समाचार प्रभाव : घुर्बिसेमा बैंकिङ सेवा सुचारु

0
634

युद्धबहादुर बोहोरा/ पाँचथर :

हालसम्म कुनै पनि बैंकिङ सेवा नभएको घुर्बिसे पञ्चमी बजारमा शुक्रबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंकले सेवा संचालन गरेको छ ।

शाखा प्रबन्धक सजय रेग्मीको अध्यक्षतामा प्रमुख अतिथि फाल्गुनन्द गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

स्थानीय तहमा भित्रिएका बैंक मध्ये फाल्गुनन्दको राँकेमा शाखा हुँदा यस क्षेत्रका बासिन्दाले सडक खराबीका कारण आवातजावतमा धेरै शास्ती खेपिरहेका थिए । नागरिकको समस्यालाई संचारमाध्यम मार्फत प्रसारण गरिएको समाचार र सरोकारवालाको विशेष पहलबाट सेवा संचालनले स्थानीयलाई राहत मिलेको बजारका व्यापारी जीवन सापकोटा बताउँछन् ।

आम नागरिकको सहजता र पालिकाबाट संचालन हुने योजनाका उपभोक्ता समितिलाई मध्यनजर गर्दै बैकिङ सेवा सुचारु गरिएको अतिथि कुरुबाङ तथा विशेष अतिथि उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बेले शुभकामना मन्तव्यमा बताए ।
आगामी दिनमा अन्य सुविधाहरु जनताको आवश्यकता अनुसार पालिकाको सेवा केन्द्र नजिकै स्थापना गर्दै जाने उनीहरुको भनाइ छ । तीन जना कर्मचारी,दुई जना सेक्युरिटी गार्ड र एक कार्यालय सहयोगी रहने यस काउन्टरबाट कर्जा लगानी र केही महत्त्वपूर्ण काम वाहेक शाखाले दिने सुविधा सरहको सेवा प्रवाह गरिने प्रबन्धक रेग्मीले जानकारी दिए ।

भेडेटार-रवि- राँके सडक अन्तगर्त राँकेदेखि करीब नौ किलोमिटर नजिकमा रहेको यस बजारको आसपासमा बैंक सेवा नहुँदा र मुख्य सडकको अवस्था कष्टपूर्ण हुँदा स्थानीयले बैंकिङ्ग कारोेबार गर्न असुविधा महसुश
गर्दै गर्दा बैंक सेवाको थालनी हुनु बजारबासीले गौरव गरेको बजार व्यवस्थापन समिति अध्यक्ष टीका सम्बाहाम्फे लिम्बुले शुभकामना मन्तव्यमा बताए ।

हरेक बजार क्षेत्रमा प्रतिस्पर्धात्मक ढंगले बैंक शाखा विस्तार हुने होडबाजी भएता पनि यस बजारमा एउटा पनि शाखा नभएको सुन्दा अन्य ठाँउका मानिसहरु आश्चर्य मान्न गर्दथे ।

बैंक खाता खोल्न,बचत तथा ऋण कारोबार गर्न फिदिम,इलाम र झापा जस्ता ठाँउहरुमा केहि दिनको समय मिलाएर जानु पर्ने वाध्यता रहेको नागरिकले समस्या झेल्दै आएका थिए । इलाम र पाँचथरको सिमावर्ती क्षेत्रमा विगत लामो समयदेखि प्रत्येक महिनामा दुई पटक हटिया लाग्ने यस बजारमा कृषिजन्य उत्पादन कागती,सुन्तला,किवी,अलैची,अदुवा,कुचो,अकबरे खोर्सार्नी,दुध लगायतको बिक्रि तथा संकल केन्द्रको रुपमा परिचित छ ।

हटियामा सुँगुरपाठा,खसीबाख्रा,कुखुरा किनबेच हुनुका साथै दैनिक मोटो कारोवार समेत चल्ने गर्दछ ।सुनचाँदी, हार्डवेयर, लत्ताकपडा,किराना,होटल,मेडिकल,टेलरिङ्ग,स्टेशनरी,शैलुन,पार्लर ,मोटरसाइकल ग्यारेज,गृल पसल लगायतका व्यावसाय छन् ।

फाल्गुनन्द गाउँपालिकाको प्रशासनिक सेवा केन्द्र साथै वडा नम्बर ५ को वडा कार्यालय,प्रहरी चौकी, निजी तथा सरकारी विधालय,स्वास्थ्य चौकी,आयुुुर्वेद,माइक्रो फाइनाइन्स,ऋण सहकारी,आइएमइ लगायतका संस्था रहेका यस क्षेत्र नजिकै दशमी,उत्तरे,पुरानो पञ्चमी बजार छन् भने फाल्गुनन्द १,४,५,६,७ नम्बर वडा, इलाम फाकफोकथुम १,२ र ६ नम्बर वडा र मिक्लाजुङ गाउँपालिका १ नम्बर वडाका बासिन्दा प्रत्यक्ष लाभाम्वित हुने छन् ।

जनप्रतिनिधि,संघसस्थाका प्रतिनिधि,सुरक्षाकर्मी, स्थानीय र सरोकारवालाको उत्साहपूर्ण बाक्लो उपस्थिति रहेको यस उद्घाटन समारोहमा वडाध्यक्ष नारायण प्रसाद आङ्देम्बे र अविन्द्र प्रसाद चेम्जोङ,समाजसेवी मणि चन्द्र चेम्जोङले शुभकामना मन्तव्य राखेको कार्यक्रम पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here