सुन पसलमा दिउसै लुटपाटको प्रयास गर्ने हतियारधारी समूहका ६ जना पक्राउ

0
1082

झापा ।

मोरङको सुन्दरहरैचा–१० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते दिउसै लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

गत साउन १ गते मोरङस्थित सुन्दरहरैचा–१० त्रिवेणी चोकमा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहमा संलग्न रहेका मध्ये ६ जनालाई मोरङकै केराबारी क्षेत्रबाट पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो समूहबाट सुन पसल लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोलसहित छ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ ।

पक्राउ परेको समूह सोही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । यो समूहको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं. प्रदेश प्रहरी कार्यालयको (रिट) समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टिम परिचालित भएको थियो । घटना भएको १२ औँ दिनपछि यो समूहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेकाहरूको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा संखवासभा सभापोखरी गाँउपालिका–४ घरभई हाल इटहरी उपमहानरपालिका–२० तरहरामा डेरा गरी बस्ने ३९ वर्षीय प्रकाश भनिने चन्द्रबहादुर राई, सुनसरीको गढी गाँउपालिका–१ का ४५ वर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बारबिसे गाँउपालिका–६ घर भई हाल इटहरी उपमहानगरपालिका–२० तरहरामा डेरागरी बस्ने ३० वर्षीय चिरञ्जिवी राई, मोरङको सुन्दरहरैचा नगरपालिका–५ बस्ने २२ वर्षीय मिशन राई, भोजपुरको पौवादुम्मा गाँउपालिका–३ घरभई हाल इटहरी उपमहानगरपालिका–२० तरहरामा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङको सुन्दरहरैचा–७ का ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेकाहरूको अन्य सदस्य समेतको खोजी भइरहेको प्रहरी स्रोतले बताएको छ । यो हतियार प्राय नेपाली सेना, सशस्त्र प्रहरी र सीमित सङ्ख्यामा नेपाल प्रहरीले मात्र प्रयोग गर्ने हतियार हो । यो हतियार तत्कालीन जनयुद्धमा माओवादी र विप्लव समूहले समेत प्रयोग गर्ने गर्ने गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिमिनेट ५ सय राउन्ड फायर गर्ने क्षमताको यो हतियारमा ३२ राउन्डको म्यागजिन लाग्ने गर्दछ । यसले दुई सय मिटरको दुरीमा असरदार क्षति गर्न सक्छ । यसलाई फोल्ड गर्न सकिने भएकाले झोला भित्र यो सहजै राख्न मिल्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here