रक्षाबन्धनमा चेलिमाइती

0
1330

प्रेमको बन्धन , बिवाहाको बन्धन , मित्रताको बन्धन जस्ता अनेकौं बन्धनहरुको बिचमा एक विशेष , आत्मिक र अटुट बन्धन हो रक्षाको बन्धन । रक्षा बन्धन केवल एक दिनको चाड मात्र नभएर यो एक सुनौलो अवसर हो: दिदी बहिनी र दाजुभाइको आत्मिय सम्बन्ध नजिक र प्रगाढ बनाउने ।

आजको दिन हातमा बाधिने ती राखी र डोरोको धागोहरु केवल निर्जीव धागो मात्र होइन: यो एक बिस्वास हो: एक आशिर्वाद हो । दिदीको आफ्नो भाइ प्रतिको ममता, त्याग र समर्पणको प्रतीक हो भने: बहिनिको आफ्नो दाइ प्रतिको आड, भरोसा र उल्लासको चिन्ह हो ।

रक्षा बन्धनको उल्लेख महाभारत कालमा पनि भएको यताकता पाउन सकिन्छ । भगवान श्री कृष्णको एक काकीको सन्तानको रुपमा शिशुपाल नाम गरेको एक बालकको जन्म भएको थियो । बालक कुरुप र अपांग थिए: जसको कारण यो भबिस्यबाणी भएको थियो कि जसले शिशुपालको शारीरिक अवस्थामा परिवर्तन ल्याउछ उसकै हातबाट शिशुपालको मृत्यु हुनेछ ।

केही समय पछि एक दिन श्रीकृष्ण भगवान आफ्नो काकिको घरमा आउदा काकिले संयोगबस बालक शिशुपाल लाई श्रीकृष्णको हातमा राख्न पुग्नुभयो । भगवान कृष्णको स्पर्शले शिशुपाल पुर्ण रुपमा सुन्दर र स्वास्थ भए ।

आमा धेरै खुसी त थिइन : तर त्यही एक भबिस्यबाणीको कारण छोराको मृत्यु श्रीकृष्ण को हातबाट नहोस भनेर भगवान कृष्णलाई धेरै प्राथना गरिन । अन्ततः शिशुपालको एक सय गल्ती सम्म माफ गर्ने तर गल्तिहरु एक सय एक पुगेमा जे पनि हुन सक्ने आशिर्वाद र चेतावनी उनलाइ प्राप्त भयो ।

जति ठूलो हुँदै गए त्यति शिशुपालको गल्ती , अपराध र अन्यायको सिमा बडदै गइरहेको थियो । जति रोक्न खोज्दा पनि श्रीकृष्ण लाई नै आफ्नो शत्रु मान्दै आइरहेको राजा शिशुपालको पापी कर्मको घडा भरिदै त्यो दिन आयो जहाँ उसको गल्ती एक सय भन्दा माथी हुन पुग्यो ।

आफुले गरेको दिएको बरदानको उचित सदुपयोग नभएको ले नै श्रीकृष्ण ले शिसुपालको सुदर्शन चक्र प्रहार गरि शिर छेदन गर्न पुग्नुहुन्छ । उनको त्यो सुदर्शन चक्र फर्केर हातमा आउने क्रममा श्रीकृष्ण को पनि हातको औलामा चोट लागेर रगताम्य हुन्छ । पान्डवको त्यो सभामा श्रीकृष्ण को त्यो रगत रोक्न कोहि केही गर्दैनन । तर, पाच पान्डव कि द्रौपदिले आफ्नो साडि च्यातेर उनको हातमा बाधिदिएकी थिइन जसले उनको घाउ पुरिएको थियो ।

यसै बन्धन सङै श्रीकृष्ण ले दाजु बनेर दौपदिको सदैव रक्षा गर्ने वचन दिनुभएको थियो । साडी च्यातेर दौबदिले श्रीकृष्णको हातको औलामा बाधिदिएको त्यो पावन दिन पुर्णिमा पर्न गएकोले त्यही किम्बदन्तिको आधारमा रक्षाबन्धन एक चाडको रुपमा प्रचलित भएको मान्न सकिन्छ ।

दौपदिलाइ दिनुभएको त्यो रक्षाको वचनको सम्मान स्वरुप नै कौरबको त्यो विशाल सभामा बहिनि द्रौपदिको चिर हरण हुदा श्रीकृष्णले माइती / दाजु बनेर उनको इज्जत, प्रतिस्ठा र सम्मानको रक्षा गर्नुभएको थियो ।

भनिन्छ, दाजुभाइको हातमा बाधिएको रक्षाबन्धनको ती पातलो धागोहरुमा महान शत्रु पनि पराजित गर्न सक्ने शक्ति हुन्छ: अनि रक्षाको डोरो बाधिएको बेला र डोरो बाधिएको त्यो हातले दिदिबहिनी र दाजुभाइ बिच बर्षा हुने ती आसिर्बाद, शुभकामना र शुभेच्छाहरुको उलंघन गर्ने स्वयं यमराजले पनि सक्दैनन रे ।

जन्मेदेखी मृत्यु पर्यन्त सम्म हरेक अवसर , परिस्थिति , कठिनाइ र दुखसुखको साझेदार र सहयात्री हुन चेली र माइती । एउटै आमाको दूध चुसेर, एउटै बाबाको काधमा चडेर, एउटै भान्साको भोजनले पेट भर्दै एउटै छत मुनि जिबनको अति स्वर्णिम पलहरु बिताएका हुन्छन ।

सुखमा साथसाथै हास्नु रमाउनु मात्र होइन: दुखमा एउटै आँसु रोएको अनुभव हो यो । मिलन हुदा हर्स उल्लाहमा हराउनु मात्र होइन: बिछोड र बियोगमा छटपटाउनु, कराउनु, चिच्याउनु मा पनि बराबरि साथ दिइएको सम्बन्ध हो यो ।

चेलीबेटीको जिबनमा माइतिको महत्त्व कति हुन्छ त्यो त कसैले बर्णन गर्न सक्दैन : तर माइतीको जीवनमा अनि माइतीघरको आगनिमा पनि चेलीबेटीको मुस्कानको कमि महसुस गराउछ यो तिज, तिहार र रक्षा बन्धन जस्ता चाडहरुले ।

दिदी बहिनिको हातहरुले दाजुभाइको निधार र नाडी त जहिल्यै खोजिरहेको हुन्छ: कहिले सप्तरङी टिकाले सझाउन: त कहिले रक्षाको बन्धनले बाधिदिन । तर ! दाजुभाइको हातहरुले पनि दिदिबहिनिको शिर र साथ खोजिरहेको हुन्छ : कहिले आशिर्वाद र आत्मसम्मानको बर्षा गराउन: त कहिले आफ्ना दुखसुखहरु साटासाट गर्न ।

भनिन्छ ! बाबू पछाडिको दाजु हुन्छन: अनि आमा पछाडिको दिदी । आमाबाबुको साथ र सामिप्यताको सौभाग्य त प्रायस बाल्यकाल र जवानीमा मात्र लेखिएको हुदो रहेछ किनकी समयको चक्र सङै घुम्दै जाने क्रममा कसले आफ्नो बृद्ध आमाबाबु लाई कहिले सधा सधाको लागि त्याग गर्नु पर्ने हो: त्यो कसैले अनुमान लगाउनै सक्दैन । तर बाल्यकाल र जवानीमा स्कुल, कलेज र पार्कमा रमाउन देखि लिएर बुडेसकालमा हस्पिटल , तिर्थयात्रा र बृद्ध भत्ता समाउन सम्म साथसाथ हिड्ने साथी सहयात्री हो दिदिबहिनी र दाजुभाइ ।

यसै राखी पर्वको बिसयमा अर्को एक किम्बदन्ती प्रचलित छ । राजा बलि अति नै धार्मिक र योग्य हुनाले सबै प्रजाहरु उनिलाइ देवता जतिकै पुजा र सम्मान गर्दथे । त्यही डरले भगवानहरु बलि राजाको चर्चाको कुरा बिस्नु भगवानलाइ ब्यक्त गर्दै देवताहरुको इज्जत र अस्तित्वको रक्षा गर्न विनम्र अनुरोध गर्छन ।

देवतालाइ दिएको सुरक्षाको वचन अनुसार भगवान बिस्नु बामन अवतार लिएर भिक्षुक रुपमा राजा बलि सामु पुग्नु हुन्छ । भिक्षामा जे मागे त्यही दिन्छु भन्ने राजा बलिको सड्ढल्प अघि तीन पाउ जमिन बामन अवतार भगवान बिस्नु माग्नु हुन्छ ।

एक पाउ राख्दा पूरा धर्ती ढाकिन्छ भने अर्को पाउ राख्दा सिङ्गो आकास ढाकिएको देखेपछी: तेस्रो पाउ आफ्नो शिरमा राख्न राजा बलि अनुरोध गर्छन जसको कारण बलिराजा पातालमा भासिन पुग्छन । तर,भगवान बिस्नु उनको द्वारपाल बन्नु पर्ने वचन बिस्नु भगवानले पनि पूरा गर्नु नै पर्दछ ।

धेरै समय सम्म आफ्नो स्वामी राजा बलिको द्वारपाल भएर बसेको माता लक्ष्मीले थाहा पाए पछि नारद जि को सल्लाहले पाताल भासिएका राजा बलि सामु पुगेर रक्षाको डोरो बाधिदिदै आफ्नो दाजु स्वीकार गर्नुहुन्छ । रक्षाबन्धन को त्यहि भेट र आशिर्वाद स्वरुप माता लक्ष्मी राजा बलि सङ ढोकामा द्वारपालको रुपमा राखिएको आफ्नो स्वामी भगवान बिस्नु माग्नुहुन्छ ।

बहिनी सङ बचनले हार्न नसकेर राजा बलि ले भगवान बिस्नु लाई आफ्नो हर वचन बाट मुक्त गरिदिनु भएकोले माता लक्ष्मी र भगवान बिश्नु बैकुण्ठ फर्कन पाउनु भएको हुनाले यो दिनलाइ रक्षाबन्धन को नामले स्मरण गरिन थालिएको थियो भन्ने भनाइ छ ।

दाजु बहिनी बिचको अटुट सम्बन्धको महत्व र चर्चा मानव जातीमा मात्र होइन स्वयं भगवान हरुमा पनि कायमै रहेको हाम्रा धार्मिक किम्बदन्ती, पुस्तक र पुराण हरुले स्पस्ट देखाउछ । परिस्थिति चाहे जे सुकै होस : आफ्ना चेलिहरुको मान , सम्मान र हक को लागि हरेक माइतीहरु ढाल भएर अगाडि उभिएकै हुन्छन ।

पारिवारिक अवस्था , धन दौलत , इज्जत प्रतिस्ठा , सन्चो बिसन्चो , सुख दुख जस्तो मोडहरुमा पनि दाजुभाइले आफ्नो दिदिबहिनी लाइ दिएको सुख, रक्षा र सहयोग को कसम पूरा नगरेको बिरलै देख्न पाइन्छ ।

चेलीले पनि आफ्ना माइतीको खुसी, स्वास्थ, प्रगती र सफल जिबनको लागि हरेक अवस्थामा पनि त्याग र समर्पण गरेकै हुन्छन : फरक यति हो : कोहि धन ले गर्छन: कोहि मन ले । कोहि देखाउन सक्छन : कोहि भित्रभित्रै लुकाउछन ।

परापुर्व काल देखि चली आएको एक गलत या अन्धबिस्वासको धारणा आज पनि यथावतै छ ।जसले दर्साउछ: चेलीबेटि हरुले दाजुभाइ बाट धन , सम्पती , पैसा , दाइजो र भेट को आशा हरदम गरिनै रहेका हुन्छन चाहे जति धनी सम्पन्न र आत्मनिर्भर नै किन नहुन ।

सायद त्यसै सोचले जरो गाडेको समाज हाम्रो पनि भएर होला : चेलिबेटी माइत आउदा दाजुभाइ त नभनौ; भाउजू बुहारीहरुको अनुहार कालो भइरहेको महसुस गर्न सकिन्छ । उनिहरुलाइ लाग्दो हो दाजुभाइको सम्पती सिध्याउने भए ।

प्राचीनकाल मा के भयो त्यसको बारेमा धेरै टिकाटिप्पडी त के गर्नु ! तर , आजको अवस्था भने धेरै हदसम्म फरक छ । आजका चेलीबेटीहरुलाइ माइतिको सम्पती दाइजो र अंश भन्दा पनि माया , साथ, सहानुभूति र हौसलाको बडि महत्व छ ।

दाइजो हैन शिक्षा चाहान्छन । अंश हैन सम्मान माग्दैछन । सम्पती होइन साथ खोज्दैछन । सुख होइन शान्ति रोज्दैछन । हात फैलाएर लिन मात्र होइन अञ्जुली फैलाएर दिन खोज्दैछन आजका छोरिचेलिहरु ।

त्यसो त सामाजिक कुसंस्कार र गलत दृस्ठिकोण को सिकार त दाजुभाइहरु पनि नभएको कहाँ हो र ? आमाबाबुको शेखा पछि प्रैतिक सम्पतिमा मनोमानी गर्ने सौभाग्य छोराहरुले नै पाएको कुरा त हामी सामु छर्लङ्ग छ : तर त्यही सम्पतिको संरक्षक भएर माइतीले चेलिलाइ जीवनकाल भरी गरि रहेको सहयोग र संरक्षणको मुल्य आजसम्म कसैले तोक्न सकेको छैन ।

आमाबाबुको सम्पती छोराहरुले खान्छन छोरिहरुले केही पाउदैनन भनेर असमानता र पक्षपात भएको कुरा त उठेकै छ । धनी र सम्पन्न आमाबाबुको छोराले र पैत्रिक सम्पती टन्नबन्न भएको छोराको बिसयमा त यो आरोप पनि गलत त होइन ।

तर कयौ छोराहरु यस्ता पनि छन जसले पैत्रिक सम्पतीको नाममा सुको सम्म पाएका छैनन । तर, अथाह गरिबी र अभावको स्थितिमा पनि आफ्नो बल बुद्धि र मेहनतले सम्पुर्ण कुरा प्राप्त गर्दै आफू मात्र होइन आफ्ना आमाबाबु र दिदिबहिनी हरुलाइ समेत हर प्रकारको सुख दिइरहेका छन ।

आफुले आमाबाबु बाट प्राप्त गरेको सिमित सम्पतिको कयौ गुणा बढी दाजुभाइ हरुले त्याग गरिरहेका हुन्छन घर , परिवार , आफन्त र समाजको लागि: तर त्यसको हिसाब कसले राख्ने र ?? आफ्नो ज्यान नै दाउमा राखी सम्पती कमाएर आमाबाबुको हेरचाह र दिदिबहिनिको हरेक आवस्यकता पूरा गर्दै आएका ती महान छोराहरुलाइ सहि सम्मान दिन कुनै समाज र संस्कारले सकेको छैन आज सम्म ।

बिवाहा अघि त जे जस्तो होला अझ बिवाहा गरेर पठाइएका छोरिचेलिको समेत इज्जत र भरोसाको केन्द्रबिन्दु हुदो रहेछ माइती या दाजुभाइ । आज पनि हामी देख्छौ: एउटा छोरिको श्रीमान र ससुराली जति सम्पन्न भएपनी बुहारीलाई, “तेरो माइति ले के दियो ? तेरो माइतिलाइ यो माग: त्यो माग ! तेरो माइती यस्तो ! तेरो माइती उस्तो !” भनेर मानसिक यातना दिएको धेरै उदाहरण छन ।

कर्म घरमा छोरिले केही सानो गल्ती गरि कि माइतीबाट आमाबाबु या दाजुभाइ तुरुन्तै पुग्नुपर्छ । दिदिबहिनी त भए भए भान्जाभान्जी प्रती मामा हुनुको कर्तव्य र जिम्मेवारी पनि उतिकै छ । आफ्नो घर, परिवार , श्रीमती , छोराछोरी, आफन्त , समाज सबै सम्हाल्नु पर्ने दाजुभाइ हरुले नमरे सम्म दिदिबहिनीको घर परिवारको सान र प्रतिस्ठा पनि उतिकै जिम्मेवारी साथ बचाइरहेका हुन्छन । बिचरा छोरिको बाबा र दाजुभाइले चाहिँ कहिले ढुक्क र आनन्दको जीवन जिउनै नपाउने हाम्रो समाजमा ??

जे होस ! चेली र माइतिको सम्बन्ध अनि दिदिबहिनी र दाजुभाइको नातामा न त कुनै सिमा हुन्छ: न त केही बन्देज । जे छ: जस्तो छ: त्यसमा कुनै छल, कपट, रिस, जालझेल र तलमाथि कहिल्यै केही हुदैन । हुन्छ त केवल माया, बिस्वास, त्याग , बलिदान , हौसला र समर्पणको सुखद अनुभव र अनुभुतिहरु ।

भन्छन नि ! प्रेमको बन्धनमा बरु एकले अर्कालाई लाखौको भिडमा रोज्न पाएको हुन्छ । बिवाहाको बन्धनमा समेत एउटा सङ तोडिएर अन्तै जोडिन मिल्ने बिकल्प रहेको हुन्छ । तर , न त दिदि बहिनीले आफ्नो दाजुभाइ छोड्न सक्छन: न त दाजुभाइ दिदिबहिनी बाट अलग हुन सक्छन् । न त रोजेर पाइएको हो: न त साटेर लिन नै सकिन्छ । जे गरिन्छ मनैदेखी गरिन्छ: जस्तो हुन्छ आफ्नो हुन्छ ।

Girl tying rakhi on her brother’s wrist on the occasion of Raksha Bandhan festival

यी नै आत्मिक सम्बन्धहरुलाइ अझ नजिक्याउदै लैजाने र एक अर्का बिच माया बडाउन रक्षा बन्धनको पनि भुमिका छ । बहिनिको हातबाट बाधेको धागोको एक एक अंशले दाजुलाइ आत्मसम्मान र जिम्मेवारीको अनुभुती गराइनै रहन्छ भने: दाजुको हात आफ्नो शिरमा भएपछी जस्तोसुकै बाधा , अडचन र कठिनाइ सङ लडने बेला कुनै बहिनिको खुट्टा काम्दैन । चेली खुसी हुदा माइतिको ओठमा मुस्कान आफै भरिन्छ भने : माइती सुखी हुदा चेलिको मुहार त्यसै हसिलो हुन्छ ।

त्यसै हासोखुसिहरु सजाउन मनाउदै आइरहेको यो रक्षाबन्धन पनि तिज र तिहार भन्दा कमि त कुनै अर्थमा पनि छैन । तर पनि, यो चाडले अन्य जस्तो महत्त्व नेपाली समाज या हिन्दु सम्प्रदायमा पाएको महसुस गर्न सकिएको छैन । धेरैको भनाइ छ: यो छिमेकी रास्ट्र भारतको संस्कृति र परम्परा हो । हामी नेपालिको होइन ।

यो राखी पर्व: हिन्दु धर्मग्रन्थ मान्दै आएको हामी नेपालिको होइन: भन्नेमा कति सत्यता छ: त्यो त बिज्ञहरु बाट जानकारी होला । तर, हिन्दु धर्म, बेद, पुरान, महाभारत, कृष्ण, राम, सीता सबै पुजनिय हुदा अनि तिज तिहार होलि दसै दुर्गा पुजा छठ समान रुपमा प्रचलित हुदा यो राखी या रक्षाबन्धन कसरी हाम्रो संस्कार र संस्कृतिको हिस्सा बन्न सकेन : सबैले सोचौ ।

जे होस । दाजुभाइ र दिदिबहिनी हरुको उपस्थितिले रमणीय र हर्सित हरेक घर परिवारमा यो विशेष पर्वको विशेष शुभकामना । साथमा जनै पुर्णिामाको यो पावन दिन मा जनै फेर्ने दाजुभाइहरुलाइ शान्ती, स्वास्थ र समृद्धिको हार्दिक कामना । क्वाटी खाने प्रचलनले पोसिलो स्वादिलो क्वाटी को साथमा रमाउनु भएका समस्त नेपालिलाइ बिरता र गौरबको शुभेच्छुकता ।

प्राथना गरौ , आजका दिनमा गुरुहरु द्वारा बाधिएको हातको डोरोले हामिलाइ परिवार , समाज,आफन्त र देश सङ अटुट बन्धनमा बाधी राखोस । सम्पुर्ण पाठक बर्गलाई यो राखी, रक्षाबन्धन, जनै पुर्णिमा , संस्कृत दिवस , क्वाटी पुर्णिमा र यो विशेष दिनको शुभकामना ।

धन्यवाद !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here