गरामनीमा सार्वजनिक सुनुवाइ

0
620

बिर्तामोड ।

झापाको गरामनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

बिर्तामोडको ७,८,९ र १० नम्बर वडाका सर्वसाधारण,जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा बिर्तामोड ८ को सामुदायिक भवनमा झापा युनेस्को संघ नेपालको संयोजनमा कार्यक्रमको आयोजना गरीएको हो ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई बिर्तामोड नगरपालिकाका नगरप्रमुख धुर्वकुमार शिवाकोटी,प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहाल र बिर्तामोड नगरपालिका वडा नम्बर ९ कि वडाध्यक्ष पवित्रा पाठकले उत्तर दिनु भएको थियो । कार्यक्रममा सहभागीहरुले टोल विकास समितिको काम,कर्तव्य र अधिकार,विकास योजना,शिक्षा खेलकुद,जनता आवास,फोहोर मैला,सडक बत्ति लगायतका विभिन्न क्षेत्रका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख धुर्वकुमार शिवाकोटीले नगरपालिकाले स्थानिय सरकार सञ्चालन ऐन अनुसार काम गर्दै आएको बताउनु भयो । टोल विकास समितिहरुलाई काम,कर्तव्य र अधिकारको विषयमा तालिम आवश्यक रहेकाले यो काम गर्ने बताउनु भयो । उहाँले टोल विकास समितिहरुलाई वडाको प्रत्यक्ष निगरानीमा सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो । जनता आवासका कार्यक्रमहरु त्यसैको विधिअनुसार सम्पन्न गर्नु पर्ने भएकाले यो कामलाई निरन्तरता दिन र जतिसक्दो चाँडो सम्पन्न गर्न पनि उपभोक्ता समतिहरुलाई आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले बिर्तामोड नगरपालिकालाई प्लाष्टीक झोला मुक्त बनाउन सकिने धारणा राख्नु भयो । सहभागीहरुको जिज्ञासामा उहाँले नगरवासीहरु सबैले यस विषयमा आवाज उठाउन सके सम्भव रहेको बताउनुभयो ।

प्लास्टीक झोला मुक्त नगर बनाउँदामात्रै पनि ४० प्रतिशत फोहोर न्युनिकरण हुने उहाँको भनाई थियो ।प्रमुख प्रशासकिय अधिकृत दाहालले नगरको सिमित श्रोत र साधनका विच पनि धेरै काम गर्न सफल भएको भन्दै अवका दिनमा पनि नगरपालिकाको हितको लागि सक्रिय भएर काम गर्ने कुरामा प्रतिवद्व रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट शत्तिलाल भट्टराई,रणबहादुर थापा,गौरी प्रसाद घिमिरे,रोहित ओली,टंक प्रसाद आचार्य,चन्द्र राई,विष्णुमाया अधिकारी कोइराला,पर्शुराम भट्टराई लगायतले जिज्ञासा राख्नु भएको थियो । नगरप्रमुख धुर्वकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनेस्को संघ नेपालका अध्यक्ष विजय तिम्सिनाले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका कर्मचारी मेघराज वास्तोला,जनप्रतिनिधिहरु दिपक भट्टराई,संगीता सिवा, गंगा राजवंशी,लक्ष्मी नेपाली, युनेस्को संघ नेपालका सचिव अनिल गौतम लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here