केमिकल लाइफ मात्र होइन जीवन

0
1170

हरेक मानवको जीवन भोगाईका सन्दर्भ, अनुभव र कथा फरक हुन्छन् । जीवन भोगाईका चरणमा मानिसमा दुई प्रकारका मानवीय संवेदनाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । एउटा सुखद् संवेदना र अर्को दुःखद् संवेदना । समग्रमा मानवीय संवेदनाभित्र प्रेम, घृणा, काम, क्रोध, लोभ, राग, मोह, अहंकार, स्नेह, हाँसो, रोदन, क्रन्दन आदि पर्दछन् । त्यसमध्ये संसारका प्रत्येक मानव कहीँ न कहीँ प्रेमरुपी संवेदनाको फन्दामा नपरेको सायद नै हुँदैनन् ।

हुन त आजकालका मानिसका लागि प्रेम एउटा मजाकको खेल जस्तै भइसकेको छ । किनकि प्रेमलाई हेर्ने दृष्टिकोणमा यति विकसित भइसकेको छ की यो केबल मानिसको मष्तिस्कमा हुने एक रसायनिक क्रिया प्रतिक्रियाको प्रतिफल मात्र भएको छ । हरेक विषय र जीवन भोगाइलाई वैज्ञानिक लोजिक लगाएर मात्र विश्वास गर्ने आदत बसेको आजको विश्व समाज प्रेमलाई केवल केमिकल फंशनको रुपमा बुझ्न थालेको छ । तर, मानवीय संवेदनाभित्रका यावत विषयलाई गम्भीर रुपमा बुझ्न र हेर्न हामी केही धैर्य र संवेदनशील हुन अत्यन्तै जरुरी रहेको छ ।

भूमिका लेखिए अनुसार मानिसको शरीरमा उत्पन्न हुने सुखद् र दुःखद् संवेदना नै मानवीय जीवनका दुई आयाम हुन् । दुःखद् संवेदनाले मानिसको शरीरमा उत्पन्न हुने चिलाईको अवस्थालाई बुझाउँछ भने त्यस चिलाइरहेको ठाउँमा कन्याइयो भने सुखद् संवेदनाको अवस्थालाई जनाउँदछ । आजको मानिसको सतही जीवनको जिउने कला यही चिल्याई र कन्याई मै रुमल्लिएको छ भन्दा फरक नपर्ला । किनकि यसप्रकारका मानवीय संवेदनालाई तटस्थ भएर हेर्ने र सुखद् र दुःखद् संवेदनाबाट विचलित नभई जीवनयापन गर्ने हाम्रो सोच हामीबाट कोसौँ भागिरहेको छ । संसारमा जीवन बारेमा बुझ्न मुख्यतया दुई प्रकारका अवधारणाको विकास भएको पाइन्छ ।
अलौकिकता
– ईश्वरकेन्द्रित अवधारणा
– आत्मकेन्द्रित अवधारणा
प्रकृतिवाद
– विषयगत अवधारणा
– ऐच्छिक अवधारणा
कतिपयले जीवनको उद्देश्यलाई क्षणिक हाँसो, खुशी र आफूलाई मनपर्ने वस्तुको खोजीमा बिताएको पनि पाइन्छ । एक अर्थमा यो पनि जीवनको पाटो नै हो । तर, दार्शनिक दृष्टिकोणमा जीवनदर्शन जति गहिरो विषय अरु छैन । मानव जीवनलाई हेर्ने कतिपय विद्वानहरु तुलनात्मक दृष्टिकोणबाट प्रताडित पनि छन् । तर, जीवनदर्शन तुलनात्मकभन्दा अनुभवात्मक दृष्टिले अध्ययन गर्ने विषय हो । मानव विकासको इतिहासमा भोगिएका, देखिएका र सुनिएका अनुभवबाट मात्र यथार्थ जीवनको रहस्यसम्म पुग्न सहज हुन्छ ।

अलौकिक वा अध्यात्मिक अवधारणाले ध्यान र योगको अवस्थामा मानिस निर्विचार हुन्छ । त्यसबेला मानवमा कुनै भाव वा संवेग हुँदैन । ऊ केमिकल लाइफभन्दा माथि उठिसकेको हुन्छ । यो बेलाभन्दा फरक समयमा जाग्ने संवेदना भनेको सबै मनका गणित र मनोदशा मात्र हुन् । किनकि मानवीय स्वभाव अनुसार प्रेमदेखि विछोडसम्म र चुम्बनदेखि सेक्ससम्म सबै रसायनिक जीवनका भोगाइहरु हुन् । तर, जीवनको सदुपयोग यति मात्रमा सिमित राख्नु भनेको जीवनको सही र सत्य प्रयोग होइन ।

वैज्ञानिकहरु भन्दछन् मानव शरीरभित्र डोपामायन नामक रसायन हुन्छन् । जसले प्रेमी वा प्रेमिकालाई उत्तेजित गराउन भूमिका खेल्दछन् । तर, जीवनदर्शनले कुनै साथी बिना पनि हामी प्रेमको अद्भूत आनन्द लिन वा महशुस गर्न सक्छौँ । जसको लागि हामीले प्राकृतिक स्रोत र विधिबाट शरीरमा खुशी, आनन्द र प्रेमभाव जगाउन सक्छाँै । शारीरिक व्यायाम, सूर्य नमस्कार र स्नान, फोटोग्राफी, चित्रकला, संगीत । सिर्जनात्मक कार्यबाट पनि जीवन आनन्द लिन सकिन्छ । केमिकलयुक्त वस्तुबाट मात्र जीवन आनन्द लिने भावादेशबाट मुक्त भई अनावश्यक तनावबाट छुटकारा पाउन सकिन्छ ।
यसका अनुपम उदाहरण पनि हामीले नसुनेका र नपढेका पक्कै होइनौँ । जस्तो की ध्यानमार्गबाट भगवान बुद्ध प्रेम र करुणामय भएका थिए भने ओशोले प्रेम कै गीत गाएका थिए । मीराले प्रेम भक्ति गरेकै हुन् । भगवान कृष्णले रासलिला रचाएकै हुन् । देवकोटाले मुनामदन मार्फत आत्मिक प्रेम मिलन गराएकै हुन् ।

रसायनिक जीवनमा रम्नु भनेको भौतिक बिलासिता मात्र हो । जीवन भौतिक सुखसयल र संवेदनाको लागि मात्र होइन भनेर बुझ्न जरुरी छ । तसर्थ, केमिकल लाइफ मात्र बाँचेर सुन्दर मानव जीवन खेर जान दिनुहुँदैन । भौतिक विलासिता क्षणिक आनन्दको पाटो हो त्यसैले धेरै केमिकल लाइफले क्षणिक संवेदना शान्त गर्ला, तर वास्तवमा जीवनको अर्थबोध गराउँदैन । कोही केही नहँुदा पनि सन्तुष्ट छन् भने कोही पर्याप्त हुँदा पनि असन्तुष्ट ।

केही नहुँदा पनि सन्तुलित जीवन जीउने कलाले जीवन विचलित हुनबाट जोगाउँछ भने भएर पनि नपुग्ने विलासिताले लोभ र मोहमाथि विजय प्राप्त गर्न सक्दैन र अन्ततः रसायनिक जीवनमा लिप्त हुन पुग्दछ । भूत र भविष्यको धेरै चिन्ता गर्ने परिपाटीले पनि अनावाश्यक केमिकल उत्पन्न गर्न मद्दत गर्दछ । तसर्थ, वर्तमान सुन्दर बनाउनतर्फ सचेत हुनु पर्दछ । जसको लागि सकारात्मक चिन्तनको जरुरत हुन जान्छ । जसरी गाडीको स्टेरिङ ड्राइभरको हातमा हुन्छ त्यसरी नै हाम्रो जीन्दगीको स्टेरिङ हाम्रो हातमा हुन्छ, मात्र त्यसलाई सही मार्गमा हिँडाउन सके जीवन सुन्दर छ ।

जो मान्छेलाई जाँड रक्सी सेवनले असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसको सेवन गर्छ । त्यस्तो मानिसले जीवन सुन्दर बनाउन सक्दैन । जसले आफ्नो जीवन अर्काको देखासिकी र आदेशमा चलाउँछ उसलाई जीवनको असली मोल आफ्नो क्षमताको ज्ञान कहिल्यै हुँदैन । तसर्थ, जीवन केमिकल मुक्त बनाई प्राकृतिक र सामाजिक बनाउने हो भने सकारात्मक सोच नै मुख्य उपाय हो । सकारात्मक सोचका साथ समाजमा एकाकार हुन सक्ने मानिसले मात्र समाजमा स्थान बनाउन सक्दछ । अनि मात्र मानव जीवन सुखी र खुशी रहन सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here