झापाबाटै सौर्य ऊर्जा उत्पादन गरिने

0
674

झापा ।

अब झापाबाट १० मेघावाटको सौर्य ऊर्जा उत्पादन गरिने भएको छ । सौर्य ऊर्जा उत्पादनका लागि सोमवार संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आयोजनाको शिलान्यास गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङले शिवसताक्षी–४ बुलोचोकमा निर्माण गर्न लागिएको सौर्य ऊर्जा आयोजनाको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै नेम्वाङले झापामा शुरु भएको ऊर्जा उत्पादन आयोजना अत्यन्तै राम्रो कामको थालनी भएको बताए । उनले सौर्य ऊर्जा उत्पादनका दृष्टिले नेपाल उत्तम राष्ट्र भएकाले आयोजना सफल हुने बताएका छन् ।

ऊर्जामा लगानी सबैका लागि मुनाफा र राष्ट्रका लागि योगदान हुने नेता नेम्वाङको भनाइ थियो । नेता नेम्वाङले ऊर्जा उत्पादन क्षेत्रलाई आन्तरिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताएका छन् । झापा इनर्जीले १ वर्षभित्र उत्पादन थाल्ने गरी काम शुरु गरेको छ । आवश्यक प्रक्रिया पूरा गरेर अब निर्माणको काममा लागेको कम्पनीका अध्यक्ष एलपी साँवा लिम्बूले जानकारी दिए ।

ग्रीडमा आवद्ध सौर्य ऊर्जा आयोजनाको निर्माण सम्पन्न गर्नलाई ७९ करोड लागत लाग्ने साँवाको भनाइ छ । नागरिकको तर्फबाट २० करोड र बाँकी रकम माछापुच्छ्रे बैंकको कर्जा लगानी हुने बताइएको छ । झापामा निर्माण थालनी भएको आयोजना प्रदेशकै पहिलो र ठूलो भएको दावी गरिएको छ । झापा इनर्जीले २१ विगाह ७ कठ्ठा जमिन खरिद गरिसकेको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए । जम्मा ३० विगाह जमिन खरिद गर्ने लक्ष्य रहेको भट्टराईको भनाइ छ ।

झापालीहरुको अगुवाईमा झापामै केही काम गर्न सो आयोजनाको परिकल्पना गरिएको भन्दै भट्टराईले अर्को वर्षबाट उत्पादन थालनी गरिने जानकारी दिए । सौयै ऊर्जा उत्पादनका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया समेत पूरा भइसकेको बताइएको छ ।

नेपालमा सौर्य ऊर्जाबाट हालसम्म २९ मेघावाट विद्युत् उत्पादन भइसकेको छ । झापा इनर्जीको उत्पादनपछि ३९ मेघावाट पुग्नेछ । विद्युत्को बढ्दो मागलाई ध्यानमा राख्दै २५ वर्षका लागि शिवसताक्षीमा ऊर्जा उत्पादनको काम धमाधम अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here