पर्यटकीय गन्तव्य करसोङ पदमार्ग

0
644

स्थानीय सरकारलाई अधिकार सम्पन्न गराइए विकासले फड्को मार्ने संकेत देखिन थालेको छ । स्थानीय सरकारको पहुँच क्षेत्रभित्रका शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत तथा खानेपानी सम्बन्धी विकासका पूर्वाधारहरुको निर्माण, उपलब्धता र पहुँचका लागि कपितय पालिकाहरुले गरेको प्रबन्धले त्यसको उदाहरण दिएका छन् । यद्यपि भ्रष्टाचारको क्षेत्रमा काम गरिरहेका संस्था र निकायले भने स्थानीय सरकार भ्रष्टाचारको अखडा बन्दै गएको तथ्य सार्वजनिक गरेका छन् ।
तर, त्यो तथ्यांक अनुसार सबै पालिका, स्थानीय सरकार र नेतृत्वकर्तालाई एउटै ढाकीमा राख्न मिल्दैन । कतिपय स्थानीय सरकारले स्वाधीन र स्वतन्त्र भएकै नाममा गरेको खर्च नियम विपरीत भएको, निर्माण कार्यको गुणस्तरीयतामा ध्यान नदिएको र निजी सेवासुविधामा राज्यकोषको दुरुपयोग र अपचलन गरेको जस्ता आरोप पनि खेप्दै आएका छन् । हाम्रा आवश्यकताहरु भूगोल, क्षेत्र र प्रदेश अनुसार भिन्न– भिन्न छन् । यस्तोमा स्थानीय आवश्यकताको पहिचान गरेर आवश्यक स्रोतसाधन जुटाउने, परिचालन गर्ने र जनतालाई प्राप्तिको उपभोग गर्ने वातावरण निर्माण गर्ने दायित्व स्थानीय सरकारको हो ।


यही आवश्यकता, सम्भावना र प्राकृतिक सम्पदाको पहिचान गर्दै इलामको रोङ गाउँपालिकाले झापाको मेचीनगरलाई समेत जोड्ने पैदलमार्ग निर्माण गरेको छ । पैदलयात्राप्रति बढ्दो मोह र आकर्षणलाई अनुभूत गरी रोङको वडा नम्बर ३ हाँसपोखरीदेखि वडा नम्बर ६ को सिद्धिखोला दोभानसम्मको उनन्तीस किलोमिटर पैदल मार्ग निर्माण भएको छ । पैदलयात्रीको सहजताका लागि होमस्टे पनि सञ्चालन गरिएको सो पदमार्गले सूर्योदय नगरपालिका हुँदै झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगीलाई जोडेको छ । पछिल्लो समय मानिसमा स्वास्थ्यप्रतिको सजगता बढेको छ । मनोरञ्जन, अध्ययन तथा भ्रमण कै लागि पनि पदमार्गमा माटो, हावापानी र उचाइ अनुसारका विभिन्न प्रजातिका वनस्पतिको बारेमा ज्ञान हासिल गर्न सकिन्छ । एक करोड तीस लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भई शुभारम्भ समेत भइसकेको सो पदमार्गले स्थानीय जीवनलाई पनि जोड्ने छ ।
यसले स्थानीय कृषि उत्पादनको बजारीकरण र प्रवद्र्धनमा समेत सहयोग गर्ने अपेक्षा गरिएको छ । विद्यार्थी, अनुसन्धाताहरुका लागि समेत उत्कृष्ट गन्तव्य हुनसक्ने करसोङ पदमार्ग नामकरण गरिएको सो पदको यात्रामा देश–विदेशका पर्यटकलाई आकर्षित गर्न सके यसले रोङ गाउँपालिकाको पहिचान विस्तारमा योगदान दिने निश्चित छ । यो नयाँ पदमार्ग अनेक दुर्लभ वनस्पतिहरुको दृष्यावलोकन गर्ने, स्थानीय आतिथ्यतामा रमाउने, ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्न सकोस्– शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here