लगातारको वर्षाले किसान दिक्क

0
438

गोपालप्रसाद बराल /महोत्तरी, 

लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन आज पनि नथामिएपछि किसान विरक्त भएका हुन् । खेत गह्रा पानीले डम्म भरिएका छन् ।

भर्खरै एक साताअघिको वर्षापछि राखिएको बर्खे धान र कोदोको ब्याड पानीले डुबाएको छ । अघिल्लो वर्षाले लहलहाएका मकैका बोट बिहीबार साँझ वर्षा शुरु हुनपूर्वको वेगले बहेको हुरीले सोतर बनाएर लडाएको छ । झमझम साउने झरी झैँ पानी परी रहेपछि काममा निस्कन नपाएर किसान छट्पटिएका छन् ।

“एक साताअघि गोडेको मकै हुरीले लडाएर सोतर बनेको छ, हुरीले तरकारीका बेलापात चुँडाएर हुत्यायो, फलेका आँप बग्रेल्ती झा¥यो सहनै परेको छ”, बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वा भन्नुहुन्छ, “रोगको महामारी अहिले नै प्रतिकूल वर्षा अहिले नै ! खै सबै हामीमाथि खनिएजस्तो छ, उठ्न नदिने भयो क्यार ?”

बर्खे धान र कोदो रोप्न ढिलो भइरहेको बेला ब्याड नै डुबेपछि बीउ गल्ने किसानको चिन्ता छ । सबैतिर पानी डम्म भरिएर काट्ने ठाउँ नहुँदा बीउ गल्ने चिन्ता बढेको भङ्गाहा–४ का किसान बहुरा महतो बताउनुहुन्छ । “पहिले राखेको ब्याड डुबेर गल्ने भयो, अब राख्दा ढिलो हुन्छ, ल भन्नोस् अब हामीले कसरी गरी खाने ?”, महतोको अजङ्गको प्रश्न छ ।

लगातारको वर्षाले चरन क्षेत्र डुब्दा घरपालुवा जनावरको बिजोग भएको छ । लगातार गोठमा कोचिएर रहेका जनावर भोकले कराउँदा मन भक्कानिने गरेको भङ्गाहा–३ कटैयाका पशुपालक किसान रामराजी यादव बताउनुहुन्छ । लगातारको वर्षाले पशुवस्तुको आहारा जोहो गर्न नसक्दा बिजोग हेरेर बस्नु परेको यादवको भनाइ छ ।

वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । कैयौँ ठाउँमा बस्ती डुब्न नदिन सडक काटेर पानी बगाउनु परेको छ । सडक निर्माणताका नै पानीको निकास प्रबन्ध नगरिँदा अहिले सडकको दुरावस्था भएको ग्रामीण सर्वसाधारण बताउँछन् ।

कोभिड–१९ महाव्याधि छल्न गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवधि बढाएर यही जेठ २० गतेसम्म पु¥याइएको छ । व्याधिको प्रकोप झेलिरहेका सर्वसाधारण अहिलेको प्रतिकूल वर्षाले खेतीपाती गर्न नदिएपछि अबको गुजारा कसरी चलाउने भन्नेमा रनभुल्ल परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here