माई खोलाको पानी गाउँ पस्दा ८४ घर डुबानमा, स्थानीयलाई अन्यत्र सारियो

0
806

झापा,

झापा गाउँपालिका-१ स्थित मिलन बस्तीका घर डुबानमा परेका छन्। बुधबार राति परेको अविरल वर्षापछि ठूलो माई खोलाको पानीको बहाव ह्वातै बढेपछि गाउँमा पानी पसेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। माई खोलाको पानी गाउँमा पस्दा त्यहाँका ८४ घर डुबानमा परेका छन्।

घरभित्र साढे २ फिट जति पानी छिरेकाले त्यहाँका स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको डिएसपी थापाले बताए। इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले स्थानीय पालिकासँग समन्वय गरेर स्थानीयलाई अन्यत्र सारेका हुन्।

‘खोला नजिकै रहेको मिलन बस्ती बाढीको उच्च जोखिममा पर्छ, अहिले खोलाको पानी घट्ने क्रममा छ,’ डिएसपी थापाले भने, ‘फेरि ठूलो पानी परेमा गाउँबासीलाई जोखिम हुन सक्छ, त्यसैले उनीहरूलाई प्रहरीले बेलैमा सचेत गराइसकेको छ।’

जिल्लाको कनकाई, माई, मेची, निन्दा, मावा, विरिङलगायत खोलामा पानीको बहाव बढेको छ। त्यसैले नदी तथा खोला आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई बाढीबाट जोगाउन जिल्ला विपद् व्यवस्थापन समितिले सचेत गराउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here