तीर्थराज खरेल
नेपाली राजनीतिक आकाशका दुई उज्ज्वल नक्षत्रहरुको नाम लिंदा जननायक बी.पी. कोइराला र जननेता मदन भण्डारीलाई लिन सकिन्छ । दुवै जना आ–आफ्नो राजनीतिक धारका आफ्नो समयका सबैभन्दा अग्रणी नेताको रुपमा रहेका थिए । उनीहरु मृत्यु पर्यन्त पनि उत्तिकै लोकप्रिय रहेका छन् र उनीहरुकै सिद्धान्त र विचारको मार्गनिर्देशनमा नेपाली कांग्रेस र नेकपा(एमाले) हिंडिरहेको विश्वास गरिन्छ । कोइरालाको जन्म १९७१ साल भाद्र २४ गते भारतको बनारसमा भएको थियो । उनको जन्म हुँदा उनका बाबु कृष्णप्रसाद कोइराला ५० जनाभन्दा ठूलो आफ्नो परिवारसहित भारत प्रवासमा बस्तथे । तत्कालीन श्री ३ महाराज चन्द्रशम्शेरलाई अत्यन्त गरिब भरियाको जीवन हेरेर शासन गर्न अनुरोध गरेको अपराधमा उनले प्रवास भासिनु परेको थियो । कृष्णप्रसादमा समाजका पददलित वर्गप्रति अपार स्नेह थियो । यसरी बी.पी.मा अत्यन्तै कलिलो उमेरदेखि नै राजनीति पसेको थियो । स्कटिश चर्च कलेज कलकत्ताबाट आई.ए., बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा बी.ए. र कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका बी.पी.ले दार्जिलिङमा केही वर्ष वकालती पनि गरे । उनी २४ वर्षको हुँदा उनको सुशिला उपाध्यायसँग विवाह भएको थियो । आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा, राष्ट्रवादी बी.पी.ले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिनुप¥यो । आजीवन प्रजातन्त्र र राष्ट्रियताका लागि लडेका कोइराला राजनीतिमा समाजवादी र व्यवहारवादी थिए । उनी भत्रे गर्थे — ‘म राजनीतिमा समाजवादी हुँ र साहित्यमा अराजकतावादी ।’ उनी नेपालको राजनीतिक आन्दोलनका यस्ता हस्ती हुन् जो निरंकुश शासकका सामु लत्रेनन्, बरु अटुट रुपमा सत्ताको विपरित धारमा उभिइरहे । नदीको प्रवाहको विपरित धारमा उभिनु ज्यादै कठिन भए झैं राजनीतिमा उल्टो धारमा उभिनु ठूलो जोखिमपूर्ण कुरा हो । हो, उनले त्यही रोजे जुन अत्यन्तै अप्ठेरो थियो । उनी राणा र पञ्चायती शासकहरुबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै झुकेनन्, राष्ट्रियता र प्रजातन्त्रप्रति निरन्तर आस्थावान रहे । उनले जीवनभर देश र जनताकै लागि संघर्ष गरिरहे । २००८ साल असार (जुन २७, १९५२)मा ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेका मदन भण्डारीको नेपाली र संस्कृतमा राम्रो दख्खल थियो । मेदिबुङ विद्यालयमा प्रारम्भिक शिक्षा र बनारसबाट उच्च शिक्षा हासिल गरेका भण्डारीले कम्युनिष्ट पार्टीमा लाग्ने प्रेरणा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट पाएका थिए । शुरुमा पुष्पलाल समूहको सांस्कृतिक फाँटमा आबद्ध भण्डारी नक्सलवादी आन्दोलनबाट प्रेरणा प्राप्त गरेर शुरु गरिएको झापा विद्रोहको जगमा निर्माण गरिएको शुरुको को.के. र पछि २०३५ सालमा स्थापित नेकपा(माले)को संस्थापक केन्द्रीय सदस्य भए । २०५० साल जेठ ३ गते एमालेका तत्कालीन महासचिव रहेका भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यपूर्ण रुपमा जीप दुर्घटनमा निधन भएको थियो । अहिले पनि एमालेमा जनताको बहुदलीय जनवाद सबैको साझा कार्यक्रम रहेको देखिन्छ । जनताको बहुदलीय जनवादको उपादेयता, यसको प्रयोग र आजसम्मका उपलब्धी तथा कमीकमजोरीका बारेमा निरन्तर छलफल र बहस भइरहेका छन् । यो बहसलाई अस्वभाविक मान्न हुँदैन । मदन भण्डारीले नेकपा(माले)को २०४६ साल भदौमा भएको चौथो महाधिवेशनमा कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार्ने प्रस्ताव राखेर पारित गराए पनि त्यतिबेला त्यसले उति चर्चा पाएन ।
२००७ सालका क्रान्तिका योद्धा बी.पी. कोइरालालाई धेरै पटक आफ्नै साथीहरुले धोका दिए र उनलाई त्यागेर स्वार्थ र त्रासले अधिनायकवादी शासकहरुको पक्षमा उभिए, तर बी.पी. कहिल्यै विचलित भएनन् । उनले लोकतन्त्रका लागि धेरै पटक आफ्नो जीवनको जोखिम उठाएका थिए । २०१५ सालको आम निर्वाचनमा १०९ सिट मध्ये उनको दल नेपाली कांगे्रसले ७४ सिट जितेर दुई तिहाई बहुमत ल्याउँदा पनि राजा महेन्द्रले कैयौं हप्तासम्म सरकार गठनका लागि बी.पी.लाई बोलाएनन् । २०१६ साल जेठमा मात्र उनको नेतृत्वमा सरकार बन्यो । सरकार बनेपछि ग्रामीण अर्थतन्त्रमुखी विकासका कार्यक्रमहरु सहित क्रान्तिकारी बाटोमा अघि बढेपछि राजा महेन्द्रसँग उनको वैचारिक तथा सैद्धान्तिक मतभेद गहिरिँदै गयो । आफ्नो आरामदायक बहुमत भएकाले संसदबाट जनपक्षीय भूमिसुधार कानुन पारित गरेपछि तत्कालीन नेपाली सेनामाथि द¥हो पकड भएको सम्भ्रान्त जमिनदार वर्गले बी.पी. कोइरालालाई शत्रु देख्यो र उनी सत्तामा बसिरहनुलाई खतरा देख्यो । राजा महेन्द्र परम्परावादी शक्तिको नेतृत्व गर्थे । २०१७ साल पौष १ गते राजा महेन्द्रले संविधान निलम्बन गरे, मन्त्रीपरिषद् र संसद भंग गरी आफ्नै प्रत्यक्ष शासन शुरु गरे । प्रजातन्त्रका लागि बी.पी. राजासँग झुकेनन् र उनलाई कुनै मुद्धा नचलाई जेल हालियो । प्रजातन्त्रवादी एक महान नेतालाई बिना कानुनी उपचार एकान्त जेलमा सारा दुनियाँका आँखाबाट पुरै अलग गरेर राखे राजा महेन्द्रले र रोपे पञ्चायतको नाममा एकदलीय अप्रजातान्त्रिक व्यवस्था । लोकतन्त्रको खरानीमाथि अधिनायकवादको स्तम्भ खडा भो । जस्तासुकै बिघ्नबाधा आए पनि कोइराला लोकतन्त्रको पक्षमा सतिसाल झैं ठिङ्ग उभिइरहे । कम्युनिष्ट आन्दोलनभित्रको संशोधनवादी धारसँग संघर्ष गर्ने क्रममा २०२८ सालमा पञ्चायत विरुद्धमा नक्सलवादी विचारबाट प्रभावित झापाका केही युवाहरुले हतियार उठाए, जसलाई नेपाली इतिहासमा झापा आन्दोलन भनिन्छ । त्यो घटनालाई कम्युनिष्ट पार्टीका मुर्धन्य नेताहरुले आतंकवादी क्रियाकलाप भनेर दुत्कारे, तर बी.पी.ले प्रक्रियामा कमीकम्जोरी रहे पनि सारमा निरंकुशता विरुद्ध युवाहरुको आक्रोश र विद्रोह भन्दै त्यसको समर्थन गरे । २०२८ साल माघ १६ मा महेन्द्रको अवसान पछि बेलायत र संयुक्त राज्य अमेरिकामा उच्च शिक्षा लिएका वीरेन्द्र राजा भए, बी.पी.ले उनीबाट ठूलो अपेक्षा राखेका थिए । तर सोचे जस्तो भएन, त्यसैले २०३१ सालमा भारतमा बसेर पञ्चायत विरुद्ध उनले सशस्त्र विद्रोह शुरु गरेका थिए, जसलाई पञ्चायती शासकहरुले निर्ममतापूर्वक दबाए । ईन्दिरा गान्धीले भारतमा बसेर नेपाल सरकारविरुद्ध कामकार्वाही गर्न नदिएपछि आफू र आफ्ना साथीहरु पुराणमा वर्णित दैत्य र गहिरो समुद्रको वीचमा परेको महसुस गरी राक्षसको मुखमा परेर मर्नु भन्दा गहिरो सागररुपी आफ्नै मातृभूमिमा अधिनायकवादी शासकहरुको पञ्जामा परेर मर्नु निको सम्झेर २०३३ साल पुष १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्के । स्वदेश फिर्तीपछि उनका विरुद्धमा फाँसीको माग गर्दै नारा लागे, उनलाई पक्रेर दर्जनौं मुद्धाहरु लगाइयो र राजद्रोहको आरोपमा मृत्युदण्ड दिने तयारी भयो । जनताको छिप्पिदैं गएको रापिलो चेतनाको प्रभाव, गिर्दै गएको उनको स्वास्थ्य स्थिति तथा विदेशी मित्रराष्ट्रहरुको अनुरोधमा उनी रिहा गरिए र उनीमाथि लागेका आरोप फिर्ता गरिए । उनी सदैव लोकतन्त्रप्रति प्रतिबद्ध रहे । लामो समयदेखि क्यान्सर पीडित कोइरालाको २०३९ साल साउन ६ गते काठमाण्डौंमा निधन भयो र लाखौं प्रजातन्त्रप्रेमी समर्थक शुभचिन्तकहरुको उपस्थितिमा पशुपति आर्यघाटमा उनको अन्त्येष्टी गरिएको थियो ।
मदन भण्डारीलाई नेकपा एमालेभित्र एक सिद्धहस्त सिद्धान्तकार, कुशल संगठनकर्ता र प्रभावशाली वक्ताको रुपमा उच्च सम्मानका साथ हेरिन्छ । उनलाई कम्युनिष्ट आन्दोलनभित्र मौलिक सिद्धान्तका प्रतिपादक मानिन्छ र उनीबाट प्रस्तुत र एमालेको वि.सं. २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले बहुमतले पारित गरेको जनताको बहुदलीय जनवादका कारणले उनी नेपाली जनमानसमा आजपर्यन्त लोकप्रिय छन् । राष्ट्रवादी छवि लिएर नेपाली राजनीतिक आकासमा ज्वाज्वल्यमान धुमकेतु नक्षत्रका रुपमा उदाएका भण्डारी विपक्षीलाई तर्क सहित ललकार्न सक्ने नैतिक साहस भएका प्रतिभाशाली राजनेता थिए । राष्ट्रप्रतिको उनको श्रद्धा, नेपाली जनताप्रतिको उनको गहिरो माया र सामाजिक परिवर्तनको मुद्धामा उनको स्पष्ट अडानकै कारणले उनको हत्या भएको आम सोचाइ छ । मनोहारी भाषणकलाका धनी भण्डारीले विश्व कम्युनिष्ट आन्दोलन र विशेष गरी नेपाली कम्युनिष्ट आन्दोलनको गहिरो संश्लेषण गरी कम्युनिष्ट आन्दोलनको मौलिक बाटोको खोजी गरेका थिए । त्यसलाई उनले जनताको बहुदलीय जनवादको रुपमा प्रस्तुत गरे । बहुदलीय प्रतिष्पर्धालाई स्वीकारी संसदीय व्यवस्थामा भाग लिएर क्रान्तिको सहजीकरणका लागि क्रान्तिपूर्व पनि कम्युनिष्टहरु सरकारमा जान सक्छन् भन्ने जबजको सार थियो । क्रान्तिपूर्व बनेका सरकारले सुधारका कामहरु गर्दै जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ र यसरी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा प्रतिक्रान्तिकारीबाट हुने अवरोध हटाउन बल प्रयोग गर्नुपर्ने हुन्छ भन्ने भण्डारीको जबजको सार हो । कम्युनिष्ट आन्दोलनले धक्का खानुपर्ने मूल कारण सर्वहारा अधिनायकत्वप्रतिको गलत बुझाइ नै हो भन्ने उनको सोचाइ थियो । सर्वहारा अधिनायकत्वको प्रयोग गर्दा कम्युनिष्ट पार्टीको विपक्षमा कानुनतः कुनै शक्ति नहुनु र पार्टी भित्रको नेतृत्वको सोचाइको विरुद्धमा उभिन सक्ने गरी अन्तरपार्टी जनवादको अति कम अभ्यास हुने परिपाटी हुनुले कम्युनिष्ट मुलुकमा व्यक्तिगत पूँजीवादको ठाउँमा राजकीय पूँजीवादको विकास हुने खतरालाई मदनले रसिया, चीन र पूर्वी युरोपको उदाहरण दिंदै प्रष्ट पारेका थिए । प्रतिक्रान्तिको पक्षमा उभिएर जनताको बलिदानबाट प्राप्त उपलब्धीलाई ध्वस्त गर्न चाहने विध्वंशकारी शक्ति बाहेक अन्य वर्ग र समुदायमाथि अधिनायकत्व लादेर मात्र क्रान्तिको निरन्तरता हुनसक्छ भनी ठान्नु विश्व कम्युनिष्ट आन्दोलनका इतिहासका भूलबाट सिक्न नचाहनु हो भन्ने उनको ठम्याइ थियो । कम्युनिष्ट आन्दोलन र क्रान्तिका उच्चत्तम उपलब्धीलाई गैरकम्युनिष्टहरुले उपयोग गरी आफ्ना सिद्धान्त र समाज विकासका विविध क्षेत्रमा प्रयोगमा ल्याए भने पूँजीवादले विकास गरेका श्रेष्ठ विचार र सिद्धान्तलाई जनताको हितको निमित्त कम्युनिष्टहरुले आत्मसात गर्नुपर्ने विचार मदन भण्डारीको थियो । कम्युनिष्टहरुले पनि आफू जनताबाट श्रेष्ठता कायम भएको पुष्टी गर्न जनताबाट अनुमोदित हुन आवश्यक छ र जनताबाट अनुमोदित भएपछि मात्र कम्युनिष्टले शासन गर्नुपर्छ भन्ने उनको स्पष्ट निष्कर्ष थियो । माक्र्सवाद जडसूत्र होइन, लेनिनको भाषामा माक्र्सवाद गतिशील सृजनात्मक विज्ञान हो । माक्र्सवादले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सिकाउँछ । जर्मन कवि गोएथे भन्छन्–जीवनको रंग हरियो हुन्छ, सिद्धान्तको रंग खैरो हुन्छ । गोएथेको यो विचारलाई फ्रेडरिक एंगेल्सले आफ्ना रचनामा उद्धृत गरेका थिए । सिद्धान्त जीवनका लागि हो तर जीवन सिद्धान्तका लागि होइन । जीवन अघि बढ्दै जान्छ र त्यसलाई सिद्धान्तले पछ्याउँदै जान्छ । तसर्थ माक्र्सवादद्वारा अनुप्राणित सृजनात्मक सिद्धान्तहरु फगत बन्द कोठाको खोपीमा राखिने मात्र पुजिने अलौकिक वस्तु हुन सक्दैनन् । ती त निरन्तर जनताको माझमा दैनन्दिन जीवनमा आइरहने जीवनोपयोगी सिद्धान्त हुनुपर्छ भन्ने भण्डारीको स्पष्टोक्ति थियो । क्रान्तिपूर्व क्रान्ति सम्पन्न गर्न सघाउ पुग्ने गरी सरकार बनाउन सकिन्छ । सुधारका काम गर्दै सामाजिक तथा तलको संघर्षलाई माथिको संघर्षसँग जोडी बलपूर्वक फड्को मार्ने र जनवादी क्रान्ति सम्पन्न गरी समाजवादमा प्रवेश गर्ने जनताको बहुदलीय जनवादको मूल मर्म हो ।
कोइराला र भण्डारी दुवैजना बहुदलीय प्रतिष्पर्धालाई स्वीकार्ने र सबै जनताको वीचमा समानता हुनुपर्ने समाज निर्माण गर्ने सपना बोकेर आन्दोलनको अग्रिम पंक्तिमा उभिने नेताहरु हुन् । उनीहरुको वीचमा रुपमा धेरै भिन्नता भए पनि दुवै जना जनताको हित चाहने र नेपाललाई समृद्ध एवम् लोकतान्त्रिक मुलुक बनाउने ध्येय राख्ने राजनेता हुन् । बी.पी.लोकतान्त्रिक समाजवादका पक्षपाती थिए भने मदन जनताको बहुदलीय जनवादका हिमायती थिए । दुवै नेता सिद्धान्त र विचारको हिसाबले नेपालका सर्वोत्तम नेता हुन् तर दुवै जना दमनकारी शासकहरुको षडयन्त्रको शिकार भएर आफूले सोचेका काम गर्न नसकेका नेता पनि हुन् । उनीहरुले बाटो दिए, व्यवहारमा लागु गर्ने आजकाले हो ।