदोरहेछ र । कसम झुठो नभए पनि मान्छे झुठो र फरेबले घेरिएको हुँदो रहेछ । त्यसैले हाम्रो कसम, कसम नै रहिगए । अनि हेर्दाहेर्र्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी । च्यातिएको चिठी जस्तै भयो तिम्रो र मेरो जिन्दगी । फगत एउटा कागजको टुक्रा र त्यसमा लेखिएका किरिङ्गमिरिङ्ग अक्षरहरु जस्तै भए तिम्रो र मेरो जिन्दगी ।

सत्य पनि असत्य बनिदियो । असत्य पनि सत्य बनिदियो । भन्न त भन्छन् मान्छेहरु सत्यकै जीत हुन्छ । तर, तिम्रो र मेरो पिरतीको सम्बन्धमा सत्यले तीन बल्ड्याङ्ग खायो । सत्य कै जीत भएको देखाउन धेरै असत्यको सहारा लिनुपर्दोरहेछ । तैपनि दोबाटो झैँ दुई दिशामा छुटेर पनि जिन्दगी, राखेको छु चोखो गरी कसम तिम्रो । मान्छेहरुले देखिएका कुरा मेट्न सक्दा रहेछन् । तर, मनमा नदेखिने गरी बसेको कुरा मेट्न नसकिँदो रहेछ । त्यो घरी–घरी बल्झिरहँदो रहेछ । किन यस्तो हुन्छ ? के छ मेरो मनमा भनेर हेर्दा तिम्रो लागि अझै पनि तुरुक्क चोखो कसम बाँकी रहेको पाउँछु । सायद तिमीलाई पनि त्यस्तै हुँदो होला ।

समय बित्दै गएपछि मानिसले त्यसलाई मीठो पलको रुपमा सम्झना गर्दोरहेछ । हो, त्यस्तै गरी तिम्रो र मेरो पिरतीका पलहरु पनि त्यस्तै गरी मीठो थियो । हो, एउटा मिठो घडी थियो हुरी जस्तै उडी गयो । जति नै मीठो भएर के गर्नु ? त्यो थाहै नपाई हुरी जस्तै कता–कता उडी गयो । धेरै–धेरैको सपना जस्तै हाम्रो पनि मीठो पल र सपना उडी गयो । आकाशमा माथि–माथि पुगेर बादलसँग मिसियो या अँध्यारोमा खसेर हरायो । या धुलो बनेर उडी गयो यात जलेर खरानी बन्यो ।
भन्थ्यौँ हामी, तिम्रो र मेरो माया जस्तो अजम्बरी माया कसको पो होला र ? अनि भन्थ्यो हामी, हाम्रो पिरती जुनी–जुनीसम्म अजम्बरी हुनेछ । तर, अजम्बरी मनको माला बेघडीमा नै चुँडी गयो । हो तिम्रो र मेरो माया केही वर्ष पनि बाँचेन । त्यो घायल भयो र मृत्यु शैय्यामा लम्पसार भयो र चितामा दनदनी बल्यो । केबल स्मृति बनेर आइरह्यो । माया पिरती अजम्बरी हुन्छन् भन्नेहरु ती झुठा रहेछन् । सबै–सबै नै च्यातिँदोरहेछ । सबै कुरा चुँडिदो रहेछ÷टुक्रिँदो रहेछ । चाहे त्यसमा कसैको दोष नै नहोस् तै पनि त्यो टुड्दो रहेछ थाहा नपाई । हो त्यस्तै भयो तिम्रो रे मेरो पिरती सम्बन्ध पनि । न गल्ती थियो मेरो पनि न दोष थियो तिम्रो ।

तिम्र्रो र मेरो कसैको दोषै छैन र पनि हामी दुई नदीका दुई किनार भइ गयौँ । एक हुनै सकेन यो दुईको प्यारो जिन्दगी । सँगै बाँच्ने, सँगै मर्ने धोको र बाचा अधुरै भयो अनि हेर्दाहेर्र्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी । च्यातिएको चिठी जस्तै भयो तिम्रो र मेरा जिन्दगी । कहिलेकाहीँ त यस्तो लाग्छ कि, आच्या पिरती भनेको यस्तै हो त ? तीन छक्कै पो परेँ म त । तिमी र म दिनभरि न्यानो घाम ताप्दै आकाश हेरेको त्यै चप्लेटी ढुङ्गामा उत्तानो पल्टेर सोच्दछु, अप्पुई, हेर्दा हेर्र्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी । च्यातिएको चिठी जस्तै भयो तिम्रो र मेरो जिन्दगी । अनि उड्यो परपरसम्म, माथि–माथिसम्म हामीले लेखेर च्यातेका असंख्य चिठीका टुक्राहरु हावामा र खसे कता–कता वन जङ्गलमा, रुखका पातहरु झैँ पिर्लिक्क–पिर्लिक्क गर्दै तिमी र मलाई अधमरो र अधुरो अवस्थामा छाडेर अनि बिस्तारै–बिस्तारै बिलाए सदाका लागि ।

तिमीले कतैबाट खोजेर ल्याएर रोपेको त्यो सानो पिपल र मैले पनि कतैबाट खोजेर ल्याएर रोपेको त्यो सानो बर चौताराको दायाँ बायाँ अब त ठूला भइसकेछन् । बरु तिनीहरु सँगसँगै छन्, तर हामी चाहिँ छुट्टिएछौँ बिना कारण नै कहिल्यै नभेटिने गरी । पालैपालो गरेर हामी मरेर गए पनि हामीले रोपेका वर–पिपलहरु बाँचिरहुन् युगयुगसम्म हाम्रो पिरतीको साक्षी बनेर ।
(चर्चित गायक कुमार सुब्बाको स्वरमा रहेको ‘हेर्दाहेर्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी’ बोलको गीतको भावानुसार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here