झापा ।

इलामको सूर्योदय नगरपालिकामा रहेका किसानहरूको चिया उत्पादनको मूल्यमा शोषण भएको भन्दै नेत्रविक्रम चन्द्र नेतृत्वको विप्लव माओवादीले आपत्ति जनाएको छ ।
नेकपा इलामले किसानको पक्षमा विज्ञप्ति जारी गर्दै उक्त घटनाको खेद र निन्दा प्रकट गरेको छ । किसानहरूको चियाको मूल्य यतिबेला २० रुपैंया बनाइएको छ । यसले किसानहरू धेरै ठूलो मारमा परेका छन् ।
नगरपालिकाले कार्यविधि नै बनाएर उत्पादित चिया बाहिर बेच्न नपाउने भनेर त्यहीँका बिचौलिया व्यापारिहरूलाई पोस्ने नीति बनाएको भन्दै विप्लव नेतृत्वको माओवादीले आपत्ति जनाएको छ । उसले यतिबेला बिचौलियाले मनपरी दाम तोकेकोको भन्दै मनपरी रोक्न चेतावनी समेत दिएको छ ।
इलाम सेक्रेटरी मौसमले सोमबार एक विज्ञप्ती जारी गर्दै उत्पादित चिया बाहिर बेच्न पाउनुपर्ने, कार्यविधि मिच्नेहरूलाई कारवाही गर्नुपर्ने, कार्यविधि अनुसारकै भएपनि मूल्य प्रदान गर्नुपर्ने लगायतका मागहरू अघि सारेका छन् । किसानहरूको माग पूरा नगरे प्रतिरोध संर्घषमा उत्रने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ,– ‘इलाम जिल्लामा चिया उत्पादन हुने मुख्य क्षेत्र सुर्योदय नगरपालिका हो । त्यहाँस्थित चिया किसानको उत्पादनको मूल्यमाथि भइरहेको चरम शोषणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सुर्योदय नगरपालिकाले ‘चिया कार्यविधि–०७५’ जारी गरि किसानले स्वतन्त्र रुपमा चिया बाहिर बेच्न नपाउने, चियाको मूल्यप्रति केजी रु. ४० अनिवार्य दिने जस्ता बजार एकाधिकार र सिण्डिकेट लाद्न पुग्यो । यसको मारमा किसानहरू त छँदै थिए, यतिबेला त्यहाँका बिचौलिया व्यापारीहरू कार्यविधिलाई समेत धोती लगाएर किसानको चियाप्रति केजी रु. २० तोक्दै किसानमाथि घोर अन्याय गरिरहेका छन् । श्रम, पसिनाले जिविकोपार्जन गर्ने किसानहरू माथिको यसप्रकारको रवैया खेदजनक र निन्दनीय रहेको छ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अतः किसानलाई सिजन अनुसारको दाम दिन, कार्यविधिले तोके अनुसारको दामप्रति केजी रु. ४० लाई अनिवार्य गर्न, एकाधिकार बजारको अन्त्य गरि स्वतन्त्र प्रतिस्पर्धामा चिया बाहिर बेच्न पाउने किसानको माग पूरा गर्न सम्बन्धित सूर्योदय नगरपालिका र सरोकारवाला सबैलाई अनुरोध गर्दछौँ । बिचौलिया व्यापारी पोस्ने र उनीहरूको सुरक्षा मात्र गरेर किसानमाथि गरिने अन्याय तुरुन्त नसच्याएर जारी राखे किसानहरूले प्रतिरोध सङ्घर्ष गर्ने विषय यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ ।’































