महिलालाई बाख्रापालनका लागि अनुदान

0
514

कञ्चनपुर, 

विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।

नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई रु तीन हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि व्यहोर्ने सहमति गरिएको छ ।

“महिला आर्थिकरूपमा सक्षम भए घरेलु हिंसाका घटना कम हुन्छन्”, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले भन्नुभयो, “महिलालाई आर्थिकरूपमा सक्षम बनाउनकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ”, नगरपालिकाको दुवै वडाका २५÷२५ महिलालाई छुट्टाछुट्टैरूपमा तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनुका साथै महिलाको सामाजिक, आर्थिक अवस्था सुदृढ गर्ने, बचत बढाउनका लागि सीप क्षमताको विकास गर्ने र उत्पादनशील क्षेत्रमा पूँजी परिचालन गर्नका लागि उत्प्रेरित गर्न तालिमसँगै अनुदान रकम दिइएको उहाँको भनाइ छ । नगरपालिकाको महिला शाखाले गठन गरेका महिला विकास समिति, संस्था र समूहमा आवद्ध महिलाले अनुदान रकम पाएका छन् ।

पशु शाखाका पशु विकास अधिकृत रामदत्त भट्टले सातदिने तालिमका क्रममा महिलालाई उन्नत बाख्रपालनसँगै खोर सुधारबारे जानकारी दिइएको बताउनुभयो । “व्यवसाय प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने सीपसमेत महिलालाई सिकाएका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापलनमा संलग्न हुने महिलालाई आहार व्यवस्थापनबारे समेत जानकारी दिइएको छ ।”

“हाडनाताबाट जन्मने बाख्रा ख्याउटे हुने, गर्भ तुहिने र वृद्धि विकाससमेत कम हुने भएकाले क्रस ब्रिडिङ गराउनुपर्ने कुरा सिकाएका छौँ”, उहाँले भन्नुभयो, “सन्तुलित घाँस व्यवस्थापन गर्नका लागि डालेघाँस, कोशे–अकोशे जातका घाँस लगाउनुपर्ने र सन्तुलित दाना बाख्रलाई खुवाउनुपर्ने कुरा तालिमका क्रममा बताएका छौँ ।” दुवै वडाका महिलालाई रु एक लाख ५० हजार रकम अनुदानका रूपमा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here