बिचौलियाको कब्जामा यातायात कार्यालय

0
568

इलाम ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन इलामवासीले सास्ती व्यहोर्नु परेको पाइएको छ ।

ट्राफिक प्रहरीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन रोक लगाएपछि सेवाग्राहीले सास्ती व्यहोर्नु परेको परीक्षामा सहभागी इलामका पुण्य नेपालले बताए । दुई साता अघिदेखि इलामबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा शुरु गरिएको थियो । ट्रायल परीक्षा शुरु गरेको केही समयभित्रै यातायात र ट्राफिक प्रहरी विचौलियाको कब्जामा पर्दा सेवाग्राहीले सास्ती झेल्नु परेको नेपालको आरोप छ ।

लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन ट्रायल सेन्टर पुग्दा ट्राफिक प्रहरीले नेपाललाई मात्र होइन अन्य व्यक्तिलाई समेत आफ्नो निजी सवारी साधनवाट ट्रायल दिन रोकेको बताइएको छ । गत बिहीबार बिहानै यातायात व्यवस्था सेवा कार्यालय इलाममा पुगेका नेपालले लिखित परीक्षा उत्तीर्ण गरेपछि उनी ट्रायल दिन आफ्नै मोटरसाइकल लिएर कार्यालय पुगेका थिए ।

तर ट्रायल सेन्टरमा रहेका ट्राफिकले उनलाई प्रवेशद्वार (गेट) मै रोके । आफ्नै मोटरसाइकलबाट उनले ट्रायल दिन लाग्दै गर्दा उनलाई रोकिएको हो । कारण थियो, कार्यालयले तोकिदिएको सवारीसाधन प्रयोग नगर्नु । एउटा निजी कम्पनीले उपलब्ध गराएको सवारी साधनमात्र प्रयोग गर्नुपर्ने नियम बनाइएको सेवाग्राहीको आरोप छ । ‘यहाँ आफ्नो मोटरसाइकल चलाउन पाइएन । शुल्क तिरेर यहाँकै मोटरसाइकल प्रयोग गर्न लगाइयो । यो एकलौटी सिन्डिकेट लगाएको देखिन्छ’– नेपालको भनाइ थियो ।

अधिकांश सेवाग्राही आफ्नै सवारी लिएर यातायात कार्यालय पुगेका थिए । तर, कार्यालय परिसरमा रहेका बिचौलियाले आफूहरुको सवारीबाट मात्र ट्रायल दिन सक्ने बताएपछि धेरै सेवाग्राही अलमलमा परे । सेवाग्राहीहरुले तोकिएको शुल्क तिरेर उनीहरुकै मोटरसाइकलबाट ट्रायल दिए । सबै कागजपत्र हुँदाहुँदै पनि विभिन्न बहाना देखाएर सिण्डिकेट लाद्न खोजिएको उनीहरुको आक्रोश छ । ‘यहाँकै सवारीबाट मात्र ट्रायल दिन पाइन्छ भन्ने सिण्डिकेट लगाएको बुझियोे । हामीले राज्यलाई कर तिरिसकेपछि हामीले हाम्रै गाडीबाट ट्रायल दिन पाउनुपर्छ’– ट्रायल दिन आएका अर्का सेवाग्राही कृष्णभक्त भण्डारीले भने– ‘जुन गाडीमा हाम्रो हात बसेको छ त्यही गाडीबाट हामीलाई सजिलो हुन्छ । यहाँकै गाडी प्रयोग गर्नुपर्ने नियम हामीलाई मान्य हुनेछैन ।’

यातायात व्यवस्था सेवा कार्यालयले आफ्नो ट्रायल सेन्टर नभएको भन्दै निजी क्षेत्रले निर्माण गरेको दुईवटा ट्रायल सेन्टरमा ट्रायल गराउँदै आएको छ । जसका लागि कार्यालय परिसरमै एउटा ट्रायल सेन्टर निर्माण गरिएको छ । निश्चित शुल्क तिरेपछि मात्र ट्रायल सेन्टर प्रयोग गर्न पाइने प्रावधान छ । ट्रायलका लागि कार्यालयसँग सवारीसाधन नरहेको भन्दै दोश्रो पक्षसँग सम्झौता गरेका र सोही अनुसार प्रयोग भइरहेको कार्यालय प्रमुख छवि खतिवडा बताउँछन् ।

‘हाम्रो आफ्नो सरकारी ट्रायल सेन्टर छैन’– कार्यालय प्रमुख खतिवडा भन्छन्– ‘त्यसकारण हामीले जुन ट्रायल सेन्टरसँग सम्झौता गरेका छौं, त्यो ट्रायल सेन्टरले नै व्यवस्था गरेका नयाँ सवारीसाधनहरु प्रयोग भइरहेका छन् ।’ सन् २०१८ पछि निर्माण भएका सवारी भए चाहिँ आफ्नै सवारी साधनबाट समेत ट्रायल पाइने व्यवस्था गरिएको खतिवडाले बताए । धेरैको सवारी साधन २०१८ भन्दा अघिका भएकाले ट्रायलमा प्रयोग गर्न नपाएको हुनसक्ने बताइएको छ ।

दुई साताबाट इलाममा सवारी चालक अनुमतिपत्रका लागि परीक्षा हुँदै आएको छ । यसअघि अनुमतिपत्रका लागि झापाको बिर्तामोड र सुनसरीको इटहरी जानुपर्ने बाध्यता थियो । इलामबाटै सवारी लाइसेन्स पाउने भएपछि पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायतका जिल्लाबाट सेवाग्राही यहाँ आउन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here